इराकयुद्ध भएको करिब नौ महिना अर्थात् युद्धले इतिहासमा स्थान बनाइसकेको अवस्थामा डिसेम्बर २००३ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसलाई के तपाईंको सरकारले अन्तर्राष्ट्रिय कानुन पालना गरेको छ ? भनेर प्रश्न गरिएको थियो । ‘अन्तर्राष्ट्रिय कानुन भनेर तपाईंले के भन्न खोज्नुभएको हो, त्यसबारे मलाई थाहा छैन । म मेरै वकिलसँग परामर्श लिन्छु’ भन्दै परिहासपूर्ण जवाफ दिएका थिए । बुसको घातक सैन्य साहसिक कारनामाले प्रस्ट रूपमा अन्तर्राष्ट्रिय मूल्य–मान्यता एवं संस्थाको महत्व मात्रै देखाएन, यसले यी मान्यतालाई लत्याउँदाको प्रभावसमेत झल्काएको थियो । तर, अहिले हामीले फेरि त्यसवेला सिकेको पाठ बिर्सिसकेका छौँ ।
दोस्रो विश्वयुद्धयता राष्ट्र संघ अन्तर्राष्ट्रिय विधिमा आधारित व्यवस्थाको मूल स्तम्भ बनेको छ । रासायनिक हतियार, जैविक युद्ध, क्षेत्रीय स्थिरतालगायत मुद्दालाई कैयौँ अन्य अन्तर्राष्ट्रिय सम्झौताले सम्बोधन गरे पनि विश्व शान्ति एवं स्थिरता कायम गर्न राष्ट्र संघलाई नै विश्वास गरिएको थियो । राष्ट्र संघलाई थोरै समयका लागि भए पनि प्रभावकारी बनाउनुमा विश्वका उदार लोकतन्त्र र अमेरिकाका दुवै डेमोक्रेटिक र रिपब्लिकन सरकारको अविचलित समर्थनले मूख्य भूमिका खेलेको छ । अन्तर्राष्ट्रिय व्यवस्थामा अमेरिका लामो समयदेखि द्वैधताको रबैया अपनाइरहेको पनि सत्य हो ।
यसलाई अमेरिकाले लामो समयदेखि अन्तर्राष्ट्रिय फौजदारी अदालतमा सहभागी हुन अस्वीकार गरिरहेको तथ्यले पुष्टि गर्छ । त्यसबाहेक अमेरिकाले विश्व व्यवस्थाका सबै नियम–कानुन पालना गरेको छ, जबीक दोस्रो विश्वयुद्धपछि अथाह राजनीतिक एवं आर्थिक शक्ति जोडेको अमेरिकाले जे मन लाग्यो, त्यही गर्न सक्थ्यो । तर, उसले अन्तर्राष्ट्रिय विधि पालनाको उल्लंघन बुसले इराकमा अतिक्रमण गर्ने निर्णयसँगै सुरु गर्यो ।
बुसको निर्णयमा व्यापक अन्तर्राष्ट्रिय विरोध थियो र निर्णयलाई राष्ट्रसंघको सुरक्षा परिषद्को स्वीकृति पनि थिएन । यसो गरेर अमेरिकाले आफ्नो विश्वसनीयता गुमायो र विधिमा आधारित विश्व व्यवस्थाको अवमूल्यन गर्यो । नतिजा कैयौँ लेटिन अमेरिकी र अफ्रिकी राष्ट्रले युक्रेनमाथि रुसी अतिक्रमणको निन्दा गर्न आवश्यक ठानेनन् । भारतसमेतले तटस्थ नीति अपनायो र अमेरिकी नेतृत्वमा भएको नाकाबन्दीको फाइदा उठाउँदै छुटसहित रुसी तेल खरिद गरिरहेको छ । भारत यस्तो अवस्थामा तेल खरिद गरिरहेको छ, जब भारतको प्रमुख भूराजनीतिक प्रतिद्वन्द्वी चीनले रुससँग घनिष्टता बढाइरहेको छ ।
तीव्र अन्तर्राष्ट्रिय विरोध र राष्ट्रसंघीय सुरक्षा परिषद्को बर्खिलाप बुसले उतिखेर इराकमा आक्रमण गरेका कारण अमेरिकाले आफ्नो विश्वसनीयता गुमायो
२१औँ शताब्दीका जलवायु परिवर्तन र सामूहिक बसाइँसराइजस्ता महत्वपूर्ण विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्ने क्रममा उदारवादी लोकतन्त्रले ठूलो चुनौतीको सामना गरिरहेका छन् । किनभने इराक युद्धले सिर्जना गरेको अविश्वास र विभाजनको विरासतले अन्तर्राष्ट्रिय सम्झौता लागू गर्न ठूलो व्यवधान निम्त्याइरहेको छ । भविष्यका आप्रवासी दबाबलाई प्रभावकारी रूपमा सामना गर्न दक्षिणी गोलार्धका न्यून आय भएका देशसँग सहकार्य र अन्तर्राष्ट्रिय सम्झौता स्थापना गर्न आवश्यक छ ।
