एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल युरोप भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । गत २२ साउनमा युरोप भ्रमणमा निस्केका नेपाल सोमबार बिहान काठमाडौं आइपुगेका हुन् । उनी स्विट्जरल्यान्ड र स्पेनको भ्रमणपछि नेपाल स्वदेश फर्किएका हुन् । क्रोसिया र बेलायत भ्रमण भने नेपालले स्थगित गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर नेपालले पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन युरोप गएको, तर भाग्न लाग्यो, भाग्यो भन्ने हल्ला चलेपछि भ्रमण छोट्याएर फर्किएको बताए । उनी १ भदौमा फर्किने कार्यक्रम थियो । उनले भने, ‘माधव नेपाल भाग्ने खालको मान्छे होइन भनेर बुझ्नुपर्थ्याे, तर्सेर भाग्ने खालको मान्छे माधव नेपाल हुँदै होइन । राजाले गिरफ्तार गर्दा त नभाग्ने मान्छे हुँ म । कुनै गल्ती नगरेको, अपराध नगरेको, भ्रष्टाचार नगरेको मान्छे किन डराउनु, किन भाग्नु ? कसैले चुनौती दिइसकेपछि सीधा सामना गर्ने मेरो बानी छ ।’
उनले आफू कम बोल्ने र बोलेपछि तह लगाएरै छाड्ने स्वभाव आफ्नो भएको पनि बताए । ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा. बाबुराम भट्टराईलाई अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यसको भोलिपल्ट नेपाल युरोप भ्रमणमा निस्केका थिए ।