रुकुम पश्चिममा पहिरोसँगै खस्दा दुईजनाको मृत्यु, एक घाइते

आइतबार, १४ साउन, २०८०
डिजिटल संस्करण

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका– ७ को बाँसथलामा घाँस काट्ने क्रममा पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।

आइतबार दिउँसो पौने ३ बजेको समयमा बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका वेला पहिरोसँगै खस्दा स्थानीय एक महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुनेमा बाँफीकोट– ७ की ४५ वर्षीया धनमाया खत्री र सोही ठाउँका ४४ वर्षीय कालीबहादुर खड्का रहेकाे जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए।

उनका अनुसार खत्री र खड्काको घटनास्थलमै मृत्यु भएको हो। त्यस्तै, घाइते हुनेमा बाँफीकोट– ७ कै ४२ वर्षीया बालकुमारी खत्री रहेकी छिन्। घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ।

घाँस काट्ने क्रममा टेकेको ठाउँ भासिएर तीनजना पहिरोसँगै खसेका प्रनाउ भट्टराईको भनाइ छ। उनीहरू करिब ५ सय मिटर तल खसेको र ढुंगाले च्यापिएको अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी चौकी नदुवा र इलाका प्रहरी कार्यालय आठबिसकोट राडीको टोली पुगेको थियो।

सुझावित समाचार