के गाँजा सेवन साँच्चै सुरक्षित छ ?

मंगलबार, १९ भदौ, २०८०
डिजिटल संस्करण

अमेरिकामा वयस्कमाझ सुर्तीको प्रयोग घट्दै जाँदा गाँजाको प्रयोगमा बढोत्तरी भएको छ । यसबाहेक सुर्ती र गाँजाको उपभोगलाई नियन्त्रण गर्ने कानुन र नियम फरक ढंगले तर्जुमा हुँदै छन् । सार्वजनिक क्षेत्रमा धुम्रपान निषेध र फ्लेभरयुक्त सुर्तीजन्य उत्पादनमा राज्यस्तरमा बिक्रीमा रोकावटजस्ता प्रतिबन्धसहित सुर्तीजन्य नियम दिनानुदिन कडा हुँदै गइरहेका छन् ।

ठिकविपरीत बढ्दो संख्यामा राज्यस्तरमा गाँजाको चिकित्साजन्य वा मनोरञ्जनात्मक प्रयोगको अनुमति बढिरहेको छ । यसबाहेक धुम्रपानमुक्त कानुनभित्र गाँजालाई अपवाद बनाउने उद्देश्यसाथ पहलकदमी लिइँदै छन् । यी परिवर्तनले मानिसलाई गाँजाको धुम्रपानतर्फ नजिक्याइरहेको छ । यस सन्दर्भमा प्रत्यक्ष वा परोक्ष गाँजा सेवन कति सुरक्षित छ त ?  म एक त्यस्तो राज्यमा प्राथमिक हेरचाह चिकित्सक र अनुसन्धानकर्ताका रूपमा काम गर्छु, जहाँ चिकित्सा र मनोरञ्जन प्रयोजन दुवैका लागि गाँजाको प्रयोगलाई कानुनी बनाइएको छ । मेरा सहकर्मी र मैले गाँजाको बढ्दो प्रयोग र प्रवद्र्धन भइरहँदा सुर्ती र गाँजासेवन सम्बन्धित सुरक्षाबारे सार्वजनिक धारणा कसरी विकसित भइरहेको छ भनेर खोजी गरिरहेका छौँ ।

गुगलमा गाँजा शब्दको खोजी गर्दा हजारौँ लाभ देख्न सकिन्छ, जब कि यी अधिकांश लाभका पछाडि बलियो वैज्ञानिक प्रमाण छैन 

हामीले सन् ०१७, ०२० र ०२१ का बीचमा पाँच हजारभन्दा बढी वयस्कमाझ सर्वेक्षण गरेका थियौँ । सर्वेक्षणअनुसार सो अवधिमा चुरोट सल्काउनुभन्दा गाँजा सल्काउनु सुरक्षित हो भन्ने धारणा बलियो भएको पाएका थियौँ । सन् २०१७ मा २६ प्रतिशत मानिसले दिनमा एक चुरोट सल्काउनुको सट्टा गाँजाको जोइन्ट सल्काउनु सुरक्षित हुन्छ भन्ने जनाएका थिए । सन् २०२१ मा यो आँकडा ४४ प्रतिशत पुगेको थियो । त्यसैगरी चुरोटको तुलनामा गाँजाको परोक्ष सेवन ‘पूर्ण रूपमा सुरक्षित’ रहेको जनाएका थिए । यी मानिसका अनुसार सम्भावित जोखिममा रहने बालबालिका र गर्भवती महिलाका अगाडि गाँजा सल्काउनु पनि ‘पूर्ण रूपमा सुरक्षित’ हो । यी अवधारणाका बाबजुद नयाँ शोध–अनुसन्धानले गाँजाको सेवनले स्वास्थ्यमा असर पार्न सक्ने विषयमा चासो वृद्धि गरेको देखिन्छ ।

के गाँजासम्बन्धी अवधारणा विज्ञानसम्मत छ ? :  दशकौँको अनुसन्धान र सयौँ अध्यययनले चुरोट सेवन विभिन्न किसिमका क्यान्सर र मुटुसम्बन्धी रोगसँग जोडिएको देखाएको छ । तर, गाँजा सेवनको दीर्घकालीन असरबारे धेरै अध्ययन हुन पाएको छैन । संघीय तहमा गाँजा अवैधानिक भएकाले यसको प्रभावबारे अध्ययन गर्नु वैज्ञानिकका लागि थप चुनौतीपूर्ण बनेको छ । 

