भारत उत्तराखण्डको पहिरोमा दुई नेपालीको मृत्यु, १४ बेपत्ता

शनिबार, २० साउन, २०८०
डिजिटल संस्करण

जुम्लाका एकै परिवारका सातसहित ११ र कालिकोटका पाँचजना पहिरोमा परे

उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड बजार (केदारनाथधामको पैदलमार्ग सुरु हुने स्थानमा)मा बिहीबार राति खसेको पहिरोमा परेका १९ मध्ये तीनजनाको शव फेला परेको छ । मृतकमध्ये दुई नेपाली हुन्, १४ नेपाली अझै बेपत्ता छन् । 

दिल्लीस्थित नेपाली दूतावासका अनुसार मृतकमध्ये कालीकोटका टेकबहादुर कामीको पहिचान भएको छ, अर्का एक नेपालीको अझै सनाखत भएको छैन । पहिरोमा परेका १६ नेपालीमध्ये ११ जुम्ला र पाँच कालीकोटका रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । बिहीबार राति साढे ११ बजेको पहिरोले उनीहरू बसेको होटेल नै बगाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

गत असारमा मात्र हिमाञ्चलको सिमलामा गएको पहिरोमा परी पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका– ९ टुमिबोटका एकै परिवारका तीनजनाको ज्यान गएको थियो ।

जुम्लाका एकै परिवारका सातसहित ११ जना बेपत्ता
पहिरोमा जुम्लाका एकै परिवारका सातसहित ११ जना बेपत्ता भएका भएका छन् । दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर उमाप्रसाद चतुर्वेदीले रुद्रप्रयाग प्रशासनलाई उद्धृत गर्दै नयाँ पत्रिकालाई जानकारी दिएअनुसार जुम्लाको पातारासी गाउँपालिका २ र ३ का ११ जना पहिरोमा परी बेपत्ता भएका हुन् । तीमध्ये वडा नम्बर ३ स्थायी घर भई गौरीकुण्डमा होटेल व्यवसाय गरी बसेका अमरबहादुरको परिवार पहिरोमा परेको हो ।

अमरसहित उनकी श्रीमती, तीन छोरी र दुई छोरा बेपत्ता रहेको जनाइएको छ । पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले आफ्नो पालिकाका कैयौँ नागरिक पहिरोमा बेपत्ता भएको खबर प्राप्त भएको बताइन् । ‘यहाँका धेरैजसो स्थानीय रोजगारीका सिलसिलामा भारतमा छन्, यसबारे हामी पनि बुझ्दै छौँ,’ उनले भनिन् ।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार गौरीकुण्ड क्षेत्रमा तीन सय ५० र केदारनाथ क्षेत्रमा एक सय ५० गरी पाँच सय नेपाली सुरक्षित छन् । ‘पहिरोमा परी हराइरहेकाको खोजीकार्य भइरहेको छ । रुद्रप्रयाग जिल्लाका प्रहरी प्रमुख र सरोकारवालासँग सम्पर्कमा छौँ, त्यहाँस्थित नेपालीसँग पनि सम्पर्कमा छौँ,’ काउन्सिलर चतुर्वेदीले नयाँ पत्रिकालाई बताए ।

मजदुरीका लागि उत्तराखण्ड र हिमाञ्चल पुग्छन् नेपाली
बाढीपहिरोको उच्च जोखिममा रहेका भारतका दुई प्रान्त उत्तराखण्ड र हिमाञ्चलमा हजारौँ नेपाली मजदुरीका लागि पुग्ने गर्छन् । यस क्षेत्रमा मौसमी रोजगारीसमेत पाइने भएकाले सुदूरपश्चिम, कर्णालीलगायत क्षेत्रका नागरिक खेतीबाहेकको समयमा सिमला, केदारनाथ, कुमाउ, गढवाल क्षेत्रमा जाने गर्छन् । स्याउ टिप्ने, सडक, पुलपुलेसा निर्माणमा मजदुरी गर्ने, भारी बोक्ने मौसमी कामबाहेक त्यस क्षेत्रमा व्यापार–व्यवसाय गरेर बसेका नेपाली पनि छन् ।

बिहीबार राति पहिरो खसेको क्षेत्र गौरीकुण्ड प्रसिद्ध तीर्थस्थल केदारनाथ जाने बाटोमा पर्छ । तीर्थस्थल क्षेत्रमा तीर्थयात्री बोक्ने काम नेपालीले गर्दै आएका छन् ।आप्रवासनका क्षेत्रमा कार्यरत निड्स नेपाल कञ्चनपुरका कार्यकारी निर्देशक भवराज रेग्मीका अनुसार खेतीपातीको काम सकेर केही समय भारतमा काम गर्ने र चाडबाड तथा खेतीपातीको समयमा नेपाल भित्रिने नेपालीको संख्या उल्लेख्य छ ।

रोजगारीका लागि भारतमा कति नेपाली छन् भनेर सरकारसँग यकिन तथ्यांक छैन । तर, सुदूरपश्चिमका करिब ७० प्रतिशत घरधुरीबाट परिवारका कम्तीमा एकजना भारतीय रोजगारीमा रहेका निड्स नेपालको अनुमान छ । रोपाइँ सकिएसँगै केही सातायता पश्चिमी नाका गौरीफन्टा र गड्डाचौकीबाट दैनिक सयौँ नेपाली भारत गइरहेका छन् । 
 

सुझावित समाचार