प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री संवैधानिक परिषद्का अध्यक्ष हुन्।
मंगलबार दिउँसो चार बजेका लागि बोलाइएको बैठकमा आगामी प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा छलफल हुने बताइएको छ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की २० साउनमा अवकाश हुँदै छन्। ६५ वर्षे उमेर हदका कारण कार्कीले अनिवार्य अवकाश पाउनेछन्।
उनको अवकाश अवधिनजिक आइसक्दासमेत भावी प्रधानन्यायाधीशको सिफारिस हुन सकेको छैन। भावी प्रधानन्यायाधीशको सिफारिस हुन नसकेकाले कार्कीपछि सर्वोच्च अदालत कार्यबाहककै भरमा चल्नुपर्ने अवस्था आउने सम्भावना देखिएको भन्दै आलोचना भइरहेको छ।
आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली भेट भएको थियो। सो भेटमा संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा समझदारी बनेको बताइएको थियो। प्रमुख प्रतिपक्षी दलका नेता परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ।