प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते

बुधबार, २९ कार्तिक, २०८०
डिजिटल संस्करण

प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन्। सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. २ निवासी ३५ वर्षीय शक्तिकुमार पासमान र सोही ठाउँ निवासी ३२ वर्षीय अजय पासमान गोली लागेर घाइते भएका हुन्। रौतहटको गरुडा नगरपालिका-४ पानी ट्यांकीनजिक लुकिछिपी बसेको अवस्थामा मंगलबार साँझ उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। 

पक्राउ परेका दुवैजनालाई महोत्तरी ल्याउँदै गर्दा उनीहरू प्रहरीको नियन्त्रणबाट भाग्ने प्रयास गरेका थिए। सर्लाही प्रहरीले महोत्तरी प्रहरीलाई जिम्मा लगाउने क्रममा उनीहरू प्रहरीको नियन्त्रणबाहिर भाग्न खोज्दा गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए। 

प्रहरीले चलाएको १० राउन्डमध्ये तीन राउन्ड गोली उनीहरूको दाहिने तिघ्रामा लागेको डिएसपी गिरीले बताए। घाइते भएका दुवैजना कुख्यात डाँका रहेको प्रहरीको भनाइ छ। उनीहरूविरुद्ध नेपालमा करिब एक दर्जन मुद्दा दर्ता भएको र भारतमा समेत अनेकौँ मुद्दामा फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हालै महोत्तरीमा भएका विभिन्न लुटपाटका घटनामा उनीहरूको गिरोहको संलग्नता देखिएको छ। घाइतेहरूको प्रादेशिक अस्पताल जलेश्वर महोत्तरीमा उपचार भइरहेको छ। उनीहरूको अवस्था हाल सामान्य रहेको र तिघ्राबाट गोली निकालिएको चिकित्सकले बताएका छन्। 

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले पक्राउ परेकाहरूसँगै लुटपाटमा संलग्न थप व्यक्तिहरूकोसमेत पहिचान भइसकेको र उनीहरूलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए। पक्राउ परेकाको गिरोह विभिन्न ठूला लुटपाट र ज्यान मार्ने मुद्दामा संलग्न रहेको मल्लले बताए। उनीहरूको साथबाट प्रहरीले एकथान नलकटुवा पेस्तोल र सोमा लाग्ने ४ थान गोलीसमेत बरामद गरेको छ। 

प्रहरी नियन्त्रणबाट उनीहरू भाग्न खोज्दा समात्ने क्रममा दुईजना प्रहरीसमेत सामान्य घाइते भएका छन्। सहायक हवल्दार संजय जयसवाल र प्रहरी जवान श्यामकिशोर गिरी सामान्य घाइते भएको प्रवक्ता डिएसपी गिरीले बताए।
 

See More On

सुझावित समाचार