चार–चार महिनामा समाजवादी मोर्चाको नेतृत्व परिवर्तन

आइतबार, ३१ असार, २०८०
डिजिटल संस्करण
चार–चार महिनामा समाजवादी मोर्चाको नेतृत्व परिवर्तन

फाइल तस्बिर

मोर्चालाई बृहत् बनाउन अन्य दलसँग छलफल गर्ने, सचिवालयको सदस्यसचिवमा हमाल

समाजवादी मोर्चाको नेतृत्व चार–चार महिनामा परिवर्तन हुने भएको छ । सुरुको चार महिना एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मोर्चाको नेतृत्व गर्नेछन् । त्यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले मोर्चाको नेतृत्व गर्नेछन् ।

शनिबार बसेको मोर्चाको दोस्रो बैठकले नेतृत्व आलोपालोको मोडालिटी बनाएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । उनले भने, ‘आलोपालो नेतृत्व गर्ने पूर्वसहमतिअनुसार नेतृत्वको मोडालिटी टुंग्याएका छौँ । चार–चार महिनामा नेतृत्व परिवर्तन हुन्छ । सुरुमा हाम्रो पार्टीका अध्यक्ष माधव कमरेडले मोर्चाको नेतृत्व सम्हाल्नुभएको छ ।’

राजेन्द्र पाण्डे, उपाध्यक्ष, एकीकृत समाजवादी
आलोपालो नेतृत्व गर्ने पूर्वसहमतिअनुसार नेतृत्वको मोडालिटी टुंग्याएका छौँ । चार–चार महिनामा नेतृत्व परिवर्तन हुन्छ । सुरुमा हाम्रो पार्टीका अध्यक्ष माधव कमरेडले मोर्चाको नेतृत्व सम्हाल्नुभएको छ ।

बैठकले प्रदेश र जिल्ला तहमा पनि मोर्चाको संगठनात्मक संरचना विस्तार गर्ने निर्णय गरेको छ । केन्द्रीय संयोजन समितिमा सदस्य दलबाट बढीमा पाँच–पाँचजना, प्रदेशमा तीन–तीन र जिल्लामा दुई–दुईजना नेता रहनेछन् । 

केन्द्रीय संयोजन समितिमा माओवादीबाट प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, एकीकृत समाजवादीबाट नेपालसहित राजेन्द्र पाण्डे, प्रमेश हमाल र घनश्याम भुसाल, जसपाबाट यादवसहित राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी तथा नेकपाबाट विप्लवसहित खड्गबहादुर विश्वकर्मा छन् । बाँकी सदस्यबारे टुंगो लाग्न बाँकी रहेको विश्वकर्माले बताए ।

कार्यदलले तयार पारेको कार्यविधि, उद्देश्य, संगठनात्मक संरचना, बैठक र निर्णय प्रक्रियाबारेको प्रस्ताव परिमार्जनसहित मोर्चाको बैठकले पारित गरेको विश्वकर्माले जानकारी दिए । उनका अनुसार महिनाको एकपटक मोर्चाको बैठक बस्ने भएको छ । समाजवादी मान्यता बोकेका पार्टीहरूसँग छलफल र वार्ता गरी मोर्चालाई बृहत् बनाउने निर्णय पनि बैठकले गरेको छ । ‘समाजवादी मान्यता बोकेका पार्टीसँग वार्ता र छलफल गरेर मोर्चालाई बृहत् बनाउँदै लैजाने निर्णय भएको छ,’ विश्वकर्माले भने । 

चार सदस्यीय सचिवालय गठन
मोर्चाले चार सदस्यीय सचिवालय गठन गरेको छ । सचिवालयमा माओवादी महासचिव देव गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा छन् । हमाललाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ । सदस्यसचिवले बैठक सञ्चालन, एजेन्डा प्रस्तुत, माइन्युट लेखन र कार्यालयको प्रशासनिक कामको नेतृत्व गर्नेछन् । 

मोर्चाको कार्यालय पनि स्थापना गरिने भएको छ । तर, कार्यालय कहाँ रहने भन्ने निर्णय भइनसकेको हमालले जानकारी दिए । यसअघि नेपालको अध्यक्षतामा बसेको मोर्चाको पहिलो बैठकले कार्यविधि, आचारसंहिता र संगठनात्मक संरचनालगायतका विषय टुंग्याउन गुरुङ, हमाल, श्रेष्ठ र विश्वकर्मा रहेको कार्यदल गठन गरेको थियो । नेपालकै अध्यक्षतामा बसेको दोस्रो बैठकले कार्यदलका सदस्यलाई नै सचिवालयको जिम्मेवारी दिएको हो । 

साउनमा सातै प्रदेशमा सभा
मोर्चाले साउनमा सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको छ । प्रचण्ड र नेपालको विदेश भ्रमण रहेकाले साउनको दोस्रो हप्तापछि सभा हुने भएको छ । प्रधानमन्त्री प्रचण्ड इटाली र नेपाल इन्डोनेसिया भ्रमण जाने कार्यक्रम छ । मोर्चा गठनको उद्देश्य र समाजवादी यात्राबारे सभामार्फत देशव्यापी रूपमा प्रस्ट पारिने नेताहरूले बताएका छन् ।

अनुशासनमा कडाइ
मोर्चाले अनुशासनमा कडाइ गर्ने भएको छ । शनिबार पारित आचारसंहिताले सदस्य दलहरूले अन्तरविरोधी अभिव्यक्ति नदिने, उत्पीडित वर्ग, समुदाय र लिंगका जनतालाई सम्मानपूर्ण व्यवहार गर्ने, मोर्चाको अवधारणप्रति प्रतिबद्ध रहनेलगायतका विषय समेटिएको आचारसंहितालाई अन्तिम रूप दिइएको विश्वकर्माले जानकारी दिए ।

बैठकले माओवादी केन्द्रीय सल्लाहकार एवं माओवादी अध्यक्ष प्रचण्डपत्नी सीता दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मोर्चाले प्रचण्डसहित परिवारमा समवेदन पनि प्रकट गरेको छ । ‘स्व. दाहालले कम्युनिस्ट आन्दोलन र नेपालको राजनीतिक परिवर्तनमा महŒवपूर्ण भूमिका खेलेकाले उहाँप्रति श्रद्धाञ्जली र परिवारमा हार्दिक समवेदन प्रकट गरेका छौँ,’ हमालले भने ।

सुझावित समाचार