सामाजिक सञ्जाल प्रविधिको उपहार हो, निन्दा र भर्त्सना पोख्ने प्लेटफर्म बनाइयो : उपमहासचिव पुन

आइतबार, १४ असोज, २०८०
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सामाजिक सञ्जाल प्रविधिको सुन्दर उपहार भए पनि त्यसको चरम दुरुपयोगले समाजलाई गाँजेको बताएका छन्।

उनले सामाजिक सञ्जालको सही र रचनात्मक प्रयोग गर्न सकिए मुलुक, समाज र मानिसको जीवनमै परिवर्तन ल्याउन सकिने उल्लेख गरे। लोकतन्त्रमा आलोचना, विरोध र खबरदारी सबै ग्राह्य भए पनि सामाजिक सञ्जाल निन्दा र भर्त्सना पोख्ने प्लेटफर्ममा विकास हुँदै गएकोमा पुनले चिन्ता जनाए।

कतिपय अवस्थामा मूलधारका सञ्चारमाध्यमभन्दा सामाजिक सञ्जाल शक्तिशाली देखिने गरेको भन्दै उनले फिल्टर नगरिएका मिथ्या र सूचनाका कारण व्यक्ति, राज्य र समूहहरूप्रति भ्रम पैदा हुने गरेको बताए। आफूले बुझेको, आफूले सुनेको र आफ्ना आँखाले देखेको मात्र अन्तिम सत्य ठान्ने र अरूका कुरा नसुन्ने प्रवृत्तिले समाजमा विग्रह ल्याउन सक्नेमा उनको चिन्ता थियो। 

वनस्थलीमा आइतबार आयोजित एक कार्यक्रममा पुनले भने, ‘प्रविधिले समाजलाई पत्रिका, रेडियो, टेलिभिजन, बैंकिङ कारोबार सबैका लागि एउटा स्मार्ट मोबाइल भए पुग्ने अवस्थामा ल्याएको छ। तर, प्रविधिको सही र रचनात्मक प्रयोग गर्न सक्ने समाज हाम्रो बनेको छैन। त्यसअनुसार सामाजिक चेतनाको विकास भएको छैन। आफ्नो धारणा नै सबैको धारणाजस्तो, आफूले बुझेको नै अन्तिम सत्यजस्तो, आफ्नो आँखाले देखेको कुरा नै सबै संसार हो भन्नेजस्तो भएको छ।’

समाज अन्तर्क्रियात्मकबाट क्रमशः साँघुरो व्यक्तिवादी प्रवृत्तितिर जान थालेको उपमहासचिव पुनको ठम्याइ छ। सामाजिक सञ्जालमा भेटिएका सबै सूचना सत्य ठान्ने प्रवृत्तिले समाजलाई असहिष्णुतातिर धकेलेको तथा व्यक्ति, समाज र राज्यका बारेमा एकांगी धारणाको विकास हुने अवस्था सुजना हुन थालेको निष्कर्ष उनले सुनाए। तर, आलोचना गरेकै कारण नागरिकलाई प्रविधिको उपयोगबाट रोक्ने नभई राजनीतिक दल र सरकारले एकांगी बन्नबाट जोगाउन सक्नुपर्ने उनको भनाइ थियो।

फरक प्रसंगमा पुनले निकै ठूलो राजनीतिक संघर्षको बलमा प्राप्त गणतन्त्र र संघीयता संस्थागत गर्दै युवाहरूलाई देशभित्रै भविष्य देखाउन परिवर्तन संस्थागत गर्ने प्रयासमा आफ्नो दल र आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार केन्द्रित रहेको दाबी गरे।

सुझावित समाचार