- हरेक १० जना किशोरकिशोरीमध्ये नौजनाले एक सातामा सिकाइ र सिप विकासका लागि च्याटजिपिटीको प्रयोग गर्ने गरेका छन्
भारतलगायत विश्वभरका किशोरकिशोरीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) उनीहरूको दैनिक जीवनको हिस्सा बन्दै गएको छ । उनीहरू परीक्षाको तयारी गर्न, कठिन अवधारणा बुझ्न, सामग्री सिर्जना गर्न र नयाँ सिप सिक्न यसको प्रयोग गरिरहेका छन् । ओपनएआईको विश्वव्यापी तथ्यांकअनुसार हरेक १० जना किशोरकिशोरीमध्ये नौजनाले एक साताको अवधिमा सिकाइ र सिप विकासका लागि च्याटजिपिटीको प्रयोग गर्ने गरेका छन् । विश्वव्यापी औसतको तुलनामा भारतका प्रयोगकर्ताले सिकाइ र शैक्षिक जिज्ञासा समाधान गर्न च्याटजिपिटीको मद्दत लिने सम्भावना दोब्बर बढी छ ।
त्यसो भए प्रश्न यो हो कि त्यो प्रयोगले उनीहरूले सिक्ने, सोच्ने र परिवर्तन गर्ने तरिकालाई कसरी आकार दिनेछन् ? एआईमा सिकाइलाई परिष्कृत गर्ने, शैक्षिक खाडल पूरा गर्ने र मातृभाषा र आवाज अनुभवमार्फत ज्ञानलाई अझ पहुँचयोग्य बनाउने क्षमता छ । तर, ठुलो पहुँचमा ठुलो जिम्मेवारी पनि हुन्छ । किशोरकिशोरीलाई हानिकारक र उमेर–अनुपयुक्त सामग्रीबाट सुरक्षा चाहिन्छ र स्वतन्त्र सोचलाई कमजोर पार्न सक्ने वा अत्यधिक निर्भरतालाई प्रोत्साहित गर्ने प्रयोगका ढाँचाबाट सुरक्षा चाहिन्छ ।
तसर्थ, किशोरकिशोरीको सुरक्षा केवल सामग्री प्रतिबन्धित गर्नुभन्दा बढी हुनुपर्छ । एआई उत्पादनले किशोरकिशोरीलाई सुरक्षित, आलोचनात्मक र स्वतन्त्र रूपमा प्रयोग गर्न सिप तथा निर्णय विकासका लागि सहयोग गर्नुपर्छ । यसका लागि एआई प्रणाली पहिले नै डिजाइन गरिएका सुरक्षा उपायमा निर्माण गर्न आवश्यक छ । यसको अर्थ उमेर–उपयुक्त सामग्री र अभिभावकीय नियन्त्रणबारे सोच्नु हो । तर, प्रणालीले कसरी प्रतिक्रिया दिन्छ, यसले कुन फूर्वनिर्धारित विधि तय गर्छ, कहिले यसले अन्तर्त्रियालाई ढिलो गर्छ र यसले वास्तविक–विश्व समर्थनलाई कसरी बलियो बनाउँछ भन्नेबारे पनि सोच्नु हो ।
भारतमा उमेर सुहाउँदो डिजाइन तयार गर्दा किशोरकिशोरीले वास्तवमा कसरी प्रविधि प्रयोग गर्छन् भन्ने पक्षलाई पनि समेट्नुपर्छ । धेरै भारतीय घरपरिवारमा प्रविधिको प्रयोग साझा उपकरणमार्फत हुने गर्छ । केही सर्वेक्षणका अनुसार किशोरकिशोरीमाझ यस्तो किसिमको प्रयोग ७० प्रतिशतभन्दा बढी हुन सक्छ । केटाहरूको तुलनामा केटीहरूसँग आफ्नै व्यक्तिगत उपकरण हुने सम्भावना अझ कम छ । सुरक्षासम्बन्धी व्यवस्था तयार पार्दा यस्ता सूक्ष्म पक्षलाई पनि ध्यानमा राख्नु आवश्यक छ ।
