दसैँमा घर हिँडेका यात्रुसँग महँगो मूल्य असुल्ने तीन होटेललाई जरिवाना
शुक्रबार मध्यरात, व्यस्त राजमार्ग । दसैँ मनाउन गाउँ फर्कनेहरूको लर्काेले होटेल तथा पसलमा पनि उस्तै भिड । त्यही पसलको भिडमा खानेकुरा किन्दा घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत मेघनाथ गौतम ठगिए । राजमार्गआसपासका होटेल तथा पसल अनुगमनमा पुगेका उनलाई धादिङको धुनीबेँसी नगरपालिका– ६ खाना–खजाना होटेलद्वारा सञ्चालित कोल्ड स्टोरले महँगो मूल्य असुलेको हो । जिल्ला अनुगमन समितिका सदस्य गौतम ग्राहक बनेर सामान किन्दा पसलेले ७५ रुपैयाँको लेजलाई एक सय २० र एक सय पाँच रुपैयाँको बदाम जुसलाई एक सय ५० रूपैयाँ असुलेका हुन् ।
‘होटेलले दर्ताविनाको कोल्ड स्टोर सञ्चालन गरिरहेको छ । विनादर्ताका कोल्ड स्टोरले ग्राहकको ढाड सेकिने गरी महँगो मूल्य असुलिरहेको छ,’ गौतमले भने, ‘ट्यागमा लेखिएको मूल्यभन्दा किन बढी मूल्य लिनुभयो भन्दा कुटौलाझैँ गर्छन् । तपाईं नखानुस्, तपाईंलाई जबर्जस्ती खानु भनेको छैन । व्यस्त छु, तपाईसँग बार्गेनिङ गर्ने फुर्सद छैन भनेर उल्टै थर्कायो । एक त ग्राहकको ढाड सेकिने गरी महँगो मूल्य, अर्काे होटेल तथा कोल्ड स्टोर सञ्चालकहरूको दादागिरी । ग्राहकलाई खाए खा नखाए घिच भनेजस्तै छ ।’
अनुगमनकै क्रममा ग्राहक बनेर धुनीबेँसी नगरपालिका– ९ स्थित हाइवे ब्रेक लाइट कोल्ड स्टोर पुगेका उपभोक्ता हित संरक्षण मञ्च धादिङका शिव सापकोटा पनि ठगिए । ‘१६ रुपैयाँको एक बोतल पानीलाई ३० रुपैयाँ लियो । झन्डै दोब्बर महँगो हो’, उनले भने– ‘सामानको मूल्य विक्रेतालाई थाहा छँदैछ, ग्राहकलाई पनि जानकारी हुन्छ । तर ५–१० रुपैयाँ भनेर पसलेले लिन्छन्, ग्राहकले छाड्छन् । १६ रुपैयाँको एक बोतल पानीलाई ३० रुपैयाँसम्म लिनु व्यापारीको ज्यादती र कालोबजारी हो ।’
काठमाडौंका अग्रिम पौडेल रातको समयमा पृथ्वी राजमार्गस्थित थाक्रेको न्यु गण्डकी स्टाफ होटेलमा भेटिए । हातमा पानीको बोतल र केही जंकफुड लिएका पौडेल राजमार्गका होटेल तथा पसलेहरूले दोब्बर मूल्य लिने गरेको गुनासो गर्छन् । ‘व्यापारीले जति मन लाग्यो त्यति सामानको मूल्य भन्छ । नखाउँ भोक लागेको छ रातको समय कहाँ जाने, खाउँ मूल्य सुन्दै तर्सिनुपर्नेछ,’ उनले भने, ‘२० रुपैयाँको पानी ४०, २० रुपैयाँकै चाउचाउलाई ४० रुपैयाँसम्म तिरेर खाइरहेका छौँ । पहिले नै मार्जिन राखेर आएको सामानमा लेखिएको मूल्यमा अझै शतप्रतिशत नाफा जोडेर व्यापारीले ग्राहकको शोषण गरिरहेका छन् । राति यसरी अनुगमन गरेको पहिलोचोटि देखेँ । खुसी लाग्यो, अझै सरकारले अनुगमनलाई व्यवस्थित गर्न सके ग्राहक ठगिनबाट जोगिन्थे ।’
काठमाडौंबाट भारत पटना हिँडेका सौरभ झा पनि राजमार्गकै खाना–खजाना होटेलले सञ्चालन गरेको कोल्ड स्टोरमा भेटिए । राजमार्गका होटेल तथा कोल्ड स्टोरले मनलाग्दी मूल्य लिएको उनको गुनासो छ । ‘तोकिएको मूल्यभन्दा बढी लिनु गलत हो । नयाँ ठाउँ कसलाई गुनासो गर्नु । मूल्य बढी भयो भन्दा खान मन नभए नखाउ भन्यो । भोक लागिरहेको थियो, महँगो मूल्य तिरेरै भोक मेटेँ । यसरी त नेपाल र नेपालीकै बदनाम भयो नि,’ झाले गुनासो पोखे ।
