इजरायलमाथि हमास हमला : अहंकारदेखि अपमानसम्म

प्यालेस्टिनी जनताले अपमान सहनुभन्दा न्याय र स्वतन्त्रताका लागि प्राणको आहुति दिन तयार रहेको जनाएका छन्

सोमबार, २२ असोज, २०८०
डिजिटल संस्करण

केही दिनअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले राष्ट्रसंघमा नयाँ अरब साझेदारसहितको नयाँ मध्यपूर्व स्थापना गर्ने डिङ हाँक्दै भाषण गरेका थिए । यो स्वैरकल्पनाको नयाँ मध्यपूर्वमा पूर्णतः बहिष्करणमा परेको प्यालेस्टाइनले इजरायललाई राजनीतिक एवं सामरिक रूपमा गम्भीर हमला गरेको छ ।

प्यालेस्टिनी प्रतिरोध आन्दोलन हमासले सुनियोजित ढंगले गाजादेखि इजरायलमा वायु, समुद्र र जमिनबाट धावा बोलेको छ । एकपछि अर्को गरी इजरायली निसानामा हजारौँ क्षेप्यास्त्र प्रहार गरिएका छन्, इजरायलको दक्षिणी हिस्सामा सयौँ प्यालेस्टिनी लडाकुले इजरायली सेना र गैरसनिक नागरिक क्षेत्रमा आक्रमण गरेका छन् । नतिजा सयभन्दा बढी इजरायली मारिएका छन् र दर्जनौँ इजरायली सेना र नागरिक बन्दी बनाइएका छन् ।  

यस आक्रमणमा हमासको उद्देश्य लुकेको छैन । पहिलो– अतिक्रमण, दमन, अवैधानिक बस्ती निर्माण र अल–अक्सा मस्जिदजस्ता प्यालेस्टिनी धार्मिक प्रतीक तहसनहस बनाइनुको बदला लिँदै इजरायललाई दण्ड दिनु रहेको छ । दोस्रो, हमासले इजरायलको अपर्थाइड (नश्लभेद)लाई अरब जगत्ले दिएको वैधानिकताको विरोध गर्नु रहेको छ । र, इजरायलमा रहेका धेरैभन्दा धेरै प्यालेस्टिनी राजनीतिक बन्दीलाई रिहा गर्ने गरी बन्दी आदानप्रदान गर्नु अन्तिम उद्देश्य देखिन्छ । 

गाजापट्टीका हमासका नेता यह्या अल–सिनवार दुई दशकभन्दा बढी समय इजरायली जेलमा बसेर बन्दी आदानप्रदानमा रिहा भएको तथ्य सम्झिनु आवश्यक छ । त्यसैगरी, हमासको सैन्य शाखा प्रमुख मोहम्मद दइफले अन्य प्यालेस्टिनीले झैँ इजरायली हिंसामा नवजात छोरा, तीन वर्षकी छोरी र श्रीमती गुमाएका थिए । यस अर्थमा हमासको कारबाहीमा प्रस्टै दण्ड दिने र प्रतिशोध साँध्ने नियत देखिन्छ । तसर्थ, कारबाही आकस्मिक लागे पनि आश्चर्यजनक भने थिएन । 

इजरायल र यसका अहंकारी नेता जो आफूलाई अजेय ठान्थे र शत्रुलाई गन्दैनथे, तिनलाई तिनकै अहंकारले अन्ततः गाँजेको छ । अक्टुबर १९७३ को ‘आश्चर्यजनक’ अरब आक्रमणपछि इजरायली नेता आफ्ना अधिन र दमनमा परेका जनताको प्रतिरोधबाट बारम्बार चकित एवं बिलखबन्दमा पर्दै आएका छन् ।

सन् १९८२ को लेबनान अतिक्रमणका वेला लेबनानको प्रतिरोध, सन् १९८० र सन् २०००को दशकमा प्यालेस्टेनियन इन्टिफडास र पाँच दशकको बलात अधिग्रहणका क्रममा भएका प्यालेस्टिनी प्रतिरोध र चार युद्धका क्रममा इजरायल र इजरायली नेता कहिल्यै तयार नभएको देखिन्छ । इजरायली सेना र नागरिक नेतृत्वले हमासको कारबाहीको अपेक्षा गरेका थिएनन् भन्ने स्पष्ट छ र यो कारबाहीले इजरायली गुप्तचरी र सैन्य असफलता दर्साउँछ । इजरायलले आधुनिक गुप्तचरी, ड्रोन र निगरानी प्रविधिका बाबजुद हमलाबारे जानकारी पाउन सकेन र यसलाई रोक्न सकेन । 

