इस्लामाबाद/ पाकिस्तानी नागरिक मोहम्मद जिसान अलीले चीनको उत्तर–पश्चिमी क्षेत्रमा रहेको ‘जिउक्वान भूउपकरण प्रक्षेपण केन्द्र’बाट चीनमा बनेको रकेटमार्फत उडान भरेर अन्तरिक्ष पुगेका छन् । बुधबार बिहान उनी चीनको ‘तियानगोङ’ अन्तरिक्षकेन्द्र प्रवेश गरेसँगै उनी अन्तरिक्ष पुग्ने पहिलो पाकिस्तानी बने । साथै उनले तियानगोङ अन्तरिक्षकेन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्षयात्रीका रूपमा इतिहास पनि बनाएका छन् ।
४० वर्षीय अली अन्तरिक्षमा पाँचदेखि १० दिनसम्म रहनेछन्, जुन अवधि प्रायः चिनियाँ अन्तरिक्षयात्रीहरूले त्यहाँ बिताउने सामान्यतया ६ महिनाको समयभन्दा निकै छोटो हो ।
अलीको अन्तरिक्षयात्राका लागि आवश्यक अधिकांश पूर्वाधार चिनियाँ थिए । साथै उनले यो यात्रा सफल पार्न चीनमा महिनौँसम्म तालिम लिएका थिए, जसमा चिनियाँ भाषा सिक्ने काम पनि समावेश थियो ।
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले ‘एक्स’मा एक पोस्ट गर्दै भने, ‘यो केवल एक अन्तरिक्षयात्रीको यात्रा नभई २४ करोड पाकिस्तानीको यात्रा हो । यो हाम्रो युवा पुस्ता, हाम्रा वैज्ञानिक र हाम्रा सपनाको यात्रा हो ।’ साथै, उनले यसलाई पाकिस्तान र चीनबिचको सुदृढ मित्रताको जीवन्त प्रमाण पनि बताए । ‘पाकिस्तानलाई यस ऐतिहासिक मिसनको हिस्सा बनाएकोमा हामी हाम्रो मित्र राष्ट्र चीनप्रति आभारी छौँ,’ प्रधानमन्त्री सरिफले एक्सको पोस्टमा लेखेका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र पाकिस्तानका अन्तरिक्षयात्रीहरू सम्मिलित यो संयुक्त मिसनलाई ‘दुई देशबिचको गहिरो मित्रताको ज्वलन्त उदाहरण’ भनेका छन् ।
चीनका लागि पनि यो एक महत्वपूर्ण कूटनीतिक क्षण हो । बेइजिङ आफूले बनाएको ‘तियानगोङ’ अन्तरिक्षकेन्द्र केवल चीनको एकल सुविधा मात्र नभई अन्तर्राष्ट्रिय अनुसन्धान मञ्च बन्ने क्षमता राख्छ भन्ने देखाउने प्रयासमा छ ।
चीनले आफ्नो अन्तरिक्ष उद्योगलाई तीव्र गतिमा अघि बढाइरहेको छ । सन् २०३० सम्ममा उसले चन्द्रमामा चिनियाँ अन्तरिक्षयात्री पठाउने लक्ष्य राखेको छ । यता अमेरिकाले पनि सन् २०२८ सम्ममा यस्तै लक्ष्यका साथ काम गरिरहेको छ । यदि दुवै देश आफ्नो लक्ष्यमा सफल भए भने यो सन् १९७२ को ‘अपोलो १७’ मिसनपछि यो पहिलो चन्द्र अभियान हुनेछ ।