राजस्व अनुसन्धान विभागले विमानस्थलबाट संगठित रूपमा सुन तस्करी गर्दै आएको गिरोहका दोस्रो तहमा व्यक्तिमाथि अनुसन्धान अघि बढाएको छ । पहिलो तहका व्यक्तिको सम्पर्कमाथि सूक्ष्म अनुसन्धान गरी विभागले दोस्रो तहमाथि छानबिन थालेको हो । ‘केही तथ्य खुलिसकेका छन्, प्राविधिक अनुसन्धान जारी छ,’ विभागका एक अधिकारीले भने, ‘आइतबारदेखि सुन तस्करीमा लगानी गर्नेमाथि केन्द्रित हुनेछौँ ।’
विभागले एक भारतीय, एक चिनियाँसहित १० जनालाई पक्राउ गरिसकेको छ । यो समूहले नेपाल हुँदै भारतमा सुन तस्करी गर्दै आएको थियो । यसमा विगतदेखि नै नेपालमा समेत सुनको अवैध कारोबार गर्दै आएको गिरोहसमेत संलग्न देखिएको विभाग स्रोत बताउँछ ।
यसैबीच बिहीबार पक्राउ परेका चिनियाँ नागरिक ‘ली’ र भन्सार छुटाउने कार्गो सञ्चालकहरू कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट र राजन श्रेष्ठमाथि अनुसन्धानका लागि अदालतले म्याद थप गरेको छ । उच्च अदालत पाटनले पक्राउ परेकालाई नौ दिनको म्याद थप गरिदिएपछि विभागले अहिले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ । उनीहरूकै बयानका आधारमा तस्करीमा संलग्न अन्यमाथि पनि निगरानी गरिरहेको छ ।