३ प्रश्न

मंगलबार, ३ पुष, २०८०
डिजिटल संस्करण

एमालेको मध्यपहाडी संकल्प यात्रा कस्तो रह्यो ?
मध्यपहाडी संकल्प यात्रा अत्यन्त सफल रह्यो । यसले ठुला र स्थापित भनिएका राजनीतिक दलहरूप्रति जनताको विश्वास छैन, जनमत उनीहरूको पक्षमा छैन भन्ने आरोपलाई खण्डित गरेको छ । यात्राका क्रममा देखिएको जनलहरले पुराना र स्थापित नेतृत्वप्रति जनताको विश्वास यथावत् छ र विशेषगरी अध्यक्ष केपी ओलीमाथिको जनविश्वासमा कत्ति पनि कमी आएको छैन भन्ने पुष्टि गरेको छ । यसले जनतामा यो व्यवस्थाप्रति नै निराशा व्याप्त छ, आर्थिक संकटले जनताको विश्वास धर्मराएको छ, यो व्यवस्था नै असफल भइसकेको छ भन्नेजस्ता आरोपलाई खण्डित गरेको छ । 

संकल्प यात्राका क्रममा जनताका के–कस्ता अपेक्षा पाउनुभयो ?
जनतामा आआफ्नो क्षेत्रको विकास होस् भन्ने तीव्र अपेक्षा छ । यात्राका क्रममा हामीले जनताबाट सयौँ ज्ञापनपत्र प्राप्त गरेका छौँ । हामीले ती ज्ञापनपत्रलाई पार्टीको पुँजीका रूपमा ग्रहण गरेका छौँ । आगामी दिनमा घोषणापत्र निर्माण र पार्टी सत्तामा पुगेको समयमा त्यसको कार्यान्वयनका लागि इमानदार प्रयास गर्नेछौँ । युवामा स्वदेशमै रोजगारीको तीव्र चासो छ ।कृषकका अनेकौँ गुनासा छन् । तिनलाई सम्बोधन गर्नेगरी हामी आगामी दिनमा अघि बढ्नेछौँ ।

यात्राले पार्टी जीवनमा के–कस्तो ऊर्जा सञ्चार गरेको देख्नुहुन्छ ?
यात्राले पार्टी जीवनमा अत्यन्त सकारात्मक ऊर्जा सञ्चार गरेको छ । मिसन ग्रासरुट, आन्तरिक सांगठनिक सुदृढीकरणजस्ता अभियानपछि सुदूरपश्चिमदेखि पूर्वसम्म चलेको यात्राले पार्टीको वडा तहदेखि केन्द्रसम्मका नेता, कार्यकर्तामा असीम ऊर्जा प्रवाह गरेको छ । यसको सकारात्मक परिणाम पार्टीका आगामी गतिविधिमा देखिनेछन् । 

सुझावित समाचार