बर्दिया कारागारबाट एक कैदी फरार

आइतबार, १७ भदौ, २०८०
डिजिटल संस्करण

बर्दिया कारागारबाट एक कैदी फरार भएका छन्। कर्तव्य ज्यान मुद्दामा विगत एक वर्षदेखि कैद सजाय भुक्तान गरिरहेका ठाकुरबाबा नगरपालिका– ८ का २७ वर्षीय अजित बुढाक्षेत्री कारागारबाटै फरार भएका हुन्।

उनी आइतबार बिहान करिब ३ बजे कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हाम फालेर फरार भएका कारागारका प्रमुख सन्तोष विकले जानकारी दिए। अनुसन्धानको क्रममा बुढाक्षेत्री कट्टु मात्र लगाएको अवस्थामा फरार भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

फरार भएको जानकारी पाउना साथ जिल्लाका विभिन्न स्थान र सीमावर्ती क्षेत्रमा खोज तलासका लागि प्रहरी टोली परिचालन गरिएको छ। 

भारतीय नाका सिल गरी भारतीय प्रहरी र भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरी हुलियासमेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए।

फरार कैदी ०७१ सालमा ठाकुरबाबा नगरपालिका– ८ कै जोरासिंह थापाको हत्याको अभियोगमा दोषी ठहर भई कैद भुक्तान गरिरहेका थिए। अदालतमा बयान दिन जाँदा फरार भएका उनी गत वर्ष पक्राउ परी कैद भुक्तान गरिरहेका थिए। अदालतले ३० वर्षको कैद सजाय फैसला गरेका उनी पुनः भागेका हुन्।

सुझावित समाचार