इजरायल र हमासबीच बुधबार कम्तीमा चार दिन युद्ध रोक्न सहमति भएको छ । यस अवधिमा इजरायलले युद्धग्रस्त गाजामा सहायता सामग्री भित्र्याउन दिने र हमासले कम्तीमा ५० बन्धकलाई रिहा गर्ने सहमति भएको छ । सहमतिअनुसार हमासले बन्धक रिहा गरेसँगै इजरायलले पनि उसका जेलमा कैद रहेका कम्तीमा १५० प्यालेस्टाइनीलाई रिहा गर्नेछ ।
अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले गाजा क्षेत्रमा भीषण बमबारी सुरु गरेको थियो । कम्तीमा चार दिनको युद्धविरामले गाजाका आमनागरिकको पीडा केही कम हुने भएको भन्दै विश्वले स्वागत गरेको छ । पछिल्लो युद्धविराम सम्भव बनाउन कतारले इजरायल र हमासबीच मध्यस्थता गरेको थियो ।
इजरायलको प्रधानमन्त्री कार्यालयले पनि हमाससँग भएको शान्ति सम्झौताको पुष्टि गरेको छ । ‘इजरायल सरकार सबै बन्धकलाई घर फर्काउन प्रतिबद्ध छ । यस उद्देश्य पूरा गर्न पहिलो चरणको रूपरेखालाई आज सरकारले मन्जुरी दिएको छ । यसअनुसार ५० बन्धक (महिला र बच्चासमेत)चार दिनभित्र रिहा हुनेछन् । यसक्रममा लडाइँ रोकिनेछ,’ इजरायली प्रधानमन्त्री कार्यालयले भनेको छ । बन्धक बनाइएकालाई रिहा गरिसकेपछि भने हमासलाई सफाया गर्ने सैन्य अभियान फेरि सुरु हुने इजरायलले जनाएको छ । उता हमासले पनि मानवीय सहायताका लागि युद्धविराममा सहमति भएको जनाएको छ ।
युद्धविराम र बन्दी रिहाइसम्बन्धी प्रस्ताव इजरायलको मन्त्रिपरिषद्बाट पारित भएपछि चार दिनका लागि युद्ध रोकिन लागेको हो । उता इजरायलले थप बन्धक रिहा भए युद्धविराम लम्बिन सक्ने बताएको छ । एक प्यालेस्टिनी स्रोतलाई उद्धृत गर्दै यस महिनाको अन्त्यसम्ममा १०० बन्धक रिहा हुन सक्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले लेखेको छ । हमासले अक्टोबर ७ मा इजरायलमा पसेर आक्रमण गरेपछि २०० भन्दा बढीलाई आफूसँगै बन्धक बनाएर लगेको थियो । बन्धक बनाइएकामध्ये एकजना नेपाली युवक विपिन जोशी पनि रहेको इजरायल सरकारले जनाएको छ ।