पैसालाई आमाको दूध ठान्नेहरूकै कारण सुन तस्करी भएको हो : सुवाल

मंगलबार, २३ साउन, २०८०
डिजिटल संस्करण
पैसालाई आमाको दूध ठान्नेहरूकै कारण सुन तस्करी भएको हो : सुवाल

फाइल तस्बिर ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सभामुख र तीन दलका नेताले सांसदहरूको मानमर्दन गरेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले संसद् बैठकको मिति र समय तय गरिसकेपछि बैठक चल्नुपर्ने समयमा संसद् भवनमा सभामुख र तीन दलका नेताबीच गोप्य बैठक हुनुले बाँकी सांसदको मानमर्दन गरेको बताएका हुन्। 

‘संसद् बैठकका लागि तोकिएको समयमा संसद् भवनमा सभामुख र तीन दलका नेताबीच गोप्य बैठक हुनु बाँकी सांसदको मानमर्दन हो। अब यस्तो हुनु छैन,’ उनले भने।  

सांसद सुवालले कार्यव्यवस्था परामर्श समिति गठनकै वेला तीनदलीय मनपरीतन्त्रको विरोध नहुँदा अहिले परिणाम नकारात्मक देखिएको बताए।

उनले राज्यको नेतृत्वमा उत्पादन र वितरण गर्ने विषय संसदमा छलफल गरिनुपर्ने बताए। 

सुन तस्करी प्रकरणबारे उनले व्यापार निजी क्षेत्रले मात्रै गर्ने हो भन्नेहरू नै सुन तस्करीमा दोषी भएको बताए। ‘सरकारले व्यापार गर्नुहुँदैन, व्यापार निजी क्षेत्रले मात्रै गर्ने हो भन्नेहरू नै सुन तस्करीमा दोषी हुन्,’ उनले भने। 

उनले पैसालाई आमाको दूध ठान्नेहरूकै कारण सुन तस्करी हुने गरेको जिकिर गरे। ‘जसले पैसा भनेको राजनीतिमा आमाको दूध ठान्छन्, सुन तस्करी यसैको परिणाम हुनुपर्छ,’ उनले भने, ‘सुन तस्करीमा सरकारको संलग्नता हुन सक्छ।’ 

उनले एक क्विन्टल सुन तस्करीको छानबिन समिति प्रतिनिधिसभामा भएका सबै दलको सहभागिता हुने गरी मात्र गठन गर्नुपर्ने सुझाव दिए। 

सुझावित समाचार