कांग्रेसको निर्णय आज, दबाबमा पदाधिकारी

बुधबार, १० साउन, २०८०
डिजिटल संस्करण
कांग्रेसको निर्णय आज, दबाबमा पदाधिकारी

पूर्वमहामन्त्री डा. शशांक कोइरालाले लैनचौरमा मंगलबार गरेको चियापानमा सहभागी नेताहरू

केन्द्रीय कार्यसमिति बैठकमा गुटबन्दी छताछुल्ल भएपछि नेताहरू एकताको सन्देश दिनुपर्ने दबाबमा, भ्रष्टाचारविरुद्ध कठोर हुनुपर्ने इतर समूहको माग

११ महिनापछि बसेको, प्रत्यक्ष प्रसारण भएको र समूहगत आरोप–प्रत्यारोपले चर्चामा आएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निर्णय अनुमोदन गर्न बुधबार बस्दै छ । केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सोमबार सकिएपछि मंगलबार बैठक स्थगन गरेर शीर्ष नेता निर्णयको प्रस्ताव बनाउने गृहकार्यमा छन् । 

देशको ठूलो राजनीतिक शक्ति भएकाले कांग्रेस केन्द्रीय समितिको बैठक राष्ट्रिय राजनीतिका लागि समेत महत्वपूर्ण छ । सोहीकारण कांग्रेस शीर्ष नेताहरू पार्टीको आन्तरिक जीवनमा ऊर्जा थप्ने र राष्ट्रिय राजनीतिलाई आफ्नो दिशामा अगाडि बढाउने निर्णय लिनुपर्ने दबाबमा छन् । बैठकमा पार्टीभित्रको गुटबन्दी छताछुल्ल भएपछि कांग्रेस नेताहरू एकताको सन्देश दिनुपर्ने अवस्थामा छन् । बैठकका निर्णयको मस्यौदा बनाउन मंगलबार कांग्रेस पदाधिकारीको बैठक बसेको छ । सभापति शेरबहादुर देउवाले धुम्बाराहीस्थित निवासमा पदाधिकारी बैठक बोलाएका थिए । सभापति देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका पदाधिकारी सहभागी बैठकले ठोस निर्णय भने गरेन । नेता–कार्यकर्ता बैठकबाट तय हुने नयाँ बाटोको पर्खाइमा छन् । 

कार्यतालिका परिमार्जन हुने, खाणको विषयमा फरक मत आउन सक्ने 
बैठकले ठोस निर्णय गरिसकेको छैन । केन्द्रीय कार्यसमितिमा पेश गरिने निर्णयको अन्तिम टुंगो लगाउन बुधबार सभापति र महामन्त्रीले थप गृहकार्य गर्ने भएका छन् । सहमहामन्त्री बद्री पाण्डेका अनुसार पदाधिकारी बैठकले एजेन्डामा आधारित सुझावलाई समेट्ने तथा समसामयिक विषय निर्णयमा समेट्ने समझदारी गरेको छ । ‘पदाधिकारी बैठकमा उठेका विषयलाई समेट्नेबारे छलफल भयो । साथै, समसामयिक विषयमा कांग्रेसका धारणाअन्तर्गत राजनीतिक, आर्थिक तथा जनजीविका र आमचासोका विषयलाई पनि निर्णयमा समेटिनेछन् । कार्यतालिका परिमार्जनसहित परित गरिनेछ,’ उनले नयाँ पत्रिकासँग भने ।

बैठकले महासमिति बैठकबाट नै नीति अधिवेशन गर्ने टुंगो लगाएको छ । सहमहामन्त्री फर्मुल्लाह मन्सुरले समसामयिक विषय समेटेर निर्णय सार्वजनिक गरिने बताए । ‘बैठकमा प्रस्तुत १० एजेन्डामा केन्द्रित भएर तथा कांग्रेसले स्पष्ट पार्नुपर्ने धारणा समेट्नेबारेका विषयमा छलफल भएको छ । मोटामोटी निर्णयका विषय टुंगो लागेको छ । बुधबार सभापति र महामन्त्रीबाट अन्तिम टुंगो लगाएर बैठकमा प्रस्तुत गरिनेछ ।

