नेपाल भलिबल संघले राष्ट्रिय भलिबल टोलीका कप्तान हरिहजुर थापालाई बर्खास्त गरेको छ । संघको शनिबार अबेर राति भएको कार्यसम्पादन समितिको बैठकले थापालाई जिम्मेवारी निर्वाह गर्न नसकेको जनाउँदै कप्तानीबाट बर्खास्त गरेको हो । कार्यसम्पादन समितिले थापासँगै राष्ट्रिय टोलीका खेलाडी धनबहादुर भट्ट क्षेत्रीलाई ६ महिना अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । साथै, राजेन्द्र विष्ट र धनपति कुँवरलाई समान तीन महिनाको प्रतिबन्ध गरेको संघले जनाएको छ ।
सातौँ प्रधानमन्त्री पुरुष तथा महिला राष्ट्रिय भलिबल क्लब लिगमा त्रिभुवन आर्मी क्लबमा आबद्ध चारै खेलाडीले अनुशासनहीन गतिविधिमा संलग्न रहेको जनाउँदै कारबाही गरेको संघका महासचिव रोशन श्रेष्ठले नयाँ पत्रिकालाई जानकारी दिएका छन् । २५ असारमा लिगका दौरान गण्डकी प्रदेशविरुद्ध आर्मीले प्रतिस्पर्धा गरेको थियो । सो खेलको तेस्रो सेट चलिरहँदा आर्मीका ती खेलाडीले अनुशासन तोड्दै प्यारापिटमा दर्शकलाई कुटेका थिए ।
राष्ट्रिय टोलीमा आबद्ध आर्मीका खेलाडी धनबहादुरले दर्शकदिर्घामै गएर दर्शकलाई मुक्का प्रहार गरेका थिए ।धनबहादुरलाई सहयोग गर्न राजेन्द्र र धनपति पनि प्यारापिटमै पुगे । राष्ट्रिय टोलीका कप्तानसमेत रहेका थापाले खेलाडी ‘चेन्जिङ प्लेट’ बोक्दै आर्मीका खेलाडीलाई उत्तेजित बनाएको संघका महासचिव श्रेष्ठले बताए ।
‘आर्मीका सबै खेलाडी अनुशासनहीन कार्यमा संलग्न भएपछि कारबाही गरेका हौँ, कार्यसम्पादन समितिको प्रतिवेदनअनुसार खेलाडीलाई कारबाही गरिएको हो,’ उनले भने, ‘थापाले खेलाडीलाई सम्झाउनुपर्ने वेला आफैँ उत्तेजित भएर खेलाडीलाई नै अनुशासनहीन कार्यमा प्रोत्साहन गरेको देखियो, कप्तानको भूमिका निर्वाह नगरेकाले उनी बर्खास्तीमा परेका हुन् ।’ श्रेष्ठका अनुसार राजेन्द्र, धनपति र धनबहादुरले कारबाही अवधिभर भलिबलको कुनै पनि प्रतियोगितामा सहभागी हुन पाउनेछैनन् ।
आर्मी तथा राष्ट्रिय टोलीका मिडब्लकर दुर्गाबहादुर खड्कालाई सचेत गराएको छ । गण्डकीसँगको प्रतिस्पर्धामा खेलाडीले अनुशासन तोडेपछि महासचिव श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको थियो । समितिमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन थिए । समितिले आर्मीका खेलाडी, व्यवस्थापक र कुटाइ खाएका दर्शकसँग बयान लिएको थियो ।
दुई रेफ्रीलाई एक सिजन प्रतिबन्ध
संघले गण्डकी र आर्मीबीचको खेलमा रेफ्रीको भूमिका निर्वाह गरेका चित्र गुरुङ र अनिल रानालाई एक सिजनका लागि कारबाही गरेको छ । आगामी एक सिजन संघले आयोजना गर्ने लिग र च्याम्पियनसिपमा दुवैले निर्णायकको भूमिका पाउनेछैनन् । गुरुङ मुख्य रेफ्री र राना सहायक थिए । संघले दुवैलाई खेल नियन्त्रणमा राख्न नसकेको भन्दै कारबाही गरेको महासचिव श्रेष्ठले बताएका छन् । ‘दुवै अफिसियललाई खेल नियन्त्रणमा राख्न नसकेकाले कारबाही गरेका हौँ, उहाँहरूले संघले आयोजना गर्ने सिजनका दुवै प्रतियोगितामा निर्णायकको भूमिका पाउनुहुन्न,’ उनले भने । यसैबीच, कारबाहीमा परेका रेफ्रीले आपत्ति जनाउँदै संघमा ध्यानाकर्षणपत्र बुझाएका छन् । छानबिन समितिले भलिबल कोर्ट सानो रहेको र सुरक्षा व्यवस्थालाई ध्यानमा राख्न निर्देशन दिएको छ ।
हरिहजुर दशौँ कप्तान
गत ३२ जेठमा संघले हरिहजुरलाई नेपाली राष्ट्रिय भलिबल पुरुष टोलीका दशौँ कप्तान बनाएको थियो । नियमित कप्तान इम रानामगर बाहिरिएपछि थापाले कप्तानीको अवसर पाए । उनको कप्तानीमा नेपालले कीर्गिस्तानको बिस्केकमा भएको काभा नेसन्स भलिबल लिगमा सहभागिता जनाएको थियो । प्रतियोगितामा नेपालले एक खेलमा पनि जित निकाल्न सकेन । थापा सन् २०१५ देखि टोलीका मुख्य खेलाडीका रूपमा रहँदै आएका थिए । उनले सन् २०१५ मा ढाकामा भएको पहिलो एभिसी सेन्ट्रल जोनमा नेपालबाट डेब्यु गरेका थिए । उनले १२औँ र १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा समेत खेले । उनले चार संस्करणको एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता खेले ।