सरकारले आगामी असोजदेखि भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने गरी तयारीलाई तीव्रता दिएको छ । १ असोजदेखि नै सुरु गर्ने भनिए पनि वर्षाका कारण कतिपय काम गर्न नसकिएकाले केही दिन ढिला हुने यातायात व्यवस्था विभागले जनाएको छ ।
सूर्यविनायक–रत्नपार्क द्रुतमार्गमा पहिले सडक विभागले काम गर्ने र त्यो सकिएपछि यातायात व्यवस्था विभाग तथा अरू निकायको काम गर्ने यातायात विभागका प्रवक्ता ईश्वरदत्त पनेरूले जानकारी दिए । सडक विभागले त्यसका लागि आवश्यक सडक खण्ड छुट्याएर ‘रोड मार्किङ’ गर्ने उनले बताए ।
द्रुत बस सेवाका लागि यातायात व्यवसायीले सवारीसाधन उपलब्ध गराउन तयारी अवस्थामा रहेको र ट्राफिक प्रहरी पनि तयारी अवस्थामा रहेको छ । उनले भने, ‘सबैभन्दा पहिले सडकको काम हुनुप¥यो, त्यो सकिएपछि बैठक बसेर कार्यान्वयन कहिलेदेखि गर्ने भन्ने निर्णय हुनेछ ।’
द्रुतमार्गका लागि सडकको दुवैतर्फको लेन छुट्याइने गरी तयारी गरिएको छ । काठमाडौं उपत्यकामा अत्यधिक सवारीसाधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्यमा पुग्न कठिन भएपछि मन्त्रालयले द्रुत बस सेवा सञ्चालनको व्यवस्था गर्न लागेको हो । पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म बस सञ्चालन गर्न लागिएको हो । आगामी दिनमा अन्य रुटमा पनि चलाउन सकिने विभागले जनाएको छ ।