हमलाले गरेको क्षति इजरायली गुप्तचरी र सैन्य असफलतामा मात्रै सीमित छैन, वास्तवमा हमला एक राजनीतिक एवं मनोवैज्ञानिक असफलता हो । हमलाले अजेय राज्य इजरायलको जोखिम, कमजोरी र चरम अक्षमता दर्साएको छ र नयाँ मध्यपूर्वको नेतृत्व लिने आकांक्षामाथि ठूलो धक्का पुगेको छ । 

भयका कारण आफ्ना घर र सहर छोडेर पलायन भइरहेका दृश्यले निश्चय नै इजरायलीमाझ एक त्रासद सामूहिक स्मृति निर्माण गर्नेछ । हमलाको दिन अर्थात् ७ अक्टुबर शनिबार इजरायली इतिहासको सबैभन्दा निकृष्ट दिनका रूपमा अंकित हुनेछ । यो एक चरम अपमानको दिन हुनेछ । भाष्य आफूअनुकूल बनाउन जान्ने नेतन्याहु पनि यो हमलाका मामिलामा सफल देखिएनन् । इजरायलले शनिबारका दिन जे भएको थियो, त्यसलाई बदल्न सक्नेछैन, अर्थात् एक उन्मत्त राज्य आफ्नो स्वैरकल्पनासँग पराजित भएको छ । निश्चय नै इजरायलले पहिलेझैँ बमबारी र हत्याको शृंखला चलाएर प्यालेस्टिनी जनतामाथि अत्याचारको कहर बर्साएर बदला लिने नै छ । तर, यसका बाबजुद इतिहासले देखाएझैँ प्यालेस्टिनी प्रतिरोध भने मत्थर हुनेछैन । 

इजरायलले गाजापट्टी र वेस्ट बेंकका प्यालेस्टिनी सहर, बस्ती र शरणार्थी शिविरमा पुनः सेना परिचालन गरेर हमासलगायत प्यालेस्टेनी विद्रोही समूहलाई नामेट पार्ने कोसिस गर्न सक्छ । प्यालेस्टिनी प्राधिकरणलाई नामेट पारेर ऐतिहासिक प्यालेस्टाइन वा इजरायलीको भाषामा ‘महान् इजरायली भूमि’मा प्रत्यक्ष नियन्त्रण लिन इजरायली सत्तागठबन्धनका उन्मादी सदस्य उद्यत हुनेछन् । यदि यसो गरिन्छ भने यो ठूलो भुल साबित हुनेछ । यसले पूर्ण विषम युद्ध निम्त्याउनेछ र यस क्रममा इजरायल इतिहासमै सबैभन्दा बढी अलगावमा पर्नेछ । अपर्थाइडलाई पाखण्डयुक्त ऐक्यबद्धता जनाएर नेतन्याहुलाई समर्थन गरिरहेका पश्चिमा नेता पनि पछि हट्नेछन् । 

मध्यपूर्व क्षेत्रमा इजरायलको अहिलेकै अपमानले यसको सामरिक एवं राजनीतिक अवस्थितिलाई अवमूल्यन गरिरहेको छ । नेतन्याहुसँग हात मिलाएका र साझेदारी गरिरहेका अरबका सत्ता मूर्ख ठहरिन थालिसकेका छन् । आफ्नो व्यक्तिगत असफलतालाई उल्ट्याउन र कमजोर गठबन्धनलाई जोगाउन नेतन्याहुले निःसन्देह प्रतिक्रिया जनाउनेछन्, जसले उनका नयाँ एवं सम्भावित क्षेत्रीय साझेदारलाई बिच्काउनेछ । नेतन्याहुले जुनसुकै मार्ग रोजे पनि उनको विरासतमा असफलताको धब्बा लाग्नेछ । यसका साथै नेतन्याहु आफ्ना वयोवृद्ध प्यालेस्टिनी समकक्षी महमुद अब्बासलाई पनि आफ्नो असफलतासँगै घिसार्नेछन् । अब्बास पनि राजनीतिक रूपमा असफल भइरहेका छन्, अर्थात् इजरायली अतिक्रमणको विरोध गरे पनि सुरक्षाका मामिलामा इजरायलसँगै साझेदारी गरिरहेका छन् । यो सन्तुलनको राजनीति धेरै टिक्नेवाला छैन । 

अब आउने परिवर्तन यी व्यक्तित्वभन्दा माथि जानेछ, अर्थात् यो परिवर्तनले जनताका दुई समूह सहअस्तित्वमा बाँच्न चाहन्छन् वा एकअर्कालाई सिध्याउन लागिपर्नेछन् भन्ने तय गर्नेछ । शनिबार प्यालेस्टिनी जनताले अपमान सहनुभन्दा न्याय र स्वतन्त्रताका लागि प्राणको आहुति दिन तयार रहेको जनाएका छन् । इजरायलले इतिहासबाट पाठ सिक्न अपरिहार्य छ । 
(बिसारा अलजजिराका वरिष्ठ राजनीतिक विश्लेषक हुन्) अलजजिराबाट
 

सुझावित समाचार