सरकारलाई वित्तीय रूपमा जिम्मेवार बनाउन, बजेट तथा आर्थिक नीतिको गुणस्तर प्रवर्द्धन र सार्वजनिक जवाफदेहिता विस्तार गर्न संसदीय निरीक्षण जरुरी
राज्यव्यवस्थाको सुरुवातदेखि नै सार्वजनिक कोष प्रयोगको विषय संवेदनशील बन्दै आएको छ । कौटिल्यका अनुसार प्रत्येक सूर्योदयपछिको एक घन्टा भारदारहरू राजासमक्ष उपस्थित भई अघिल्लो दिनको आम्दानी र खर्चको समीक्षा गर्ने चलन थियो । शुक्रनीतिअनुसार राजाका आठ काममध्ये एक न्यायपूर्ण कोष व्यवस्थापन गर्नु थियो । युरोपमा सन् १०४० देखि नै राजकीय कोषको हरहिसाब गर्न थालियो । सन् १२१५ म्याग्नाकार्टा जारी भएपछि भने यसमाथि जनताको नियन्त्रण कायम गर्ने परिपाटी सुरु भयो र जनप्रतिनिधित्वविना कर लगाउन र उनीहरूकै स्वीकृतिबेगर खर्च गर्न पाइनेछैन भनियो । यसैको जगमा आधुनिक लोकतन्त्र र सार्वजनिक उत्तरदायित्वको विकास भयो ।
लोकतान्त्रिक मुलुकमा सार्वजनिक कोषमाथि संसद्ले दुुई प्रकारले निगरानी राख्छ– एक, संविधानबाट स्थापित प्रक्रियाबाट र अर्को संसदीय समितिका आन्तरिक विधिबाट । संवैधानिक आर्थिक कार्यप्रणाली, सर्वोच्च लेखापरीक्षण संस्थाबाट परीक्षण र अन्य संवैधानिक निकायबाट गरिने अनुसन्धान संवैधानिक प्रक्रिया हो । संसदीय समितिबाट गरिने छलफल, निर्देशन, अनुसन्धान, बजेट कार्यान्वयनको जानकारी र लेखा प्रतिवेदनमाथि सार्वजनिक लेखा समितिमा छलफल र निर्देशन कार्यान्वयनको जानकारीलगायतका विधि संसदीय समितिका विधि हुन् । दुवै प्रकारका निरीक्षणको उद्देश्य सरकारलाई वित्तीय रूपमा जिम्मेवार बनाउनु, बजेट तथा आर्थिक नीतिको गुणस्तर प्रवर्द्धन गर्नु, उचित प्रक्रियाको अवलम्बन गराउनु र सार्वजनिक जवाफदेहिता विस्तार गर्नु हो ।
यस्तै, संसदीय निरीक्षणका पनि दुुई आयाम छन् । बजेट प्रक्रियामा संलग्नतामार्फत र बजेट तर्जुमापश्चात्को निरीक्षण । बजेटले संसदीय स्वीकृति नपाईकन कार्यकारीले काम गर्न सक्दैन । तर, अधिकांश मुलुक बजेट मेकिङ वा बजेट रिकोमेन्डिङ पार्लियामेन्टभन्दा बजेट एप्रुभिङ पार्लियामेन्टका रूपमा आफू सूचित भएर सरकारलाई काम गर्ने वातावरण मिलाइदिन्छन् । अर्को अर्थमा धेरै मुलुकमा कार्यकारी बजेटको प्रचलन छ । नेपालमा पनि कार्यकारी ढाँचाको बजेट छ ।
सरकारले जनभावनाअनुरूप संवैधानिक प्रक्रिया अपनाएर स्वीकृतिका लागि संसद्मा बजेट प्रस्तुत गर्दछ र संसद् आफू विश्वस्त भएर अनुमोदन गरी कार्यान्वनको आदेश दिन्छ । केही समयअघिबाट पूर्वबजेट छलफल गर्ने प्रचलन भए पनि यो निकै औपचारिक छ । प्राविधिक रूपमा बजेट तर्जुमा सकिने समयमा संक्षिप्त रूपमा सिद्धान्त र प्राथमिकतामाथि मात्र छलफल हुँदै आएको छ ।
नेपालको संविधानले गुठी राजस्वबाहेक सबै प्राप्तिलाई संघीय सञ्चित कोषमा दाखिल गर्नुपर्ने भनेको छ । तर, कार्यसञ्चालन कोषका नाममा धेरै कोषलाई सञ्चित कोषबाट बाहिर राखिएको छ । खासमा आकस्मिक कोष सञ्चालनमा ल्याउनुपर्थ्यो ।
