सुविधा नपाएको भारतीय खेलाडीको आरोप

वेस्ट इन्डिज क्रिकेट बोर्डले एकदिवसीय र टेस्ट सिरिजका क्रममा सामान्य सुविधासमेत प्रदान नगरेको भारतीय कप्तान पाण्ड्याको भनाइ

बिहिबार, १८ साउन, २०८०
डिजिटल संस्करण

 भारतीय पुरुष क्रिकेट टोलीले वेस्ट इन्डिजविरुद्ध लगातार १३औँ पटक एकदिवसीय सिरिज जितेको छ । यसअघि भारतले टेस्ट सिरिजमा पनि वेस्ट इन्डिजलाई हराएको थियो । एक महिनादेखि वेस्ट इन्डिजको भ्रमणमा रहेको भारतीय खेलाडीले सोचेको जस्तो सुविधा प्राप्त नगरेको आरोप लगाएका छन् । वेस्ट इन्डिज क्रिकेट बोर्डले आफूहरूलाई आवश्यक पर्ने सामान्य सुविधासमेत प्रदान नगरेको बताएका छन् । 

कार्यकारी कप्तान हार्दिक पाण्ड्याले वेस्ट इन्डिज बोर्डले हरेक पक्षमा सुविधा कटौती गरेको जनाउँदै आक्रोश पोखेका छन् । ‘हामीलाई अनावश्यक सुविधा आवश्यक पर्दैन, तर सामान्य सुविधासमेत हामीले वेस्ट इन्डिजमा पाउन सकेनौँ,’ एकदिवसीय सिरिज जितेपछि पाण्ड्याले भने । उनले आउने सिरिजमा मागअनुसार सुविधा प्राप्त नहुँदा बोर्डविरुद्ध मुद्दा राख्ने चेतावनी दिएका छन् । ‘हाम्रो समस्यामा ध्यान दिनुपर्ने वेला भएको छ,’ उनले भने । 

यसअघि हवाई फ्लाइटमा समेत समस्या भएको उनले खुलासा गरेका छन् । ‘अन्तर्राष्ट्रिय खेलाडीको उडान विनाकारण नै ढिला हुँदा सबैले समस्या भोगे,’ उनले भने, ट्रिनिडाडबाट बारबाडोसको फ्लाइट राति राखिएको थियो । ‘हवाईजहाजको समय तालिकासमेत बोर्डले मिलाउन सकेन,’ गुनासो गर्दै उनले भने, ‘मध्यरातमा फ्लाइट थियो, उडान ढिला हुँदा कम्पनीले दिनुपर्ने सुविधासमेत दिइएन ।’ 

उनले एकदिवसीय सिरिजका लागि प्रयोग भएका मैदानमा यस्तै समस्या भएको बताए । ‘वेस्ट इन्डिजको क्रिकेट मैदान विश्वकै उत्कृष्टमा पर्छ, तर त्यसअनुसार अहिले केही छैन,’ पाण्ड्याको भनाइ छ, ‘अर्कोपटक यहाँ आउँदा परिवर्तनको आशा गरेका छौँ ।’ उनले वेस्ट इन्डिज क्रिकेट बोर्डले आफ्नासँगै विदेशी खेलाडीको सुविधाको सम्बन्धमा सोच्नुपर्ने वेला भएको बताए । 
‘मलाई लाग्छ, वेस्ट इन्डिजले यो समस्यामा ध्यान दिनुपर्छ, जब कोही टोली यहाँ भ्रमणमा आउँछ भने सेवा सुविधा हुनैपर्छ । हामीले आधारभूत सेवा मात्र माग राखेका हौँ,’ उनले भने, ‘समग्रमा यहाँ आएर खेल्न निकै मज्जा आयो, हामीले राम्रो क्रिकेट पनि खेलेका छौँ ।’


भारतले जित्यो १३औँ शृंखला
भारतले वेस्ट इन्डिजविरुद्ध निर्णायक खेलमा दुई सय रनको जित निकाल्यो । टस जितेर ब्याटिङ गरेको भारतले पाँच विकेट गुमाउँदै तीन सय ५१ रन बनाएको थियो । चार खेलाडीले अर्धशतकीय इनिङ्स खेलेपछि भारत बलियो स्थितिमा पुगेको हो । शुभमन गिलले सर्वाधिक ८५ रन, सञ्जु सामसनले ५१, ईशान किशनले ७७ र कप्तान पाण्ड्याले ७० रन बनाए । ईशान र शुभमनले पहिलो विकेटका लागि एक सय ४३ रनको साझेदारी गरेका थिए । वेस्ट इन्डिज ३५.३ ओभरमा एक सय ५१ रनमा समेटियो । भारतका लागि शार्दुल ठाकुरले सर्वाधिक चार विकेट लिए । मुकेश कुमारले तीन विकेट हात पारे । 

सुझावित समाचार