लुम्बिनीमा पौडेल र पोखरेलनिकट उम्मेदवार लबिङमा
एमालेले प्रदेश कमिटी र अध्यक्षलाई शक्तिशाली बनाएका कारण प्रदेश अधिवेशनहरूमा नेतृत्व हत्याउन पोलिटब्युरो र केन्द्रीय कमिटीकै नेताले दौडधुप थालेका छन् । प्रदेश कमिटी कार्यकारी बनाएर अध्यक्षलाई पदेन पोलिटब्युरो सदस्य बनाएका कारण नेतृत्व लिन धेरैको रुचि बढेको हो । प्रदेशहरूमा अध्यक्षका आकांक्षी धेरै देखिँदा आन्तरिक सरगर्मी बढेको छ ।
प्रदेश अध्यक्षले समग्र प्रदेशको नेतृत्व र परिचालनसँगै पोलिटब्युरो र केन्द्रीय कमिटी दुवैमा रिपोर्टिङ गर्न पाउनेछन् । सोही कारण अधिकांश प्रदेशमा पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यले पनि अध्यक्षको आकांक्षा राखेर तयारी गरेका छन् ।
संघीय संरचनापछि एमालेले पहिलोपटक प्रदेश अधिवेशन गर्दै छ । एमालेको प्रदेश अधिवेशनमा पहिलो शनिबार लुम्बिनीबाट सुरु हुँदै छ । बुटवलमा आइतबारसम्म चल्ने प्रथम अधिवेशनको उद्घाटन अध्यक्ष केपी ओलीले गर्दै छन् ।
असोजभित्र सम्पन्न गर्ने गरी डेढमहिने अधिवेशनको कार्यतालिका सार्वजनिक गरेर एमाले प्रदेशमा नयाँ नेतृत्व चयनको प्रक्रियामा प्रवेश गर्दै छ । केन्द्रीय सचिवालयले प्रदेश अधिवेशन तयारी अगाडि बढाउन निर्देशन दिएको थियो । अधिवेशन नजिकिएसँगै आकांक्षी उम्मेदवार पनि बढेका छन् । तर, समूहगत चुनावमा जान भने रोकिएको छ ।
लुम्बिनीमा अध्यक्षका आकांक्षी खुलिसकेका छन् । अधिवेशनको सँघारमा केन्द्रीय सदस्य हरि रिजाल र अहिलेका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले आकांक्षा राखेर तयारी गरेका छन् । रिजालले महासचिव शंकर पोखरेल र कँडेलले उपाध्यक्ष विष्णु पौडेलको समर्थन लिने कोसिस गरेका छन् । दाङका लक्ष्मण आचार्य पनि आकांक्षी छन् । तर, उनले रिजाललाई नै समर्थन गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।
अध्यक्षका आकांक्षी रिजालले गुटविहीन तरिकाले आफ्नो उम्मेदवारी रहने बताए । ‘मेरो उम्मेदवारी गुटविहीन रूपमा अध्यक्षमा रहन्छ । नेताको टुप्पो समाएर आउदिनँ, कार्यकर्ताको साथमा आउँछु,’ उनले भने, ‘कार्यकर्ताको साथमा नेतृत्वमा पुग्ने र प्रदेशमा पार्टीलाई मजबुत बनाउन मेरो उम्मेदवारी हुन्छ ।’
अध्यक्षका अर्का आकांक्षी कँडेलले लुम्बिनीमा एमाले पहिलो पार्टी रहेको र अझ व्यवस्थित गरी अगाडि बढाउन आफ्नो उम्मेदवारी रहने बताए । ‘नीति, विचार, सिद्धान्तअनुरूप अगाडि बढ्छु, अहिले गुटका रूपमा नभएर पार्टी कार्यकर्ताको भावनाअनुरूप मेरो उम्मेदवारी रहन्छ । कार्यकर्ताका साथमा नै म अगाडी बढ्छु,’ उनले भने ।
लुम्बिनीमा अध्यक्ष पदका आकांक्षी दुवैले आफूहरू कुनै गुटगत रूपमा नरहेको दाबी गरे पनि लेखक ऋषि आजाद गुटगत स्थिति देखिएको बताउँछन् । पार्टी केन्द्रमा ओलीलाई नै नेता मानेर गुटरहितको स्थिति देखिए पनि प्रदेश अधिवेशनमा गुटगत स्थिति देखिएको र महासचिव पोखरेलको भूमिका बढी देखिएको उनको ठम्माइ छ ।
एक हजार चारजना प्रतिनिधि छनोट भएका छन् । प्रतिनिधितर्फ मनोनीत गर्नेबाहेक छनोटको काम सकिएको छ । महिला ३० प्रतिशत, उत्पीडित जातिबाट १५ प्रतिशत र युवाबाट २० प्रतिशतभन्दा पनि बढी प्रतिनिधि छनोट भएका छन् ।
एमालेले लुम्बिनीमा अधिवेशनबाट दुई सय पाँचजनाको प्रदेश कमिटी चयन गर्दै छ । यसअघि अहिले केन्द्रबाटै बनेको कमिटीमा ६ सय एकजना छन् । प्रदेशका १२ जिल्लाबाट प्रतिजिल्ला पाँचजनाका दरले ६० जना, संघीय निर्वाचन क्षेत्रबाट प्रतिक्षेत्र पाँचजनाका दरले एक सय ३० जना र खुलाबाट पाँच पदाधिकारीसहित १५ जना रहने गरी दुई सय पाँचजनाको प्रदेश कमिटी चयन हुनेछ ।
प्रदेशबाट उपाध्यक्ष पौडेलसहित पदाधिकारी तहमा उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्ट पनि छन् । सहमतिका लागि पौडेल, पोखरेल, ज्ञवाली र विष्ट सहमत भएर अध्यक्ष ओलीलाई नै ‘कन्भिन्स’ गर्नुपर्ने हुन्छ । अहिले चर्चामा रहेका दुईमध्ये एकलाई ‘ग्रिन सिग्नल’ दिएर व्यवस्थापन गर्ने वचन दिएको अवस्थामा सम्भावित चुनाव टरेर सदस्यबाहेक पदाधिकारीमा चुनाव हुन नहुने कतिपय नेताहरूको बुझाइ छ ।
केन्द्रीय सचिवालयको पछिल्लो निर्णयले प्रदेश अध्यक्षमा उम्मेदवारहरूको आकर्षण बढे पनि पार्टीले पहिलो प्राथमिकता सर्वसम्मतिमै दिएको स्थायी समिति सदस्य तथा प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए । प्रदेशका अध्यक्षसहित पदाधिकारी र सदस्यका सबै आकांक्षी पालिका तहमा हुने चुनावबाटै निर्वाचित भएर आउनुपर्ने मापदण्ड बनाएका कारण पनि पार्टीको मूल नेतृत्वले प्रतिस्पर्धालाई निषेध गर्न नहुने बलियो मत छ । त्यही कारण एमालेले अहिलेलाई सहमति र चुनाव दुवै विकल्प खुला राखेको छ ।
एमालेभित्र सिद्धान्त, नीति र कार्यक्रममा कुनै विवाद नभएकाले प्रदेश अधिवेशनहरूमा टिम निर्माण नहुने, तर कतिपय आकांक्षीले आफूलाई बलियो प्रतिस्पर्धी देखाउनका लागि मात्र रणनीतिक रूपमा मूल नेतृत्व र पदाधिकारी तहका नेताहरूसँग जोडेर प्रचार गर्न सुरु गरेको हुन सक्ने पनि गौतमले बताए ।