चालू वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफलका वेला यो औपचारिक प्रक्रिया सुधारका लागि सांसदहरूले सुझाव दिएका छन् । सोही सुुझावअनुरूप अब फागुनमा सिद्धान्त र प्राथमिकतामाथि छलफल गरेपछि मात्र बजेट सीमा तथा मार्गदर्शन विषयगत मन्त्रालय/निकायमा पठाउने प्रतिबद्धता गरिएको छ । केही लोकतान्त्रिक मुलुकले बजेटलाई वास्तविक र जनभावनाको प्रतिनिधित्व गराउन संसद्भित्र विज्ञ संयन्त्र स्थापना गरी संसद्लाई सहयोग पुर्याउने काम गर्दै आएका छन् । युरोप तथा अमेरिकी मुलुकमा संसद्मा विज्ञहरूको बजेट अफिस नै राख्न थालेका छन् । जस्तो कि, अमेरिकमा कंग्रेसनल बजेट अफिस, मेक्सिकोमा बजेट अध्ययन संसदीय केन्द्र, युुगान्डामा संसदीय बजेट कार्यालय, कोरियामा बजेटसम्बन्धी संसदीय कार्यालय (एनएबिओ) आदि ।
अमेरिकामा सन् १९४१ देखि क्यालिफोर्निया राज्यमा बजेटको संदीय अभ्यास सुरु भएपछि १९७४ देखि मात्रै संघीय तहमा यसको अभ्यास भएको थियो । अझ त्यहाँको प्रतिस्पर्धात्मक संघीय ढाँचाले बजेट अभ्यासलाई नयाँ प्रयोग दिई प्रणाली सुधार गरेको थियो । नेपालका प्रदेश तथा स्थानीय सरकारले यस प्रकारको उत्कृष्टताको खोजी गरी संघलाई प्रयोगको बाटो देखाउन सक्छन् । क्यानडामा राजनीतिक तहमा नभई व्यावसायिक रूपमा संसदीय बजेट प्रक्रियालाई व्यवस्थित गर्ने परिपाटी छ ।

जर्मनीमा दोस्रो सभा बुन्डेसराटले ६ हप्तासम्म लगाएर विभिन्न प्रदेशको भावना सम्बोधनको विवेचना गरी पहिलो सभा बुन्डेस्टागमा सहमतिका लागि सुुझाव पठाउँछ । नेपालको बजेट प्रणालीलाई पुनर्संरचना गरी बजेट सिद्धान्त तथा प्राथमिकतालाई विस्तृत आधार दिने घोषणा गरिसकेकाले अन्य लोकतान्त्रिक मुलुकले अपनाएका प्रक्रियालाई अध्ययन गरेर कुन ढाँचामा जाँदा उपयुक्त हुन्छ भन्ने निर्क्योल गर्नुपर्ने अवस्था छ । कारण, बजेट तयारीका प्रक्रियामा संसदीय निरीक्षण विस्तार हुन सकोस् । अन्तर्राष्ट्रिय बजेट साझेदारी र फ्रिडम फोरमले गरेको अध्ययनमा बजेट प्रक्रिया सुधारको क्षेत्र पहिचान गरिदिएको छ । बजेट पारित भएपछि हुने निरीक्षणमा सार्वजनिक लेखा समितिको भूमिका महत्वपूर्ण रहन्छ । ‘वेस्ट मिनिस्टिर’ ढाँचाको संसदीय लोकतन्त्रमा दृष्टिगोचर प्रभावकारिताका लागि विपक्षी दलबाट सार्वजनिक लेखा समितिको सभापति चयन गर्ने चलन छ । केही मुुलुकले भने लेखा समितिमा लामो अनभुव भएकालाई सभापति बनाउने गरेका छन् ।
नेपालमा विपक्षी दलबाट सभापतित्व गर्ने प्रचलन छ । विपक्षी दलबाट सभापति चयन गर्दा सरकारलाई जवाफदेही बनाउन सजिलो पर्ने र सकारात्मक नतिजा देखिने मान्यता छ । सर्वोच्च लेखापरीक्षण संस्थाको संवैधानिक विधिबाट निष्पक्ष र स्वतन्त्र लेखापरीक्षण गरेर लेखा समितिलाई संसदीय स्वीकृतिको विवेचना गर्ने आधार दिइन्छ ।
नेपालमा प्रस्तुत आयव्यव विवरण र वित्तीय कार्यक्रमको महालेखा परीक्षकबाट नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यका आधारमा लेखापरीक्षण गरिन्छ । संघीयता कार्यान्वयनपछि प्रदेश तथा स्थानीय सरकारको वित्तीय कारोबारको परीक्षण पनि महालेखा परीक्षणले गरी विधायिकी निरीक्षणलाई सजिलो बनाउने गरेको छ ।
