मुआब्जाका लागि कन्ट्रोल रुम घेर्ने कोसीपीडितको चेतावनी

बुधबार, १० साउन, २०८०
डिजिटल संस्करण

नेपाल र भारतबीच सम्पन्न कोसी सम्झौता कार्यान्वयन गर्न माग गर्दै कोसीपीडितले मुआब्जाका लागि कोसी ब्यारेजमा रहेको कन्ट्रोल रुम घेर्ने चेतावनी दिएका छन्।

कोसी नदी कटान डुबानपीडित संघर्ष समिति सप्तरी, सुनसरी र उदयपुरले बुधबार राजविराजमा पत्रकार सम्मेलन गर्दै मुआब्जाका लागि साउन २३ गतेदेखि कोन्ट्रोल रुम घेर्ने र आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

सम्झौता कार्यान्वयनमा भारत तयार रहे पनि नेपाल सरकारको तर्फबाट सार्थक पहल हुन नसकेको संघर्ष समितिका संयोजक महिदेवप्रसाद चौधरीले आरोप लगाए। सम्झौता कार्यान्वयनको माग गर्दै यसअघि पनि पटकपटक आन्दोलन गरे पनि नेपाल सरकारले कुनै पहल नगरेको उनको आरोप छ।

‘यसपटकको आन्दोलन निर्णायक हुन्छ,’ चौधरीले भने, ‘सरकार समयमै सचेत नभए यसपटक घुँडा टेकाउँछौँ।’ दुवै देशको सरकारलाई दबाब दिन यसपटक साउन २३ गतेदेखि अनिश्चितकालसम्म कोसी ब्यारेजको पूर्वी कन्ट्रोल रुमअगाडि नारा जुलुस र कोणसभा गर्ने संयोजक चौधरीले जानकारी दिए।

कोसी ब्यारेज निर्माण गर्दा कटान र डुबानमा परेका हजारौँ बिघा जग्गाबापतको मुआब्जा भारत सरकारले दिने सम्झौता १२ वैशाख २०११ (१९५४)मा भएको थियो । तर, त्यसबापत पाउनुपर्ने मुआब्जा हालसम्म पनि पीडितहरूले पाएका छैनन्।

पुल र बाँध निर्माणका कारण सुनसरीको चतरादेखि सप्तरीको कुनौली बोर्डरसम्म दुवैतर्फको तटबन्धभित्र पर्ने ४८ हजार ६ सय ९५ बिघा ३ कट्ठा १७ धुर जग्गा कटान र डुबानमा परेको तथ्यांक छ।

सुझावित समाचार