लामो समयसम्म नियाल्नुपर्ने र अत्यधिक आश्रयको अवस्थाले निम्त्याउने स्वास्थ्य प्रभावको अध्ययन गर्नु चुनौतीपूर्ण हुने गर्छ । क्यान्सर वा मुटुसम्बन्धी रोगको सम्बन्धमा गाँजाको अनुसन्धानको हालैका विश्लेषणले यी अनुसन्धानमा धेरै कमी रहेको देखाएको छ । किनभने, यी अनुसन्धानमा पर्याप्त ढंगले आश्रित भएका अनुसन्धान सहभागीको संख्या सीमित छ, सहभागी हुनेसँग अनुसन्धानकर्मीको नियमित अद्यावधिक भेट कम देखिन्छ, र चुरोट सेवनको बानीलाई अनुसन्धानमा पर्याप्त ठाउँ दिइएको छैन । गाँजाका कैयौँ पैरवीकर्ता गाँजा सेवनका नकारात्मक परिणामबारे स्पष्ट नतिजा नभएकाले गाँजा सेवन सुरक्षित रहेको दलिल पेस गर्छन् । तर, यो बुझाइलाई म र मेरा सहकर्मी अस्वीकार गर्छौं, अर्थात् वैज्ञानिक भाषामा भन्ने हो भने ‘प्रमाणको अभाव भएकै कारण अभावलाई नै प्रमाण’ मान्ने प्रवृत्तिलाई मान्न सकिँदैन ।

विभिन्न वैज्ञानिकले गाँजा र सुर्तीमा कैयौँ समान रसायन रहेको पत्ता लगाएका छन् । यी रसायनमा कैयौँ क्यान्सरका कारक र विष पनि रहेको देखिएको छ । सुर्ती होस वा गाँजा ती जलेपछि त्यसका कण सासका माध्यमबाट फोक्सोमा पुग्दा शरीरका तन्तुमा क्षति पुग्छ । जनावरमाथि सुर्ती र गाँजाको परोक्ष धुम्रपानको असरले मुटुसम्बन्धी असर निम्त्याउने देखाएको छ । यी असरमा धमनीको चौडाइको विस्तार, उच्च रक्तचाप र मुटुको कार्यमा गिरावट पर्छन् । गाँजा सेवनका कारण हुने फोक्सोको क्यान्सर, हृदयघात र स्ट्रोकका जोखिम पत्ता लगाउन थप अनुसन्धान आवश्यक छ । तथापि मौजुदा ज्ञानले जनस्वास्थ्य संगठनमाझ चासो पैदा गरेको छ ।

गाँजा सेवनसम्बन्धी अवधारणाको के अर्थ ? :  मानिसले गाँजालाई सुरक्षाको कसीबाट कसरी हेर्छन् भन्ने विषयले यसको प्रयोग र सार्वजनिक नीतिमा महत्वपूर्ण प्रभाव पार्छ । गाँजा र अन्य पदार्थको अध्ययन गर्ने विभिन्न शोधकर्ताले यदि मानिसलाई केही पदार्थ कम जोखिमपूर्ण लाग्छ भने ती पदार्थको प्रयोगको सम्भावना बढी हुन्छ ।

गाँजा सेवनको सुरक्षा जोखिमसम्बन्धी अवधारणाले चिकित्सा र मनोरञ्जन प्रयोजनसम्बन्धी कानुन र नीतिको विकासलाई प्रभाव पार्छ । यसमा गाँजा सेवनलाई सुर्ती सेवनजस्तै नियमन गर्ने वा धुम्रपानसम्बन्धी कानुनमा गाँजा सेवनलाई अपवाद बनाउने निर्णय पर्छन् ।

गाँजा सेवनसम्बन्धी अवधारणा निर्माण गर्दा जटिलता मौजुद छन् । अर्थात् विभिन्न चिकित्सकीय प्रयोगले कहिलेकाहीँ विशेष परिस्थितिमा गाँजाको प्रयोग लाभदायी पनि हुने देखिएको छ । यी लाभमा निश्चित दीर्घकालीन दुखाइका व्यवस्थापन गर्न, किमोथेरापीले निम्त्याउने वाकवाकी र बान्ता रोक्न र एचआईभी/एड्स भएका बिरामीमा भोक र तौल बढाउने काम पर्छन् । महत्वपूर्ण कुरो के हो भने यी कुनै पनि प्रयोगमा गाँजाको धुम्रपान वा भेपिङ समावेश छैन । दुर्भाग्य, गुगलमा गाँजा शब्दको खोजी गर्दा हजारौँ लाभ देख्न सकिन्छ, जबकि यी अधिकांश लाभका पछाडि पुख्ता वैज्ञानिक प्रमाण मौजुद छैन ।  

गाँजाको सम्भावित लाभ र जोखिमबारे जान्न चाहने व्यक्तिलाई म स्वास्थ्य सेवा प्रदायक वा पूर्वाग्रहरहित वैज्ञानिक सामग्रीको खोज गर्न आग्रह गर्छु । यस सन्दर्भमा द नेसनल सेन्टर फर कम्प्लिमेन्ट्री एन्ड इन्टिग्रेटिभ हेल्थसँग कुन चिकित्सकीय अवस्थामा गाँजाको प्रयोग गर्ने वा नगर्ने र सम्भावित जोखिमबारे जानकारीको सिंहावलोकन उपलब्ध गराएको छ । 

(कोहेन क्यालिफोर्निया विश्वविद्यालयकी चिकित्साविज्ञानकी प्राध्यापक हुन्) द कन्भर्सेसनबाट
 

सुझावित समाचार