कांग्रेसले जन्मजयन्ती वा स्मृति दिवसमा मात्रै सम्झनेभन्दा पनि बिपीले देखेको प्रजातान्त्रिक समाजवादलाई कार्यान्वयन गरेर जनतालाई सुखी र खुसी बनाउन सक्नुपर्छ
बिपी कोइरालाको नाम लिँदै गर्दा पनि गर्वको महसुस हुन्छ । नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रजातान्त्रिक समाजवादका प्रणेता बिपी कोइरालाको ११०औँ जन्मजयन्ती हामीले मनाइरहेका छौँ । भदौ २४ गतेदेखि ३ दिनसम्म यसपटक बिपी कोइरालाको जन्मजयन्तीका रूपमा साहित्यिक महोत्सव आयोजना गरिएको छ । बिपी कोइराला राजनीतिक व्यक्तित्व मात्रै होइन, उहाँको साहित्यमा पनि ठूलो योगदान छ ।
बिपी कोइरालाले पश्चिमा दार्शनिक सिग्मन्ड फ्रायडको यौन मनोविज्ञानलाई नेपाली आख्यानका क्षेत्रमा भित्र्याएको रूपमा बुझ्न सकिन्छ । कोइरालाका ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’, ‘हिटलर र यहुदी’, ‘मोदीआइन,’ ‘बाबु, आमा र छोरा’लगायत उपन्यास प्रकाशित छन् । उनका दोषी चस्मा र श्वेतभैरवी कथा संग्रहका साथै ‘आफ्नो कथा’, ‘आत्मवृत्तान्त’ र ‘जेल जर्नल’ जीवनीमूलक कृति प्रकाशित छन् । कोइरालाका नेपाली र हिन्दी भाषामा गरी झन्डै ३० वटा कथा प्रकाशित छन् । बिपीजयन्तीका अवसरमा आयोजना हुन लागेको महोत्सवमा सम्भाषण हुने र महोत्सवका सत्रहरूअन्तर्गत मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्टर्न, नेपालको मातृभाषा साहित्य, बिपीका आख्यानमा नारी, बिपीका आख्यानमा मधेस, बिपीका दृष्टिमा बिपी, बिपीले नपाएका १५ वर्ष शीर्षकमा चल्ने भएका छन् ।
त्यस्तै अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी, समावेशिता, सामाजिक रूपान्तरण र बिपी, युवापुस्तामा बिपी पठन र परिवारले बुझेका बिपी शीर्षकमा पनि विभिन्न सत्रमा छलफल हुनेछन् ।
बिपी कोइरालालाई एक बहुआयामिक व्यक्तित्वका रूपमा लिनुपर्छ । राजनीतिमा प्रजातान्त्रिक समाजवादका प्रणेता र साहित्यमा पनि त्यत्तिकै दख्खल भएकाले उहाँलाई राजनीति र साहित्यका अग्रज व्यक्तित्वका रूपमा पनि लिनुपर्छ । प्रजातन्त्र, मानवअधिकारलगायत आधारमा विश्व मानचित्रमा उभ्याउन र उभिन सक्ने नेपालका बहुआयामिक व्यक्तित्वका रूपमा उहाँलाई लिनुपर्छ । तर, बिपी कोइरालाले आफ्नो जीवनकालमा सोचेकोजस्तो गर्न भने सक्नुभएन या मौका पाउनुभएन । तर, त्यो काम गर्नका लागि उहाँले दरिलो जग भने नेपाली समाजमा बसाउन सफल हुनुभयो । उहाँले देखेको सपना बिस्तारै नेपालको पछिल्ला परिवर्तनबाट सफल भएको रूपमा पनि बुझ्नुपर्छ । बिपीलाई सम्झँदै गर्दा उहाँले लिएको विचार अहिले पनि सान्दर्भिक छ । बिपी कोइरालाले लिएको प्रजातान्त्रिक समाजवादको विचार थियो । माक्र्सवादबाट प्रभावित हुँदाहुँदै पनि शान्तिपूर्ण पक्षका रूपमा उनी गान्धीवादसँग नजिक थिए । तर, नेपालको सन्दर्भमा आफ्नै भूगोलको आफ्नै माटो सुहाउँदो र आफ्नै परम्परालाई अंगीकार गर्दै यथार्थवादसँग नजिक थिए । त्यसैले, बिपीले माक्र्सवाद, गान्धीवाद र यथार्थवादको सम्मिश्रणका रूपमा नेपालको माटो सुहाउँदो प्रजातान्त्रिक समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभएको हो । बिपीले त्यतिवेलै राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको सपना देख्नुभएको थियो । त्यो सपना अझै हामीले पूरा गर्न सकेका छैनौँ ।