एक पदाधिकारीका अनुसार खाणको विषयमा भने पदाधिकारीको मत बाझिएको छ । संस्थापननिकट पदाधिकारी संस्थागत रूपमा बोल्नुपर्नेमा छन् भने अन्य पदाधिकारी पार्टीको धारणा स्पष्ट हुनुपर्नेमा छन् । स्रोतका अनुसार समसामयिक विषयअन्तर्गत खाणको नाम उल्लेख नगरी संस्थागत धारणा आउने सम्भावना छ । यसरी धारणा आउने भएपछि केही पदाधिकारीले फरम मत राख्ने तयारी गरेका छन् । निर्णयबारे अन्तिम टुंगो लगाउन बुधबार बिहान ११ बजे बैठक बस्नेछ । दिउँसो ४ बजे केन्द्रीय समिति बैठक बसेर निर्णय सार्वजनिक गरिनेछ ।

बैठकमा आक्रामक नेता चियापानमा सौहार्दपूर्ण
निर्णयको पूर्वसन्ध्यामा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले लैनचौरमा आयोजना गरेको चियापानमा नेताहरू एकसाथ भेटिए । केन्द्रीय समितिमा धारणा राख्ने क्रममा एक–अर्काविरुद्ध आक्रामक देखिएका नेताहरू चियापानमा भने सौहार्दपूर्ण वातावरणमा प्रस्तुत भए । चियापानमा डा. कोइरालाले बैठकबाट कांग्रेस एकताबद्ध हुने वातावरण तयार भएको र नयाँ बाटो तय हुने गरी निर्णय आउनुपर्ने बताए । ‘कांग्रेस एक भएको खण्डमा धेरै ठूलो परिवर्तन ल्याउन सक्छ । अबको दिनमा हामी एकताबद्ध भएर हिँड्नुपर्छ । कांग्रेसको विकल्प कांग्रेस नै हो, अरू छैनन् । भविष्य कांग्रेससँगै छ, हामी एक भयौँ भने कसैले हराउन सक्दैन,’ कोइरालाले भने । 

मंगलबार नै ‘राजनीतिक चुनौतीहरू र कांग्रेसको दायित्व विषयक विचार गोष्ठी’मा सहभागी कांग्रेस नेताहरूले रूपान्तरण र पार्टी एकतामा जोड दिएका थिए । इतर समूहका नेता डा. शेखर कोइरालाले भने, ‘विधिसम्मत हिँड्यौँ भने पनि हाम्रा धेरै चुनौती समाप्त हुनेछन् । केन्द्रीय समिति बैठकपछिको कांग्रेसले भ्रष्टाचारमा शून्य सहनशीलतालाई लिएर जानुपर्छ । यसरी जान सकेनौँ भने समस्यामा पर्छौँ ।’

चियापानमै पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीमा सभापति भर्सेस महामन्त्री भन्ने नरहेको दाबी गरे । ‘पार्टीमा सभापति भर्सेस महामन्त्री भन्ने कुरा केही पनि छैन । केन्द्रीय समितिमा सबैले छलफल गर्नुभएको छ, एकताबद्ध भएर जनताको लोकतन्त्रको पक्षमा काम गर्नेछ, जनताको काम गर्ने एउटा आवाज लिएर निस्किन्छ,’ निधिले भने । कांग्रेस मुख्य सचेतक रमेश लेखकले कांग्रेस नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताए । नेता गुरुराज घिमिरेले नेता बालकृष्ण खाणको विषयमा पनि पार्टी स्पष्ट हुनुपर्ने बताए । 

सुझावित समाचार