फिस्टेल रेसिङ कपको उपाधि तामाङलाई

मंगलबार, १२ मंसिर, २०८०
डिजिटल संस्करण

अजय तामाङले पोखरामा सम्पन्न फिस्टेल रेसिङ कप २०२३ को उपाधि हात पारेका छन् । नेपाल रेसिङ स्पोर्टस् एसोसिएसनको आयोजना तथा भिआर ४६ को समन्वयमा तीन दिनसम्म पोखरा रंगशालामा सञ्चालन भएको प्रतियोगितामा सहभागी अन्य ३८ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन् । उनले उपाधिसँगै नगद एक लाख, ट्रफी र प्रमाणपत्र पुरस्कार पाए । 

यसैगरी, सुजन थापामगर दोस्रो हुँदै नगद ७५ हजार, मोहमद फरहान तेस्रो हुँदै नगद २५ हजारसँगै ट्रफी र प्रमाणपत्र पुरस्कार पाए । यसैगरी महिलातर्फ पाँच जना सहभागी भएकोमा वर्षा बस्नेतले महिलातर्फको उपाधिसँगै नगद २० हजार र ट्रफी पुरस्कार पाइन् ।

प्रतियोगितामा प्रतिस्पर्धीहरूले बाइक स्टन्टसँगै म्युजिकल शो प्रदर्शन गरेका थिए । विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, राखेपका सदस्य राजेश गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

आयोजक एसोसिएसनका अध्यक्ष माइकल थापाले पोखरा रंगशालाभित्रको पिच सडकलाई फिसटेल रेसिङ ट्रयाकको रूपमा घोषणा गरी निरन्तर रूपमा प्रतियोगिताहरू आयोजना गर्ने बताए । यो सुरुवात रहेको भन्दै पोखरासँगै देशका अन्य प्रदेशमा समेत यस्तै प्रतियोगिताहरू आयोजना गर्ने थापाको भनाइ थियो ।
 

See More On

सुझावित समाचार