बिपी युवालाई सही जिम्मेवारी दिए मात्र उनीहरू राष्ट्र निर्माणको शक्ति बन्न सक्छन्, अन्यथा उनीहरू विध्वंसात्मक शक्तिमा रूपान्तरण हुन्छन् भन्नुहुन्थ्यो । अहिले युवाशक्ति जिम्मेवारीविहीन हुँदा राष्ट्र निर्माण ओझेलमा परिरहेको छ भने युवाहरू अपराध र दुव्र्यसनमा फस्दै गएका छन् ।
बिपी कोइरालाको साहित्य पढ्दा महिलालाई विशेष प्राथमिकता दिएको पाइन्छ भने राजनीतिमा पनि उहाँले महिलालाई विशेष महŒव दिनुभयो । उहाँले २०१५ सालको आमनिर्वाचनमा डडेल्धुराबाट द्वारिकादेवी ठकुरानीलाई प्रत्यक्षमा उठाएर सांसद तथा मन्त्री बनाउनुभयो । उहाँले दक्षिण एसियामा नयाँ इतिहास कायम गर्नुभएको थियो । लोकतन्त्र हुँदाहुँदै गणतन्त्र आएको पनि यत्रो वर्ष भइसक्यो । महिलाको सवालमा संविधानमा त लेख्यौँ, तर समानुपातिकमा सीमित गरेका छौँ । अहिले युवाको कुरा गर्ने हो भने लाखौँलाख युवा खाडी मुलुकमा पसिना बगाउन गइरहेका छन् । उनीहरू बिदेसिनुपर्ने कारण भनेकै नेपालमा रोजगारीको अभाव हो । हामीले युवालाई स्वदेशमा रोजगारी दिन्छौँ भने पनि त्यस खालका नीति–नियम बनाउन चुक्दै गएका छौँ । कांग्रेसका तत्कालीन युवा सहिद राम, लक्ष्मण, कामेश्वर, कुशेश्वरहरू जहिल्यै बिपीको वरिपरि रहे । बिपीले युवालाई राष्ट्रको शक्तिका रूपमा हेर्नुहुन्थ्यो । बिपी युवालाई सही जिम्मेवारी दिएमा मात्र उनीहरू राष्ट्र निर्माणको शक्ति बन्न सक्छन्, अन्यथा उनीहरू विध्वंसात्मक शक्तिमा रूपान्तरण हुन्छन् भन्नुहुन्थ्यो । अहिले युवाशक्ति जिम्मेवारीविहीन हुँदा राष्ट्र निर्माण ओझेलमा परिरहेको छ भने युवाहरू अपराध र दुव्र्यसनमा फस्दै गएका छन् ।
बिपी ०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको थियो । उहाँले त्यतिवेला राष्ट्रियता अप्ठेरोमा परेको विश्लेषण गर्नुभएको थियो । त्यसवेला नेपालको राष्ट्रियता जोगाउन राजासँग आफ्नो घाँटी जोडिएको कुरा गर्नुभएको थियो । हामी दुई विशाल छिमेकी चीन र भारतका बीचमा छौँ, भू–राजनीतिले नेपालमा सधैँ प्रभाव पारेको छ । विगतको र अहिलेको परिस्थिति फरक रहे पनि केही–केही झिल्कोले हामीलाई छोइरहेकै छ । बिपी कोइरालालाई सम्झनुको अर्थ उहाँले अंगीकार गरेको प्रजातान्त्रिक समाजवादका एजेन्डालाई अंगीकार गर्दै जानु हो । यसबीच कांग्रेसले बिपीलाई बिर्सिएको रूपमा पनि चित्रण गर्ने गरिन्छ । अहिलेको अवस्थामा कांग्रेसले जन्मजयन्ती वा स्मृतिदिवसमा मात्रै सम्झनेभन्दा पनि उहाँले देखेको प्रजातान्त्रिक समाजवादलाई कार्यान्वयन गरेर जनतालाई सुखी र खुसी बनाउन सकियो भने बिपी कोइरालाले अंगीकार गरेका नीतिको सार्थकता झल्किन्छ ।
