अमेरिकाले विधि र तथ्यको शासनलाई समर्थन गर्ला कि एक विशेष समूह र तिनको नेतालाई छनोट गर्ला ?
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय चुनावको नतिजालाई उल्ट्याउन खोजेको आरोपमा लगाइएको अभियोगले निम्त्याउने संकट डिसेम्बरमा १८६० मा साउथ क्यारोलिना राज्य अमेरिकाबाट अलग भएर गृहयुद्ध निम्तिएपछिको सबैभन्दा ठूलो संवैधानिक संकट हुनेछ । हामीले अहिलेको संकटबारे सोच्नुअघि संकटको अन्तर्निहित कारण खोजी गर्न जरुरी छ । एक पराजित राष्ट्रपतिले कसरी ऐतिहासिक रूपमा सुरक्षित चुनावको नतिजालाई अस्वीकार गरेर अमेरिकी कंग्रेस (क्यापिटोल) मा जत्था पठाएर हिंसा गर्न सक्छ ? ती पराजित राष्ट्रपतिलाई अझै पनि एकतिहाइ अमेरिकीले कसरी पूर्ण विश्वास गर्न सक्छन् ? यी व्यक्ति अमेरिकाका कुल मतदाताका करिब १७ प्रतिशतको समर्थन प्राप्त गरेर सन् २०२४ मा सत्ताफिर्तीका लागि रिपब्लिकन पार्टीको राष्ट्रपति उम्मेदवार हुन कसरी सम्भव छ ?
एक इतिहासकारका नाताले वर्तमान परिघटनालाई फराकिलो परिप्रेक्ष्यबाट हेर्दै मैले एक विश्लेषण गरेको छु । यो विश्लेषण दुई सय ३८ वर्षपहिले पेरिसमा प्रकाशित एउटा पुस्तकको एक विशेष खण्डलाई आधार मानेर गरिएको हो । कृषिमा जोड दिँदै ‘पृथ्वीमा परिश्रम गर्नेहरू परमेश्वरका चुनिएका मानिस हुन्’ अमेरिकाका संस्थापकमध्येका थोमस जेफरसनले सन् १७८५ मा फ्रेन्च पाहुनाका रूपमा लेखेको चिठीलाई संग्रह गरी पुस्तकाकार गरिएको ‘नोट्स अन द स्टेट अफ भर्जिनिया’मा लेखेका छन् ।
जेफरसनले उल्लिखित विचारलाई लागूसमेत गरेका थिर । जब उनी सन् १८०१ मा अमेरिकी राष्ट्रपति बने, उनले संघीय सरकारको अधिकारलाई अमेरिकामा उपलब्ध भूमिलाई उल्लेखनीय रूपमा वृद्धि गर्न प्रयोग गरेका थिए । उनले जग्गाको सर्वेक्षण एवं कित्ताकाट गरे । सम्भव भएसम्मका कित्ताकाट जमिन गोरामाझ बिक्री गरे । एक इतिहासकारले सुरुवाती अमेरिकालाई ‘उपनिवेशीको साम्राज्यको’ संज्ञा दिएका थिए जहाँ खेती गर्ने उपनिवेशी परिवार (र सट्टेबाज) लाई जमिन बाँड्नमा केन्द्रित थियो । यो प्रवृत्ति पुस्तौँसम्म जारी रह्यो ।
धेरथोर परिवर्तन र विविधतासाथ अमेरिकाका राजनीतिक दल र राष्ट्रपतिले अमेरिकाका ग्रामीण बहुसंख्यकलाई पोस्ने र तुष्टीकरण गर्ने काम गरेका थिए । अमेरिकाको कृषि क्षेत्रका मानिस र साना इलाकाको संस्कृतिलाई बढी आधिकारिक वा पवित्र मानिँदै आयो । सन् १८३७ मा राष्ट्रपति एन्ड्र्यु ज्याकसनले यी मानिस र इलाकालाई मुलुकको मेरुदण्डको समेत संज्ञा दिएका थिए । यी मानिसले आफूलाई सम्राट् वा कंग्रेस अथवा सरकार वा संविधानभन्दा माथि मान्न थालेका थिए । यो भाव दासत्व अन्त्य गर्ने सन् १८६० को दासप्रथा र सन् १९२० को दशकमा अमेरिकी समाजको सहरीकरणका बाबजुद जारी रह्यो । सन् १९६० र १९७० को सांस्कृतिक एवं सामाजिक क्रान्तिपछि मात्रै जेफरसनले भनेका ‘चुनिएका मानिस’ले आफ्नो हैसियत गुमाएका थिए । यो क्रान्तिका कारण पछिल्लो आधा दशकमा विविध संस्कृति सतहमा आए र सबै अमेरिकी समान हुन् भन्ने पार्यो ।