अफ्रिकाको जनसंख्या सन् २०५० भित्रमा दोब्बर हुने अनुमान गरिएको छ । अफ्रिकाका जोखिमपूर्ण क्षेत्रका करोडौँ मानिसलाई राजनीतिक अस्थिरता, युद्ध र जलवायु परिवर्तनले निम्त्याएको आर्थिक दुरवस्थाको सिकार हुनबाट जोगाउन युरोपेली उदार लोकतन्त्रले नवप्रवर्तनीय राज्यसंयन्त्र, सुरक्षा हस्तक्षेप र ठोस विकास सहयोग गर्नुपर्ने हुन्छ । यदि यसो गर्न सकिएन भने पश्चिमा युरोपेली मुलुकले अथाह आप्रवासन झेल्नुपर्नेछ ।
हाल गैरकानुनी आप्रवासनका मामिलामा युरोप भूमध्यसागर वा इंग्लिस च्यानल पार गर्दा निम्तिने खतराले शरणार्थीलाई निरुत्साहित गर्नेछ भन्नेमा भर परेको देखिन्छ । बेलायतमा हालैका अनुभवले जोखिमयुक्त समुद्री यात्राले आप्रवासन निरुत्साहित हुने भन्नेमा दक्षिणपन्थी समूहले समर्थन गरे पनि समस्याको मूल कारणलाई सम्बोधन गर्न नसकेको देखिन्छ । युरोपेली राष्ट्र आश्रित बुढ्यौली जनसंख्याको वृद्धि र सक्रिय जनसंख्याको गिरावटसँग जुध्न थालेको अवस्थामा दीर्घकालीन आवश्यकतामाथि विचार गर्ने तर्कसंगत अध्यागमन नीतिको आवश्यकता बढ्दो रूपमा स्पष्ट हुँदै गएको छ ।
आगामी केही दशकका लागि आवश्यक आप्रवासनको सहजीकरण र गैरकानुनी प्रवेशलाई सन्तुलन गर्नु युरोपका लागि ठूलो चुनौती बन्नेछ । यसले राजनीतिक बहसमा प्रवेशमा पाइसकेको छ । सरकारलाई गिराउने स्तरमा मुद्दाले प्रवेश पाइरहेको छ, उदाहरणका लागि हालै नेदरल्यान्ड्स सरकार नै गिरेको छ । यो मुद्दाले दक्षिणपन्थी उग्रवादीलाई बढावा दिइरहेको छ । यी चुनौतीका बाबजुद युरोपको जनसांख्यिकीय अवस्थाले सार्वजनिक सेवा सुचारु राख्न र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्न पर्याप्त संख्यामा आप्रवासीलाई स्विकार्न आवश्यक छ, जुन फ्रान्सको मरिन ले पेन र बेलायतको निगेल फराजजस्ता उग्र–दक्षिणपन्थीको प्राथमिकताविरुद्ध जान्छ ।
जलवायु परिवर्तनको दबाबपूर्ण खतराले विकसित र विकासोन्मुख राष्ट्रबीच विश्वास निर्माण गर्ने महत्वपूर्ण आवश्यकतालाई जोड दिन्छ । महत्वपूर्ण रूपमा अन्तर्राष्ट्रिय समुदायले हरितगृह ग्यास उत्सर्जन कसरी कम गर्ने र विश्व तापक्रम वृद्धिको प्रभावबाट सबैभन्दा बढी प्रभावित हुने कम आय भएका देशलाई असमान बोझ नपर्ने अवस्था सुनिश्चित गर्नुपर्छ ।
अमेरिकाले अझै निष्पक्ष नेतृत्व दिन सकेमा पश्चिमा उदारवादी लोकतन्त्रको महत्वपूर्ण चुनौतीको सामना गर्ने क्षमतामा विश्वको विश्वास बलियो हुनेछ । यद्यपि वासिंगटनमा रिपब्लिकनले अमेरिकी चुनावी राजनीतिको आधारलाई नै कमजोर बनाइरहेको अवस्थामा यो सम्भावना थप असम्भव बनाउँछ । अमेरिकामा विद्यमान घरेलु राजनीतिक विभाजन आंशिक रूपमा इराक युद्धको परिणाम पनि हो । फ्यांकलिन रुजवेल्ट, ह्यारी ट्र्युम्यान र ड्वाइट आइजेनहावर जस्ता विगतका राष्ट्रपतिको प्रभावकारी नेतृत्वले चुनौतीपूर्ण समयमा पनि सुरक्षित र सुसंगत विश्व बनाउन सकिन्छ भनेर प्रमाणित गरेका थिए । अर्कातर्फ बुस प्रशासनले बिब्ल्याँटो बाटो देखायो र यो सत्य हो ।
(हङकङका अन्तिम बेलायती गभर्नर प्याटन अक्सफोर्ड विश्वविद्यालयका कुलपति हुन्) प्रोजेक्ट सिन्डिकेटबाट