बिपी कोइरालाले तत्कालीन अवस्थामा संवैधानिक राजतन्त्रको पक्षमा वकालत गरेको कुरा घामजस्तै छर्लंग छ । बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक नेपालजस्तो मुलुकलाई एकताको सूत्रमा बाँध्न सक्ने संस्थाको रूपमा संवैधानिक राजतन्त्रलाई उहाँले व्याख्या गर्नुभएको थियो । तर, पछिल्लो कालखण्डमा आइसकेपछि तत्कालीन राजा निरंकुश भए । लोकतन्त्रमाथि प्रहार गर्नुका साथै लोकतान्त्रिक संघसंस्थामाथि बन्देज लगाउन पुगे । लोकतन्त्रका लागि निरंकुश राजा काम लाग्दैनन् भन्ने लागेर नै कांग्रेसले गणतन्त्रका पक्षमा आफूलाई उभ्याएको हो । तत्कालीन राजाले आफूलाई संविधानभन्दा माथि राखेर लोकतान्त्रिक संस्थामाथि निरन्तर प्रहार गर्न थालेपछि नै कांग्रेस र सात दल गणतन्त्रको पक्षमा उभिएका हुन् । आन्दोलनको नेतृत्व कांग्रेसले गरेको हो । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासमेत सात दल र त्यतिवेला जंगलमा रहेको माओवादीबीच शान्ति सम्झौता भएपछि नेपालले गणतन्त्रको बाटो रोजेको हो ।
०१५ सालको आमनिर्वाचनपछि बिपी कोइरालाले जननिर्वाचित प्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व गर्नुभयो । भलै तत्कालीन राजाका कारण त्यो सरकार धेरै समय टिक्न सकेन । जति समय सरकारको नेतृत्व गर्नुभयो, उहाँ राम्रो छाप छाड्न सफल पनि हुनुभएको छ । त्यतिवेला उहाँले राष्ट्रिय योजना आयोगको भित्तामा एक हल गोरु जोत्दै गरेका किसानको फोटो राख्न लगाएर स्पष्ट सन्देश दिन खोज्नुभएको हो । त्यतिवेला उहाँले किसानलाई सम्मान गर्दै उत्पादकत्व बढाउने कुरा गर्नुभएको हो । ९० प्रतिशत जनता कृषिमा आश्रित थिए । कृषिलाई अघि नबढाउने हो भने मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्न सक्दैन भन्ने नै हो । कृषि पेसाबाट मानिसहरू अहिले अन्यत्रै मोडिन थालेका छन् भने कृषि गरेर वर्ष दिनलाई आफ्नो जीवन निर्वाह गर्न सक्ने अवस्था पनि कमजोर बन्दै गएको अवस्थामा अहिले युवाहरू खाडी मुलुकमा पसिना बगाउन बाध्य भएका छन् । अहिले हाम्रो अर्थतन्त्र नै निर्यातभन्दा पनि आयातमुखी अवस्थामा रहेको छ । हामीले जति कुरा गरे पनि अझै आत्मनिर्भर अर्थतन्त्र बनाउन कृषिलाई आधुनिकीकरण र यान्त्रीकीकरणमा जोड दिनुपर्छ ।
बिपी कोइरालाले प्रजातन्त्र र समाजवादलाई सँगसँगै लैजानुपर्छ भन्नुभएको थियो । समाजवादको कुरा अहिले अरूले पनि गर्छन् । बिपीले राजनीतिक स्वतन्त्रतासहितको समाजवादको कुरा गर्नुभएको हो । राजनीतिक स्वतन्त्रता र आर्थिक समानतालाई सँगसँगै लिएर जानुपर्छ । बिपीको विचार र कम्युनिस्ट विचारबीच मेल खाँदैन ।
बिपीले देखेको सपना भनेकै तत्कालीन अवस्थामा हरेक नेपालीको एउटा घर र उनका दुईजना छोराछोरीलाई पढाउन सकियोस् भन्ने नै हो । यो कुरा हामीले उहाँका धेरै विचार सुन्दा र पढ्दा पाउँछौँ । तर, अहिले पनि दूरदराजका नेपाली नागरिक बिहान र बेलुकाको छाक टार्न अप्ठेरो अवस्थामा रहेका छन् । शुद्ध पिउने पानीसम्म नपाउने अवस्था अझै विद्यमान रहेका वेला विकास र समृद्धिको कुरा त ती ठाउँमा अझै परको विषय बनेको छ । यसबीच केही परिवर्तन भए पनि बिपीले हरेक नेपालीलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउने सपना देख्नुभएको थियो । त्यो सपना साकार पार्ने जिम्मा हाम्रो हो । त्यसका लागि हामीले इमानदारीपूर्वक काम गर्न जरुरी छ । त्यही नै स्वर्गीय बिपी कोइरालाप्रति साँचो श्रद्धाञ्जली हुनेछ ।
(डा. संग्रौला कांग्रेस केन्द्रीय सदस्य हुन्)