जिममा गर्न नहुने गल्ती

बुधबार, ३१ साउन, २०८०
डिजिटल संस्करण

व्यायामका धेरै फाइदा छन् । तर, दक्ष प्रशिक्षकको सल्लाहविना नै आफूखुसी जिम गर्दा विभिन्न समस्या देखिन सक्छ । व्यवस्थित तरिकाले जिम नगर्दा कतिपयमा यसको उल्टो असर पनि देखिन सक्छ ।

विशेषगरी, भर्खरै जिम थाल्नेहरू यस विषयमा सतर्क रहनुपर्छ । कतिपय मानिस जिम जानासाथ ठूला–ठूला फलामका तौल उचाल्न थाल्छन् । यसले एकातर्फ मसल्स पेनको सम्भावना बढाउँछ । अर्कोतर्फ, दिनभर थकित भइन्छ । बरु, उपयुक्त टेक्निक लगाएर प्रशिक्षकको सल्लाहमा थोरै–थोरै गर्दै तौल बढाउँदै उचाल्नुस् । 

कतिपय अवस्थामा जिममा पहिल्यै अभ्यस्त भएका मानिसलाई देखेर भर्खरै जिम थाल्नेहरू नर्भस हुने गर्छन् । आफूले तौल उचाल्दा कसैले हेरिरहेको छ कि भन्ने डर पनि उनीहरूमा हुने गरेको छ । कतिपयले अरूले तौल उचालेको देखेर त्यहीअनुसार तौल उचाल्ने पनि गरेका छन् ।

तर, अरू कसैलाई हेरेर होइन, आफ्नो प्रशिक्षकको सल्लाह र शरीरको अवस्था बुझेर जिम गर्ने हो । कसले के भन्छ भन्ने बिर्सनुस् र आफ्नो काममा मात्रै ध्यान केन्द्रित गर्नुस् । तपाईं अभ्यस्त भएपछि अरू मानिसले पनि तपाईंसँग टिप्स माग्न थाल्नेछन् । 

मानिसहरू सुरुमा निकै मिहिनेतका साथ जिम गर्छन् । तर, बिस्तारै छाड्दै जान्छन् । छोटो समय जिम गर्दैमा आकर्षक शरीर बन्दैन । यसका लागि लामो अवधिसम्म उस्तै लगावका साथ मिहिनेत गर्न जरुरी छ ।

अर्को, तपाईंले जीवनशैलीमा पनि सुधार ल्याउन जरुरी छ । प्रोटिन वा अन्य खानेकुरामा अनावश्यक खर्च गर्नबाट बच्नका लागि तपाईंले फिटनेस ट्रेनर वा डाइटिसियनसँग परामर्श लिनुस् । 

See More On

सुझावित समाचार