आस्था र विश्वासको पर्व छठ सुरु, आज ‘नहाय-खाय’

शुक्रबार, १ मंसिर, २०८०
डिजिटल संस्करण

कात्तिक शुक्ल चौथीदेखि सुरु हुने र चार दिनसम्म मनाइने आस्था र विश्वासको पर्व छठ आजदेखि सुरु भएको छ। पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दै छन्। 

‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । त्यस्तै, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने विधि गरिन्छ। यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास छ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ।

सूर्यलाई आदिदेवता पनि भनिन्छ। मानव मात्रको अस्तित्वपछि सर्वप्रथम उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ। 

रात्रिको अन्धकारबाट भयभीत भएकालाई सूर्यको प्रकाशले त्राण दिने भएकाले आदिकालीन मानवले सूर्यको उपासना पूजा गर्ने गरेका थिए। उत्तरवैदिककालका मिथिलाका प्रसिद्ध चिन्तक र दार्शनिक याज्ञवल्क्यले सूर्यलाई गुरु मानेका थिए।

विगतमा मिथिला र तराई–मधेशको मुख्य पर्व मानिने छठपर्वको उत्साह हाल सबै जातजाति र समुदायसम्म विस्तार हुन पुगेको आमसञ्चार प्राधिकरणका अध्यक्षसमेत रहेका मैथिली अभियन्ता श्यामसुन्दर यादवले  बताए। 

पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठपर्व अहिले संघीय राजधानी काठमाडौं, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ। यो पर्व नै यस्तो पर्व हो, जुन अवसरमा पूजाघाटमा गाउँ–टोलका नरनारी सबै भेला हुन्छन्।

यसले एक–आपसमा नजिकिने मौका दिन्छ उनले भने छठपर्व कृषि संस्कृतिमा आधारित छ। यो मूलतः मिथिलाको कृषि संस्कृतिको प्रतीक पनि हो। 

यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग र समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजा–अर्चनाका लागि उभिन्छन्, जसलाई समन्वय र परस्पर सदभावतर्फ उन्मुख हुने प्रेरणात्मक संकेत मानिन्छ।

सुझावित समाचार