कार्यप्रकृतिका आधारमा सार्वजनिक लेखा समिति र अर्थ समिति सार्वजनिक कोषप्रति निरीक्षण गर्ने प्रमुख संयन्त्र हुन् । बजेटपूर्व अर्थ समिति र बजेटपछि सार्वजनिक लेखा समितिको सक्रियता संसदीय प्रक्रियामा महत्व राख्दछन् । तर, नेपालमा न बजेट वास्तविक बन्न सक्यो, न नीति संयन्त्र नै बने । राजस्व परिचालन राम्ररी भएन । अकोषित आयोजनाले स्थान पाए । संशोधन विनियोजनमा भौगोलिक, प्रादेशिक र विषय क्षेत्रगत सन्तुलन नभएकाले विकास व्यवस्थापनमा न्याय भएको छैन । नागरिक बजेट कार्यान्वयनमा आएन । यस्ता विषयलाई सुधार गर्न अर्थ समितिको सक्रियता चाहिन्छ । बजेट कार्यान्वयनका चरणमा देखिने कमजोरी र विसंगति सुधार गर्न सार्वजनिक लेखा समिति महत्वपूर्ण संयन्त्र हो । दशकभन्दा अघिदेखिका महालेखाका वार्षिक प्रतिवेदनहरूमा छलफल गरिएको छैन ।
बेरुजु तथा आर्थिक अनियमिततामा तत्काल छलफल नहुँदा आर्थिक अनुशासन कायम गर्न सकिएको छैन । प्रतिवेदनको लामो अवधिसम्म छलफल नहुँदा असुलउपर तथा अनुशासन कायम गर्नुपर्ने कुरा पाखा परेका छन् । सुधार गर्नुपर्ने नीतिगत विषय पनि ओझेलमा छ । शोधभर्ना लिनुपर्ने ठूलो धनराशि र राजस्व बक्यौताउपर कारबाही हुन सकेको छैन । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, मध्यकालीन खर्च संरचना, आयोजना बैंक राम्ररी कार्यान्वनमा आएको छैन ।
वित्तीय कारोबारमाथि संसदीय दृष्टिगोचरमा अग्रसरता देखाउनुपर्ने केही क्षेत्र बाँकी छन् । संविधानले गुठी राजस्वबाहेक सबै प्राप्तिलाई संघीय सञ्चित कोषमा दाखिला गर्नुुपर्ने भनेको छ । तर, कार्यसञ्चालन कोषका नाममा धेरै कोषलाई सञ्चित कोषबाट बाहिर राखिएको छ । खासमा आकस्मिक प्रयोजनका लागि धारा १२४ को आकस्मिक कोष सञ्चालनमा ल्याउनुपर्थ्यो । सरकारी कारोबारमा धेरै कोष भन्नका लागि जिल्लाभरि एकल खाता भुक्तानी प्रणाली लागू छ । तर, कार्यसञ्चालन कोषहरूलाई सञ्चित कोषबाहिर राख्दा संविधान र लेखा प्रणालीको सिद्धान्त अभ्यासमा आएको छैन ।
संघीय विभाज्य कोष व्यवस्थापनका लागि संघीय सरकारका तर्फबाट महालेखा नियन्त्रकले कार्य गर्नुपर्ने हो । तर, दुुई दर्जनभन्दा बढी हिमाल आरोहणको सलामी शुल्क एक गैरसरकारी संस्थाले असुल गर्दै आएको छ । संसदीय स्वीकृति नचाहिने वा संसद्ले नचिन्ने कोषमा प्रत्यक्ष निगरानी हुनुपर्छ ।
केही वर्षअघिदेखि सञ्चित कोष घाटामा छ । बजेटभन्दा बाहिरका संघ, संस्था, समिति र संस्थानका कारोबारमा वित्तीय अनुशासन कमजोर देखिएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले औँल्याइरहेको छ । आर्थिक क्रियाकलापको ३६ प्रतिशतजति अनौपचारिक छ । शासकीय तहका विनियोजनमा दोहोरोपन छ ।
विकास साझेदारहरू आफ्नै प्रतिबद्धताअनुरूप विकास साझेदारी गरिरहेका छैनन् । नेपाली जनताका लागि बाह्य समाजबाट आएको साधन बजेट प्रणालीमा मात्र नसमेटिएको होइन, राष्ट्रिय प्राथमिकता र जवाफदेहिताबाट पनि बाहिर छन् । आर्थिक नीतिहरूको प्रभावकारिता विश्लेषण गरिएको छैन । संसदीय समितिले दिइएका निर्देशनको परिपालनको समीक्षा गरिएको छैन । अधिवेशन नभएको समयमा गर्नुपर्ने अध्ययन, अनुसान्धान र अन्वेषण गरी सुधारका नयाँ क्षेत्र पहिचानसमेत भएका छैनन् ।
(मैनाली नेपाल सरकारका पूर्वसचिव हुन्)