साझा उपकरणमा अकाउन्ट खोल्दा घोषित वा प्रमाणित गरिएको उमेरले सधैँ एआई सेवा प्रयोग गर्ने व्यक्तिलाई प्रतिबिम्बित नगर्न सक्छ । उमेर–भविष्यवाणी संयन्त्रले प्रयोगकर्ता १८ वर्षमुनिको छ कि छैन भनेर मूल्यांकन गर्न र तदनुसार अनुभवलाई अनुकूलन गर्न विभिन्न संकेत प्रयोग गरेर सुरक्षाको अतिरिक्त तह प्रदान गर्न सक्छ । च्याटजिपिटीले १८ वर्षमुनिका प्रयोगकर्ता पहिचान गर्न व्यावहारिक संकेत प्रयोग गरेर यस्तो उमेर अनुमानमा निर्भर गर्छ ।
तर, एआई कम्पनीले किशोरकिशोरीको सुरक्षाका लागि एक्लै समाधान गर्न सक्दैनन् । किशोरकिशोरीलाई मद्दत गर्न अभिभावक, शिक्षक र विश्वसनीय वयस्कको महत्वपूर्ण भूमिका हुन्छ । यसको अर्थ एआई गलत हुन सक्छ भनेर जान्नु र प्रयोगको अस्वस्थ ढाँचा पहिचान गर्नु हो । किशोरकिशोरीका लागि सुरक्षा भनेको एआईले उनीहरूलाई के गर्न प्रोत्साहित गर्छ भन्नेमा पनि निर्भर गर्छ । के यसले उनीहरूलाई निर्णय, जिज्ञासा र स्वतन्त्र विचार विकास गर्न प्रेरित गर्छ ?
एआईले गति र सुविधाभन्दा सिकाइलाई प्राथमिकता दिनुपर्छ । वयस्कका लागि उत्पादनले द्रुत उत्पादकत्वलाई प्राथमिकता दिन सक्छन् । किशोरकिशोरीका लागि एआईले उनीहरूलाई राम्रो प्रश्न सोध्न र समस्या समाधान गर्न मद्दत गर्नुपर्छ । सिकाइ र स्वतन्त्रतालाई बलियो बनाउने उपकरणका रूपमा विकास गरिनुपर्छ, एआईलाई । एआई उत्पादनहरू व्यवहारमा कसरी डिजाइन गरिएका छन् भनेर जानकारी दिनुपर्छ । उदाहरणका लागि अभिभावकलाई उनीहरूका किशोरकिशोरीले एआई कसरी प्रयोग गर्छन् भनेर बुझ्न उपकरण दिन सकिन्छ ।
एआईको नयाँ प्रयोगले नयाँ जोखिम सिर्जना गर्नेछ र किशोरकिशोरीले यी फ्रणालीसँग कसरी अन्तर्त्रिया गर्छन् भन्ने विषयले महत्व राख्नेछ । कम्पनीहरूले किशोरकिशोरी, अभिभावक, शिक्षक र विशेषज्ञको कुरा सुनेर आफ्ना प्रणालीको परीक्षण र सुधार गरिरहनु आवश्यक छ । भारतसँग अब युवाका लागि एआई अपनाउने मात्र होइन, बरु किशोरकिशोरीका लागि विश्वव्यापी रूपमा जिम्मेवार एआई कस्तो देखिनुपर्छ भन्ने मापदण्ड परिभाषित गर्न मद्दत गर्ने मौका छ । एआईको प्रयोग र विशिष्ट पहुँच ढाँचालाई ध्यानमा राख्दै अनुभवबाट पाठ सिक्नु धेरै सान्दर्भिक हुनेछ । यदि एआई यस पुस्तासँगै हुर्कने हो भने हामीले यो पुस्ता सुरक्षित रूपमा यसको साथ बढ्न सक्छ भनेर सुनिश्चित गर्नुपर्छ ।
हिन्दुस्तानटाइम्सबाट
(मिश्रा ओपनएआई इन्डियाको रणनीति र सरकारी मामिला प्रमुख हुन्)