कोसी प्रदेश सभामा सोमबार देखिएको रमितालाई कसरी हेर्नुभएको छ ?
कोसीमा बाहिरबाट मात्र होइन, भित्रबाट पनि रमिता र तमासा देखियो । दलहरूले संविधान र प्रचलित कानुको हुर्मत लिने काम गरेका छन् । यसमा सत्तपक्ष र प्रतिपक्ष दुवै बराबरका भागीदार छन् । तर, सभाको अध्यक्षता गरिरहेका व्यक्तिले मत हाल्नु या उनलाई मत हाल्न लगाउनुचाहिँ संसारमा कहीँ पनि हुन नसक्ने परिघटना हो । सभामुख या अध्यक्षता गर्ने व्यक्तिले मत बराबर आएको अवस्थामा बाहेक मत दिन मिल्दैमिल्दैन । कोसीको घटनाले गलत नजिर स्थापना गरेको छ । यसले भोलिका पिँढीले गर्ने काममा समेत नकारात्मक प्रभाव छाडेको छ । यसले प्रदेशको औचित्यमाथि प्रश्न उठाउनेहरूलाई थप बल दिएको छ ।
सोमबारको विश्वासको मतको कानुनी हैसियत कति छ ?
यसको कुनै पनि संवैधानिक तथा कानुनी हैसियत छँदै छैन । सभामुखले कस्तो अवस्थामा मत दिन पाउँछ भन्नेबारे संविधानमा प्रस्ट व्यवस्था छ । सर्वोच्च अदालतको पछिल्लो आदेशको मर्म पनि त्यही हो । सभामुखको हकमा संविधानको जुन धारा र जुन कानुन आकर्षित हुन्छ, अध्यक्षता गर्ने व्यक्तिको हकमा पनि तिनै धारा र कानुन आकर्षित हुने हुन् ।
नेपालका नेताहरूले संविधान पढ्दैनन् कि बुझ्दैनन् ? किन पटक–पटक संविधानविपरीत काम गर्छन् ?
सबैजसो दलको निकै ठूलो र लामो पृष्ठभूमि छ । त्याग र बलिदान पनि छ । अहिलेको संविधान र व्यवस्था उनीहरूकै कारण सम्भव भएको हो । तर, हाम्रा अहिलेका नेतामा अक्षमता छ । अदूरदर्शिता पनि छ । उहाँहरूमा त्याग र बलिदान पटक्कै छैन । उहाँहरूले राजनीतिलाई पदसँग सट्टापट्टा गर्नुहुन्छ । सत्तामा आफूबाहेक अरू पुगेको देख्नै सक्नुहुन्न ।