तर, यति भन्दै गर्दा अमेरिका साना सहर–कस्बालाई जनाउने ‘फ्लाई ओभर स्टेट्स’ क्षेत्रका मानिस नश्लभेदी एवं पुरातनपन्थी हुन् भन्ने नयाँ रुढीबद्ध धारणाको विकास भयो । वृद्धि भएको सांस्कृतिक विविधता र त्यसमाथि एक रुढीबद्ध धारणाले अमेरिकाका दक्षिणी भेगका साना सहर–कस्बाका विषमलिंगी इसाईलाई क्रुद्ध बनायो । न्युयोर्ककै भएपनि ट्रम्प यो तप्काको रोषलाई राम्रैसँग बुझ्छन् र त्यसलाई राजनीतिक रूप दिन खप्पिस छन् । उनी यी मानिसबाट निःसृत नकारात्मक ऊर्जामाथि खेल्न जान्दछन् । उनी यसअघि अमेरिकालाई यो तप्काले महान् बनाएको भन्दै यिनलाई अमेरिकालाई फेरि महान् बनाउने (मेक अमेरिका ग्रेट अगेन) अभियानका बफादार भन्ने संज्ञा दिन्छन् । तब न ट्रम्पसँग बलियो चुनावी पकड छ । तर, अहिले ट्रम्प थुप्रै अभियोग व्यहोरिरहेका छन् । उनी अहिले अमेरिकालाई फेरि महान् बनाउने अभियानका बफादार तप्कालाई संवैधानिक आदेश अवज्ञा गर्न मात्र नभई अमेरिकी संविधानका दुई स्तम्भ विधि र तथ्यको शासनलाई अस्वीकार गर्न उक्साउँदै छन् । यही मार्चमा उनले पुरातनपन्थी राजनीतिक कार्यसमितिको वार्षिकोत्सवमा ‘म तिमीहरूको योद्धा हुँ । म तिम्रो न्याय हुँ । र, जसमाथि अन्याय र धोका भएको छ, म तिमीहरूका लागि बदला लिने व्यक्ति हुँ’ भनेका थिए ।
हालैका अभियोगअनुसार ट्रम्पले चुनावमा धाँधली भएको भन्ने दाबीलाई निरन्तर रूपमा फैलाउने काम गरेका थिए । र, यी दाबीलाई उनकै निकटतम सल्लाहकारसमेतले आधारहीन षड्यन्त्रको सिद्धान्तका रूपमा खारेज गरेका थिए । यद्यपि यो ट्रम्पले आफूले गरेको चुनावी धाँधलीको दाबी झुटो हो भनेर आफैँलाई थाहा थियो वा थिएन भन्ने पुष्टि हुन सकेको छैन । विशिष्ट अधिवक्ता ज्याक स्मिथले पूर्वराष्ट्रपतिको अपराध पुष्टि गर्नुपर्ने छ । अमेरिकी पत्रकार ज्याक ब्युच्याम्पले यी आरोपले ट्रम्प अत्यन्त आत्मकेन्द्रित भएर झुट बोल्ने व्यक्ति वा ठूलो भ्रममा रहेका व्यक्ति हुन् भन्ने संकेत गर्छ भनी बताएका छन् ।
ट्रम्प निःसन्देह यी दुवैलाई स्विकार्ने छैनन् । उनले पहिले नै अभियोगलाई ‘मिथ्या’को संज्ञा दिएका थिए । उनका अनन्य समर्थक एवं ग्रामीण जर्जियाकी जनप्रतिनिधि (कंग्रेसवुमन) मार्जोरी टेलर ग्रिनले अभियोगलाई ‘जनता’ र अमेरिकी संविधानको पहिलो संशोधनमाथि गरिएको ‘कम्युनिस्ट आक्रमण’ जनाएकी छिन् । अमेरिकालाई फेरि महान् बनाऊ भन्ने तप्काले यदि न्यायिक निकायले ट्रम्पले कानुन उल्लंघन गरेको वा झुट बोलेको भन्ने ठहर गर्छ भने यसलाई जनताविरुद्धको षड्यन्त्र मात्र मान्नेछ ।
यस साताको उनको अदालतको पेसी र अर्को नोभेम्बरको आगामी चुनावबीच अमेरिकाले दुई छनोटको सामना गर्नेछ । पहिलोले विधि र तथ्यको शासनलाई समर्थन गर्नेछ भने दोस्रोले एक विशेष समूह र तिनको नेतालाई छनोट गर्नेछ ।
(ओपल म्याकगिल विश्वविद्यालयका इतिहासका प्राध्यापक हुन्)
द कन्भर्सेसनबाट