मुगु सामूहिक हत्या प्रकरण : हत्याराको नजिक पुगेको प्रहरी दाबी

आइतबार, १२ कार्तिक, २०८०
डिजिटल संस्करण

मुगुको छायानाथ रारा नगरपालिका– ६ स्थित मुन्दुगाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा अनुसन्धान हत्याराको नजिक पुगेको प्रहरीले जनाएको छ।

कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी टोली अहिले घटनास्थलवरपरको अनुसन्धानमा तल्लीन छ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार प्रहरीले महत्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि अझै अनुसन्धान भने जारी राखेको छ।

‘हामीले महत्वपूर्ण प्रमाण भेटेका छौँ। अहिले शंका लागेकालाई सोधपुछ गर्नेदेखि नियन्त्रणमा लैजानेसम्मका काममा लागेका छौँ,’  प्रनाउ थापाले भने, ‘अनुसन्धानको नजरमा परेकाहरूको घटनासँग संलग्न रहेको प्रमाण जुटेपछि मात्रै नियन्त्रणमा लिई जानकारी दिन्छौँ।’

अहिले सबै कोणबाट अनुसन्धान भइरहेको उनको भनाइ छ। ‘अहिलेलाई यति भनौँ, हामी हत्याराको नजिक–नजिक पुगेका छौँ,’ प्रनाउ थापाले भने। हत्यारा पत्ता लगाउन नेपाल प्रहरीको विशेष अनुसन्धान टोली परिचालित छ।

हत्या गरिएका चारैजनाको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ। सम्भवतः आइतबारै चारै शवको पोस्टमार्टम हुने उनले बताए।

शुक्रबार मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, आठ वर्षीया छोरी अप्सरा बोहोरा र आठ महिनाका छोरा रहर बोहोराको शव घरभित्रै फेला परेको थियो। उनीहरूको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले जनाएको छ।

मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते नै दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन्। माइतीबाट टीका लगाइसकेपछि उनी ८ गते बेलुका नै घर फर्किएकी थिइन्। सोही राति सामूहिक हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ।

मृतकका श्रीमान् दीपक बोहोरा वैदेशिक रोजगारीका लागि  कतारमा थिए। घरमा श्रीमतीसहित छोराछोरीको हत्या भएको खबर पाएपछि शुक्रबार राति काठमाडौं आई उनी शनिबार मुगु पुगेका थिए।

सुझावित समाचार