डोल्पाका शिक्षक आन्दोलित : शिक्षा विकास र प्रशासनमा बुझाए ज्ञापनपत्र

मंगलबार, ३० साउन, २०८०
डिजिटल संस्करण

हिमाली जिल्ला डोल्पाका शिक्षक आन्दोलित भएका छन्। संघीय संसदमा पेस हुने तयारीमा रहेको संघीय शिक्षा ऐनमा अनुदान, राहत, बालविकास, विद्यालय कर्मचारी,  साबिक उच्च मावि,  प्राविधिक धार र अनुदान कोटामा कार्यरत शिक्षकका मागलाई बेवास्ता गरिएको भन्दै आन्दोलित भएका हुन्।

शिक्षक महासंघको केन्द्रीय सर्कुलरअनुसार प्रथम चरणको आन्दोलनअन्तर्गत मंगलबार शिक्षा विकास तथा समन्वय एकाइ र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको शिक्षक महासंघ डोल्पाका अध्यक्ष बालकृष्ण डाँगीले बताए। संघीय शिक्षा ऐनमा श्रमजीवी शिक्षकका विशेष मुद्दालाई उपेक्षा गरिएकाले जिल्लाभरिका झन्डै दुई दर्जन शिक्षक सदरमुकाम दुनै पुगेर शान्तिपूर्ण आन्दोलन गरेको डाँगीको भनाइ छ।

देशभरिका शिक्षकको छाता संगठन शिक्षक महासंघ र सरकारबीच भएका ३० बुँदे र ५१ बुँदे सहमति कार्यान्वयन गर्न शिक्षकले माग गरेका छन्। साथै देशभरि पठनपाठनमा सक्रिय ४५ हजार राहत शिक्षकलाई सामान्य आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने उनीहरूको माग छ।

आफूहरूको जायज माग सम्बोधन नभए देशव्यापी रूपमा सशक्त आन्दोलन गर्ने शिक्षकहरूको चेतावनी छ। जिल्लाभरिका शिक्षक आन्दोलनमा होमिएपछि डोल्पाका विद्यालयहरूमा पठनपाठन प्रभावित भएको छ।

सुझावित समाचार