चाडपर्व नजिकिएसँगै अनुगमन तीव्र पारिएको हो । ‘बिहान, दिउँसो, बेलुका, मध्यराति केही भन्दैनौँ । केही दिनदेखि दिनरात निरन्तर अनुगमन गरिरहेका छौँ । ग्राहकको गुनासोपछि मध्यरातमा पनि अनुगमन गरिएको हो । अनुगमनका क्रममा भेटिएका समस्या मात्रै सुधार गर्न सके राजमार्ग भन्दा मुख खुम्चाउनेहरूले राम्रो मान्ने थिए’, जिल्ला अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले भने । जिल्ला अनुगमन समितिले ग्राहक बनाएर जिल्लाका विभिन्न ठाउँमा अनुगमन गरिरहेको छ । अखाद्य वस्तु बिक्री गर्ने, महँगो मूल्यमा सामान बिक्री गर्ने, मापदण्डविपरीत सञ्चालन गर्ने, अनुगमन टोलीले दिएको निर्देशन पालना नगर्नेजस्ता होटेल तथा पसलेलाई स्पटमै कारबाही गरिने उनले बताए । अनुगमनका क्रममा खाना–खजाना होटेललाई ५० हजार, न्यु गण्डकी स्टाफ होटेललाई १० हजार, न्यु भेरी स्टाफ होटेललाई १० हजार, हाइवे ब्रेक लाइट कोल्ड स्टोरलाई १० हजार जरिवाना गरिएको उनले बताए ।
त्रिभुवन राजपथ र पृथ्वी राजमार्गआसपासमा सञ्चालित होटेल तथा पसलेहरूले एमआरपीभन्दा निकै महँगोमा खाद्य सामग्री बिक्री–वितरण गरेको भेटिएको हो । एमआरपीभन्दा बढी मूल्य लिन पाइँदैन । तर, राजमार्गका होटेल, कोल्ड स्टोहरूमा झन्डै शतप्रतिशतसम्म जोडेर दोब्बर मूल्य लिने गरेको भेटिएको छ । एमआरपीमा २० प्रतिशतभन्दा बढी मूल्य लिनु कालोबजारी भएको खाद्य प्रविधि डिभिजन कार्यालय नुवाकोटका खाद्य निरीक्षक नवराज श्रेष्ठले बताए । ‘होटेल तथा कोल्ड स्टोरहरू मापदण्डविपरीत सञ्चालनमा छन् । होटेलका किचन र कोल्ड स्टोरको फ्रिजमै अखाद्य वस्तु भेटिए । यो ग्राहकको स्वास्थ्यमाथि खेलबाड हो,’ उनले भने– ‘धादिङ, नुवाकोट र रसुवामा पटकपटक अनुगमन गरेर निर्देशन दियौँ । विगतमा भन्दा अहिले केही सुधार भने भएका छन् ।’
निर्देशन पालना नगरे हदैसम्मको कारबाही गर्छौं : हुमनाथ पराजुली, सहायक प्रजिअ, धादिङ
जिल्ला अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले राजमार्गआसपासका सञ्चालित होटेल तथा कोल्ड स्टोर पसलहरूले बढी मूल्य असुली गरे निर्मम भएर कारबाही गर्ने बताएका छन् । पटकपटक दिएको निर्देशन पालना नगरी मापदण्डविपरीत सञ्चालन गर्ने होटेल तथा पसलेहरूलाई निर्मम भएर हदैसम्मको कारबाही गर्ने उनले बताए । ‘त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग देशको मुख्य मार्ग हो । तर, यही राजमार्गआसपासमा सञ्चालित कतिपय होटेलहरू दर्ता नै नगरी चलाइरहेका भेटिए । दर्ता भएका होटेलहरूले पनि विनादर्ताका कोल्ड स्टोर सञ्चालन गरिरहेका छन्,’ उनले भने, ‘मापदण्डविपरीत सञ्चालन गर्ने अनि ग्राहकको ढाड सेकिने गरी पैसा असुल्ने । पटक–पटक दिएको निर्देशन पनि पालना नगर्ने । कति जरिवाना गर्नु । अब निर्मम भएर कारबाही गर्छाैँ ।’