सात वर्षपछि भारतमा पाकिस्तानी क्रिकेट टिम

पछिल्लोपटक सन् २०१६ मा टी–२० विश्वकप खेल्नका लागि पाकिस्तानी टोली भारत आएको थियो

बिहिबार, ११ असोज, २०८०
डिजिटल संस्करण

बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तानी क्रिकेट टोली बुधबार भारत आइपुग्यो । पाकिस्तानी टोलीको स्वागतका लागि हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा क्रिकेट समर्थक तथा सुरक्षा अधिकारीहरूको भिड थियो । ५ अक्टोबरबाट भारतमा सुरु हुने एकदिवसीय क्रिकेट खेल्नका लागि दुबई हुँदै पाकिस्तानी टिम हैदराबाद आएको हो । 

यसअघि २०१६ मा टी–२० विश्वकप खेल्नका लागि पाकिस्तानी टिम भारत आएको थियो । एकदिवसीय विश्वकपको उद्घाटन खेलमा अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्नेछन् । पाकिस्तानले आफ्नो पहिलो खेल ६ अक्टोबरमा नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ । त्यस्तै, दोस्रो खेल हैदराबादमा श्रीलंकाविरुद्ध खेल्नेछ । ४६ दिनसम्म चल्ने एकदिवसीय विश्वकपमा ४८ खेल हुनेछन् । १२ नोभेम्बरसम्म लिग चरणका ४५ खेल चल्नेछन् । त्यसपछि १५ र १६ नोभेम्बरमा सेमिफाइनल तथा १९ नोभेम्बरमा अहमदाबादमा फाइनल खेल हुनेछ । 

हाम्रो लक्ष्य च्याम्पियन बन्ने हो :  बाबर 
पाकिस्तानका कप्तान बाबर आजमले विश्वकप जित्ने लक्ष्य राखेको बताएका छन् । ‘हामी विश्वकप जित्न चाहन्छौँ । विश्वकपअघि हामीले धेरै समय क्याम्पमा बिताउन पाएनौँ, किनकि हामी लामो समयदेखि निरन्तर खेलिरहेका छौँ । त्यसैले हामीले खेलाडीलाई ब्रेक दियौँ । ताकि, उनीहरू रिफ्रेस हुन सकून् र जित्ने भोकसहित आऊन् । 

जब तपाईंसँग त्यस्तो भोक हुन्छ, तब उत्कृष्ट खेल्नुहुन्छ,’ उनले भने । उनले एसिया कपमा गरेका गल्तीलाई विश्वकपमा नदोहोर्याउने बताए । ‘एसिया कपका अन्तिम दुई खेलअघि हामीले साँच्चै राम्रो गरिरहेका थियौँ । एसिया कप फरक प्रतियोगिता थियो र विश्वकप पूरै फरक छ । हामीले त्यहाँ गरेका गल्तीबाट सिकेका छौँ । त्यसलाई दोहोरिन दिनेछैनौँ,’ उनले भने । एसिया कपको सुपर सिक्समा भारत र श्रीलंकासँग पराजित भएपछि पाकिस्तान फाइनल पुग्न असफल भएको थियो । 

सुझावित समाचार