विशेष भूमिका, विशेष बढुवा

मंगलबार, २ साउन, २०८०
डिजिटल संस्करण
विशेष भूमिका, विशेष बढुवा

२८ वर्षदेखि प्रहरी एकेडेमीमा प्रशिक्षकका रूपमा कार्यरत तिलराम बोहरा सार्की वरिष्ठ नायब निरीक्षकमा बढुवा भएपछि दर्ज्यानी चिह्न लगाइदिँदै एआइजी टेकप्रसाद राई ।

हत्या, सुन र भारु तस्करीदेखि शरणार्थी प्रकरणमा अनुसन्धान गर्ने १० प्रहरीलाई बढुवा पुरस्कार 

प्रहरी सहायक निरीक्षक (असई) अर्जुन सेट्ठी चर्चित प्रहरी कर्मचारी होइनन्, तर उनले गरेका कामले भने ठूलै चर्चा कमाएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत उनी काठमाडौंका चर्चित हत्याकाण्डदेखि नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई समेत पक्राउ गर्न खटिएका थिए । 

विभिन्न १२ वटा ठूला अपराधको अनुसन्धानामा पुर्‍याएको योगदानको मूल्यांकन गरी प्रहरी प्रधान कार्यालयले पुरस्कारस्वरूप उनलाई शुक्रबार प्रहरी नायब निरीक्षक(सइ)मा बढुवा गरेको छ । कपनकी निरु पाण्डेको हत्यामा संलग्न अभियुक्तको पहिचान खुलाउन उनकै प्रमुख भूमिका थियो । त्यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्राउदेखि काठमाडौंका विभिन्न हत्याकाण्डमा अभियुक्त प्रकाउमा सेट्ठीको विशेष भूमिका रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अदालतबाट दोषी ठहर भएका २१ जना अपराधीलाई पक्राउमा पनि उनी खटिएका थिए । तिनै कामको मूल्यांकन गरी पुरस्कारस्वरूप उनको बढुवा भएको हो ।

प्रहरी सहायक हवल्दार भुदरमणि जोशी पनि एक गुमनाम प्रहरी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले गरेको काम भने निकै महत्वपूर्ण छन् । उनले विमानस्थलमा करोडौँ मूल्यबराबरका तस्करीका सुन बरामद गराएका छन् । पछिल्लोपटक गत १५ जेठमा एक भारतीय एक किलो सुनसहित पक्राउ परे । विगतमा सात करोडबराबरको नक्कली भारु बरामद गरी पाकिस्तानी नागरिकलाई पक्राउ गर्ने काममा पनि उनको भूमिका थियो । २९ फागुन ०७८ मा दुई चिनियाँलाई करिब पाँच किलो सुनसहित पक्राउ गरेका थिए । विमानस्थलका ठूला १७ वटा अप्रेसनमा उनी संलग्न थिए । सोही कामका आधारमा उनी हवल्दारबाट शुक्रबार सहायक निरीक्षक(असइ)मा बढुवा भएका छन् । 

डिआइजी कुबेर कडायत प्रवक्ता, नेपाल प्रहरी
उत्कृष्ट काम गर्ने कर्मचारीलाई विशेष बढुवा गर्ने प्रावधान प्रहरी नियमावली छ । सोहीअनुसार उत्कृष्ट काम गर्नेहरूमध्येबाट छानेर १० जनाको बढुवा गरेको हो । राम्रो काम गर्ने प्रहरीलाई प्रोत्साहन गर्ने संगठनको नीतिअनुसार यो बढुवा भएको हो ।

सेट्ठी र जोशीजस्तै आर्थिक वर्ष ०७९/८० मा उत्कृष्ट काम गर्ने १० प्रहरीको बढुवा गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए । ‘उत्कृष्ट काम गर्ने कर्मचारीलाई विशेष बढुवा गर्ने प्रावधान प्रहरी नियमावली छ,’ उनले भने, ‘सोहीअनुसार उत्कृष्ट काम गर्नेहरूमध्येबाट छानेर १० जनाको बढुवा गरेको हो । राम्रो काम गर्ने प्रहरीलाई प्रोत्साहन गर्ने संगठनको नीतिअनुसार यो बढुवा भएको हो ।’ 

प्रहरी नियमावली २०७१ को दफा ३९ मा विशेष बढुवासम्बन्धी प्रावधान छ । जसमा एक आर्थिक वर्षमा अधिकतम १० कर्मचारीलाई राजपत्रअनंकित पदसम्म एक तह बढुवा गर्न सकिने प्रावधान छ । सोहीअनुसार शुक्रबारको प्रहरीको नीतिनिर्माण समितिको बैठकले बढुवाको निर्णय गरेको हो । नियमित बढुवा सामान्यतया ज्येष्ठताका आधारमा हुनेमा यस्तो विशेष बढुवामा भन्दा ज्येष्ठता नभई उनीहरूको कामलाई मात्र आधार बनाइन्छ । देशभरिबाट एक सयभन्दा धेरै प्रहरीको विशेष बढुवाका लागि सिफारिस भएकोमा एआइजी नेतृत्वको एक समितिले १० जना छनोट गरी बढुवा गरेको हो । विशेष जिम्मेवारी निभाएकै आधारमा विशेष बढुवा भएको प्रहरी प्रवक्ताको भनाइ छ ।

