रेसुंगामा साउने मेला सुरु

पुरुषोत्तम महात्मा तथा कथा प्रवचन हुने

सोमबार, १ साउन, २०८०
डिजिटल संस्करण

गुल्मीको प्रसिद्ध धार्मिकस्थल रेसुंगामा साउन ७ गतेदेखि ११ गतेसम्म पुरुषोत्तम महात्मा तथा कथा प्रवचन हुने भएको छ।

विगत वर्षमा जस्तै यो वर्ष पनि सोमबारदेखि साउने मेला सुरु भएको छ। साउने मेला र मलमासलाई केन्द्रमा राखेर पाँच दिन पण्डित रमेश सुवेदीबाट पुरुषोत्तम महात्मा तथा कथा प्रवचन हुने रेसुंगा संरक्षण समितिका सचिव गोपालप्रसाद पन्थीले जानकारी दिए। 

साउन महिनाभर दैनिक स्थान, भजन कीर्तन तथा नृत्य पूजा हुने पन्थीले बताए। आज साउने सक्रान्ति, औँसी र सोमबार पनि भएकाले रेसुंगा जानेको घुइँचो लागेको छ।

धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणबाट निकै महत्वपूर्ण मानिने तपोभूमि रेसुंगामा हरेक वर्ष साउने संक्रान्तिदेखि साउन महिनाभर नै साउने मेला लाग्ने गरेको छ। साउन महिनामा रेसुंगामा रहेको पोखरीमा स्नान गरेमा सम्पूर्ण पाप नष्ट भई पुन्य तथा समृद्धि प्राप्त हुने धार्मिक जनविश्वास छ।

चार धामबाट ल्याएको जल (पानी) रेसुंगाको पोखरीमा मिसाइएकाले रेसुंगापोखरीमा स्नान गरेमा पुन्य प्राप्त हुने धार्मिक जनविश्वास छ। 

रेसुंगापोखरीमा स्नान गरी यज्ञशालाको दर्शन गर्ने दर्शनार्थीहरूको साउनभर घुइँचो लाग्ने गर्दछ। मेला भर्नका लागि गुल्मी अर्घाखाँची, पाल्पा, स्याङ्जा, प्युठान, बागलुङलगायतका जिल्लाबाट दर्शनार्थी आउने गरेको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए।

रेसुंगामा रहेको भ्युटावरबाट तराईका जिल्लाको समेत अवलोकन गर्न सकिने भएकाले रेसुंगाको महत्व अझ बढी छ। हिमशृंखला तथा तराईका फाँटहरू अवलोकन गर्न सकिने भएकाले रेसुंगा क्षेत्रको भ्रमण आन्तरिक पर्यटकका लागि रोजाइँ बन्ने गरेको छ।

रेसुंगा क्षेत्र धार्मिक दृष्टिले महत्वपूर्ण हुनुका साथै जैविक विविधताले पनि महत्वपूर्ण छ। यहाँ विभिन्न किसिमका जडीबुटी, वनस्पति, चराचुरुंगी तथा प्रशस्त जैविक खानी छन्। 

विभिन्न दृष्टिकोणले प्रशास्त सम्भावना रहे पनि प्रचारप्रसारको अभावमा यो क्षेत्र ओझेलमा परेको स्थानीयको गुनासो छ यस क्षेत्रमा एक सय १६ जातका वन्यजन्तु, ३१ प्रजातिका वनस्पति र एक सय ४५ जातिका जडीबुटी पाइने रेसुंगा संरक्षण समितिले जनाएको छ। पछिल्लो समय रेसुंगा नगरको नीति कार्यक्रममा रेसुंगा क्षेत्र प्राथमिकतामा परेको छ।

See More On

सुझावित समाचार