सांसद सुनील शर्मा रिहा, सिआइबीले सभामुखलाई पठायो चिठ्ठी

शुक्रबार, २६ साउन, २०८०
डिजिटल संस्करण

नक्कली शैक्षिक प्रमाणपत्र कसुरमा पक्राउ परेका कांग्रेस सांसद डा. सुनीलकुमार शर्मा रिहा भएका छन् । 

काठमाडौं जिल्ला अदालतको आदेशबमोजिम प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सांसद शर्मालाई माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाडेको हो । 

सिआइबीले यसबारे शुक्रबारै सभामुख देवराज घिमिरेलाई पत्र पठाई जानकारी गराएको छ । 

शैक्षिक योग्यताको प्रमाण पत्र कीर्ते गरेको कसूरमा सिआइबीले बिहीबार सांसद शर्मालाई पक्राउ गरेको थियो । संविधानमा फौजदारी कसुरमा कुनै सांसद पक्राउ परे तत्काल सभामुखलाई जानकारी गराउनुपर्ने व्यवस्थाअनुरूप सिआइबीले सभामुख घिमिरेलाई पत्र पठाएर जानकारी गराएको थियो ।  

शर्मालाई लिखतसम्बन्धी कसूर मुद्दामा हिरासतमा राखी अनुसन्धान गर्न सिआइबीले अनुमति मागे पनि जिल्ला अदालतले दिएन । ‘तारेखमा राखी मुद्दा अनुसन्धान गर्नु’ भन्ने आदेशका आधारमा शर्मालाई हाजिर जमानीमा रिहा गरेको सिआइबीले सभामुख घिमिरेलाई त्यसको जानकारी गराएको हो ।

सुझावित समाचार