यसरी विशेष बढुवा हुने अन्य प्रहरीमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत नायब निरीक्षक तिलराम बोहरा सार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल शाखामा कार्यरत असइ वामदेव घिमिरे, केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)मा कार्यरत हवल्दार सविर अलि अन्सारी पनि हुन् । उनीहरू पनि एक तह बढुवा भएका छन् । यस्तो बढुवा पाउनेमा पाँचजना सहायक हवल्दार छन् । सोलुखुम्बुमा कार्यरत सुवास नेपाली, सिआइबीमा कार्यरत लक्ष्मण सापकोटा, विमानस्थलमा कार्यरत भुदरमणि जोशी, गण्डकी प्रदेश प्रहरी गण पोखरामा कार्यरत गनकुमार खण्डलुक र प्रहरी प्रधान कार्यालयमा कार्यरत उपेन्द्र चौधरी छन् ।

मानव बेचबिखन ब्युरोमा कार्यरत प्रहरी जवान लोचन अधिकारी पनि विशेष बढुवामार्फत हवल्दार भएका छन् । तिलराम वरिष्ठ प्रहरी निरीक्षक भएका तिलराम प्रशिक्षण प्रतिष्ठानमा विगत २८ वर्षदेखि प्रशिक्षकका रूपमा कार्यरत छन् । उनी धेरै प्रहरी अधिकारीका ‘गुरुबा’ हुन् । प्रशिक्षण कार्यमा महत्वपूर्ण भूमिका निभाएका आधारमा उनी वरिष्ठ नायब निरीक्षकमा बढुवा भएका हुन् ।

विशेष ब्युरोमा कार्यरत रहँदै आएका वरिष्ठ हवल्दार सविर अलि अन्सारीले पनि ठूला अपराधको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । अन्तर्राष्ट्रिय आतंकवाद तथा अन्तरदेशीय संगठित अपराधको अनुसन्धानमा उनी खटिँदै आएका छन् । उनी असइमा बढुवा भएका छन् । 

केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत हवल्दार लक्ष्मण सापकोटा उत्कृष्ट काम गरेका आधारमा वरिष्ठ हवल्दारमा बढुवा भएका छन् । ब्युरोमा उनले अदालतबाट दोषी ठहर भई फरार रहेका अपराधीको पक्राउमा योगदान दिएका थिए । 

गण्डकी प्रदेश प्रहरी गण, पोखरामा कार्यरत गनकुमार खण्डलुक खोंच तथा भिरमा फसेका तथा मृत्यु भएका व्यक्तिहरूको उद्धारमा खटिँदै आएका छन् । सातवटा घटनामा उनले उद्धार गरेका आधारमा उनी हवल्दारमा बढुवा भएका हुन् । इलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बुमा कार्यरत सहायक हवल्दार सुवास नेपाली हवल्दारमा बढुवा भएका छन् । उच्च हिमाली क्षेत्रमा मृत्यु भएका र हराएकाहरूको उद्धारमा सक्रियताका साथ काम गरेको र विभिन्न अपराधको अनुसन्धानमा खेलेको भूमिकाका आधारमा उनी विशेष बढुवामा परेका हुन् । 

अख्तियारमा कार्यरत असइ घिमिरे घुससहित पक्राउ गर्ने स्टिङ अप्रेसनमा निभाएको भूमिकाका आधारमा पुरस्कृत भई सइमा बढुवा भएका हुन् । प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाका उपेन्द्र चौधरी हवल्दारमा बढुवा भएका छन् । त्रुटिरहित ढंगले प्रहरी कर्मचारीको विवरण राख्ने कामका आधारमा उनी बढुवा भएका हुन् । 

मानव बेचबिखन ब्युरोमा कार्यरत प्रहरी जवान लोचन अधिकारी सहायक हवल्दारमा बढुवा भएका छन् । भारतको कोठीमा लगेर नेपाली महिला बिक्री गर्ने तथा ओमानमा मानव तस्करी गर्ने प्रतिवादीलाई उनले पक्राउ गरेका थिए । मिर्गाैला तस्करीमा संलग्न दुईजनालाई पनि उनले पक्राउ गरेका थिए । मानव बेचबिखन मुद्दाका नौ प्रतिवादीलाई पक्राउ गरेको गरेको मिहिनेतका आधारमा उनी पुरस्कृत भएका हुन् ।

नियमित सरुवा–बढुवा अवरुद्ध 
उत्कृष्ट काम गर्ने प्रहरीको बढुवा भए पनि नेपाल प्रहरीमा नियमित सरुवा–बढुवा भने अवरुद्ध छ । प्रहरी निरीक्षकको ३७ पद रिक्त भएको एक महिना हुँदा पनि प्रक्रिया सुरु हुन सकेको छैन भने चैतमै हुनुपर्ने सरुवा पनि रोकिएको छ । इन्सपेक्टरमा बढुवाको निर्णय नहुँदा तल्लो तहसम्म त्यसको असर परेको छ । थोरै पद रिक्त रहेको प्रतिस्पर्धी धेरै हुँदा निर्णय हुन नसकेको स्रोत बताउँछ । साथै, जवानदेखि एसपीसम्मको आवधिक सरुवा पनि निस्कन सकेको छैन । प्रहरी प्रधान कार्यालयले भने सरुवा–बढुवाको तयारी भइरहेको जनाएको छ । 
 

See More On

सुझावित समाचार