लम्पी स्किनविरुद्धको खोप स्वदेशमै उत्पादन गर्ने तयारी

बिहिबार, ३२ साउन, २०८०
डिजिटल संस्करण
लम्पी स्किनविरुद्धको खोप स्वदेशमै उत्पादन गर्ने तयारी

फाइल तस्बिर

मुलुकभर पशु चौपायामा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको खोप नेपालमै उत्पादन गर्ने प्रक्रियाको थालनी गरिएको छ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मुलुकमै उक्त खोप उत्पादन गर्न आवश्यक ‘मास्टर सिड भाइरस’ र खोप उत्पादन प्रविधि उपलब्धताका लागि विभिन्न मुलुक तथा दातृ निकायसँग समन्वय गरिरहेको जनाएको छ। यसका लागि प्रस्तावको मस्यौदा तयार गरी विभागबाट मन्त्रालयमा पेस गरिएको छ।

कृषिमन्त्री डा. बेदुराम भुसालले हालैको आफ्नो भारत भ्रमणका क्रममा भारतीय समकक्षी तथा अन्य सरोकारवाला निकायसँग भएको समन्वयमा स्वदेशमै लम्पी स्किन रोगविरुद्धको खोप उत्पादन गर्न आवश्यक ‘मास्टर सिड भाइरस’ निःशुल्क उपलब्ध गराउन समन्वय भएको जानकारी गराए।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उनले भने, ‘यसका लागि निरन्तर पहल भइरहेको छ, आगामी दिनमा पनि लिम्पी स्किन रोगको संक्रमण फैलिन नदिन मुलुकभित्रै आवश्यक मात्रामा खोप उत्पादन गर्ने तयारीमा लागेका छौँ।’

लम्पी स्किन रोगको हालको प्रकोप नियन्त्रणका लागि नेपाल कृषि अनुसन्धान परिषद्लगायत अन्य क्षेत्रका विज्ञ प्राविधिकसमेतको उपस्थितिमा यस रोग नियन्त्रणका लागि लम्पी स्किन (निसिङ स्ट्रेन) खोपको अतिरिक्त ‘गोट पक्स’ खोप आयात र प्रयोग गर्न सहमति दिइएको छ।

‘राष्ट्रव्यापी रूपमा बृहत् खोप कार्यक्रम सञ्चालन गर्न लम्पी स्किन रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउन छिमेकी राष्ट्र भारत र चीनसँग समन्वय गरिएको छ,’ मन्त्री भुसालले भने। 

हाल जोर्डन, तान्जानियाँ र टर्कीबाट विभिन्न पैठारीकर्ताहरूले यसको खोप आपूर्ति गरिरहेका छन्। खोप आयातका लागि पशु सेवा विभागमा आवेदन प्राप्त हुनासाथ तत्काल पैठारीका लागि अनुमति दिने प्रक्रियालाई सुचारु गराइएको छ।

नेपालमा पहिलोपटक यो रोग २०७७ साल असारमा मोरङको सुन्दरहरैँचामा गाईमा देखिएको थियो। यो रोगको संक्रमण गाई, भैँसी, गोरु, राँगो, बाच्छाबाच्छी, पाडापाडीमा देखिएको छ। नेपालमा ७७ वटै जिल्लामा संक्रमण पुष्टि भएकोमा हाल मनाङ र मुस्ताङमा यो रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। 

हालसम्म यस रोगबाट संक्रमित पशुको संख्या १३ लाख पाँच हजार तीन सय ६१ छ भने उपचारपश्चात् निको भएका पशुको संख्या १० लाख ८२ हजार एक सय ५९ छ। हाल सक्रिय संक्रमित पशुको संख्या एक लाख ७५ हजार पाँच सय ५३ रहेको मन्त्रालयको तथ्यांकमा छ।

लामखुट्टे, झिँगा, किर्नालगायतका टोक्ने किराले यो रोग सार्ने हुँदा गोठ सफा राख्न, गोठवरिपरिका पानीका खाल्डाखुल्डी पुर्न र गोठ निःसंक्रमण गर्न पशुधनीहरूलाई अनुरोध गरिएको छ। प्रभावित किसानहरूलाई राहत प्रदान गर्नेसम्बन्धी मापदण्डको मस्यौदा पशु सेवा विभागबाट तयार गरी पेस मन्त्रालयमा छलफलको क्रममा छ। रासस 

सुझावित समाचार