तेस्रोपटक थपिएको म्याद सकिँदा पनि बनेन धनगढी मुख्य बजारको सडक

आइतबार, २४ मंसिर, २०८०
डिजिटल संस्करण

तेस्रोपटक थप गरिएको समयावधि सकिए पनि धनगढी मुख्य बजार क्षेत्रको सडक निर्माणको काम पूरा हुन सकेको छैन । एसियाली विकास बैंकको ऋण सहयोगमा सरकारले धनगढीमा मुख्य बजारसहित नगरभित्र १०.६०७ किलोमिटर अत्याधुनिक सडक निर्माण गरिरहेको छ । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत ७६ करोड ९० लाख ७६ हजार रुपैयाँ लागतमा फुटपाथ, नाली र सडक बत्ती भएको आधुनिक सडक निर्माण भइरहेको हो । 

कालिका कन्स्ट्रक्सनले ठेक्का पाएको यी सडक निर्माणमा भने चरम ढिलासुस्ती भइरहेको छ । हालसम्म सडक निर्माणको प्रगति करिब ८३ प्रतिशत मात्र रहेको आयोजना कार्यालयका सूचना अधिकारी सौरभ कलौनीले बताए । आयोजना कार्यालयका अनुसार मुख्य बजार क्षेत्रको सडक निर्माणको काम ६० प्रतिशत मात्र भएको छ ।

१०.६०७ किलोमिटर सडक निर्माणका लागि तेस्रोपटक थप गरिएको अवधि गत १४ कात्तिकमा सकिएको छ । तेस्रोपटक थप गर्दा पनि काम पूरा नभएपछि चौथोपटकका लागि तीन महिना म्याद थप्न केन्द्रमा सिफारिस गरिएको सूचना अधिकारी कलौनीले बताए । अहिलेकै गतिमा काम भए थप गरिएको अवधिमा पनि आयोजनाले पूर्णता नपाउने देखिएको आयोजना कार्यालयले जनाएको छ । 

‘अहिले परिचालन भएको जनशक्ति र उपकरण तथा अहिलेकै काम गराइको गतिले चौथोपटक थप गरिएको समयभित्र पनि सडक निर्माणको काम पूरा हुने देखिँदैन,’ उनले भने, ‘जनशक्ति र उपकरण थप गर्ने हो भने अब धेरै समय पनि लाग्दैन ।’ निर्माण कम्पनीले ६ महिना म्याद थपको माग गरे पनि आगामी ३१ जनवरीसम्म मात्र म्याद थप भएको उनले जानकारी दिए । 

सडक निर्माणमा भइरहेको ढिलाइले सर्वसाधारणले सास्ती व्यहोरिरहेका छन् । मुख्य बजार क्षेत्रको सडक अस्तव्यस्त हुँदा आवतजावतमा समस्या हुनुका साथै व्यापार व्यवसायसमेत प्रभावित भएको छ । निर्माणाधीन सडकका खाल्टाखुल्टी र धुलोले आउजाउ गर्न समस्या हुने गरेको स्थानीय सिद्धराज जोशीले बताए ।

मुख्य बजार क्षेत्रमा नाली निर्माणको काम पूरा भएर अहिले भरान गर्ने र बीचमा मिडियन निर्माण गर्ने काम भइरहेको छ । मुख्य बजारमा विद्युत्का पोलको मापदण्डमा प्राविधिक समस्या देखिएकाले पनि सडकको काम केही प्रभावित भएको थियो । ‘विद्युत्का पोलको उचाइ नौ मिटर हुने हाम्रो स्टिमेट थियो, तर विद्युत् प्राधिकरणको मापदण्ड ११ मिटर हुनुपर्ने रहेछ, यसले केही समय ढिला भयो,’ आयोजना प्रमुख रमेश थिङले भने । 

यी सडक दुई वर्षभित्र निर्माण गरिसक्ने सर्तसहित कालिका कन्स्ट्रक्सनसँग २८ असार ०७७ मा सम्झौता भएको थियो । दोस्रोपटक थप गरिएको अवधि सकिएपछि मात्र निर्माण कम्पनीले मुख्य बजार क्षेत्रमा सडक निर्माणको काम अगाडि बढाएको थियो । बजार क्षेत्रमा विद्युत्को पोलका कारण केही समय काम प्रभावित भए पनि अन्य खण्डमा भने निर्माण कम्पनीका कारण कामले पूर्णता पाउनमा ढिलासुस्ती भएको आयोजना कार्यालयले जनाएको छ । निर्माण कम्पनीले भने सडकको क्षेत्राधिकार र विद्युत्का पोलमा समस्या हुँदा काममा ढिलाइ भएको दाबी गरेको छ ।

See More On

सुझावित समाचार