हेलिकोप्टर उडान सुरक्षित बनाउन नयाँ नियम

बिहिबार, २८ असार, २०८०
डिजिटल संस्करण

मालिक पाइलटलाई हेलिकोप्टरको व्यावसायिक उडानमा रोक, उडान नियमन गर्न कमिटी गठन, हेलिकोप्टरको उडान वा अवतरण बिन्दुमध्ये एक स्थान अनिवार्य रूपमा विमानस्थल हुनुपर्ने

चार महिनामा कहाँ कहाँ भए दुर्घटना ?
- २६ असारमा सोलुखुम्बुमा मनाङ हेलिकोप्टर दुर्घटना, ६ को मृत्यु
- २२ वैशाखमा संखुवासभामा सिम्रिक हेलिकोप्टर दुर्घटना, एकको मृत्यु
- २५ चैतमा ह्याम्स अस्पतालमा एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना
- २६ चैतमा धौलागिरि बेसक्याम्पमा हेली एभरेस्ट दुर्घटना, क्याप्टेन घाइते

नेपालमा पछिल्लो समय अत्यासलाग्दो रूपमा हेलिकोप्टर दुर्घटना बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान सुरक्षित बनाउन भन्दै नयाँ नियम जारी गरेको छ । २०२३ मै चारवटा हेलिकोप्टर दुर्घटनामा परेका छन् । जसमध्ये दुईवटा दुर्घटनामा मानवीय क्षति भएको छ ।

एकपछि अर्को हेलिकोप्टर दुर्घटनामा पर्न थालेपछि क्यानले हवाई सुरक्षा बढाउन कडाइ गर्न लागेको हो । पछिल्लो सात महिनामा हेलिकोप्टर दुर्घटनाबाट सातजनाले ज्यान गुमाएका छन् । हेलिकोप्टर उडानलाई थप सुरक्षित, व्यवस्थित र भरपर्दो बनाउने उद्देश्यसहित क्यानले बुधबार तत्कालै लागू हुने गरी पाँचवटा निर्णय गरेको छ । क्यानले हेलिकोप्टर तथा दुर्गम (स्टल) विमानस्थलमा हुने दैनिक उडान गतिविधिलाई नियमित रूपमा अनुगमन, सुपरिवेक्षण तथा नियमन गर्न विशेष टोली गठन गर्ने निर्णय गरेको हो । सरोकारवाला क्षेत्रका प्रतिनिधि सहभागी रहने टोलीले हेलिकोप्टर र दुर्गम उडानको दैनिक अनुगमन तथा नियन्त्रण गर्नेछ । 

हेलिकोप्टर उडानका लागि अहिले विभिन्न विमानस्थलबाट भइरहेको अनुमति मनसुन अवधिभर (सेप्टेम्बरसम्म) साप्ताहिक रूपमा समीक्षा गरी क्यानको प्रधान कार्यालयबाटै प्रदान गर्ने निर्णय गरिएको छ । अब उद्धार उडानको अनुमति पनि क्यानको प्रधान कार्यालयबाटै प्रदान हुने भएको छ । यी सबै उडानको साप्ताहिक रूपमा समीक्षा गरेर हवाई सुरक्षा बढाउने काम हुनेछ ।

हेलिकोप्टरको उडान सञ्चालन अनुमति दिँदा प्रस्थान बिन्दु वा अवतरण बिन्दुमध्ये कम्तीमा एक ठाउँमा विमानस्थल हुनुपर्ने व्यवस्था गरिएको छ । कुनै एउटा एयरपोर्टबाट उडेको हेलिकोप्टर टावरसँग समेत सम्पर्क नगरी दिनभर उडाउने र साँझ मात्र पार्किङ गर्न विमानस्थलमा फर्काउने प्रवृत्तिलाई रोक्न क्यानले यस्तो निर्णय गरेको हो । अब हेलिकोप्टरका पाइलटले उडान वा अवतरणमध्ये एक काम अनिवार्य विमानस्थलमा रहेको हेलिपोर्टमा गर्नुपर्नेछ । क्यानले चालू मनसुन अवधिभर (सेप्टेम्बरसम्म) विशेष प्रकृतिका हेलिकोप्टर उडान माउन्टेन फ्लाइट, सिलिङ उडान (सामान झुन्डाएर गरिने उडान) र पुष्पवृष्टि उडानहरू सञ्चालन गर्न निषेध गरेको छ । बर्सातको समयमा पानी परेका वेला यस्ता उडान गर्दा जोखिम बढ्ने क्यानको ठहर छ ।

यस्तै, क्यानले हेलिकोप्टर कम्पनीको मालिकसमेत रहेका पाइलटलाई उडानमा प्रतिबन्ध लगाएको छ । सेयरधनी लगानीकर्ताका रूपमा हेलिकोप्टर कम्पनीको सञ्चालक रहेका र अहिले उडानसमेत गर्दै आइरहेका हेलिकोप्टर चालकलाई व्यावसायिक उडानमा रोक लगाउने निर्णय भएको क्यानले जनाएको छ । आफैँ सञ्चालक रहेका पाइलटले हेलिकोप्टर उडाउँदा लागत घटाउनका लागि सर्ट रुटमा उडान गरी जोखिम मोल्ने गरेको क्यानको ठहर छ ।

२६ असारमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका– ५ लामाजुरा क्षेत्रमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । त्यसअघि २२ वैशाखमा अरुण तेस्रो जलविद्युत् आयोजनाको सामग्री झारेर फर्किंदा सिम्रिक एयरको हेलिकोप्टर संखुवासभाको भोटखोला गाउँपालिकाको सिप्रङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भयो । दुर्घटनामा पाइलटसहित चारजना यात्रु घाइते भएका थिए । गत २५ चैतमा एयर डाइनेस्टीको हेलिकोप्टर ९ एन–एजेडी ह्याम्स अस्पतालको छतमा अवतरण गर्ने क्रममा ‘टेल स्ट्राइक’ भएको थियो । हेलिकोप्टरको टेल रोटर मात्र भाँचिएको हुँदा पाइलटलाई कुनै चोटपटक लागेको थिएन । अर्को दिन २६ चैतमा हेली एभरेस्टको हेलिकोप्टर धौलागिरि बेसक्याम्पमा दुर्घटनामा परेको थियो । कार्गो बोकेको हेलिकोप्टर हवाहुरीका कारण अनियन्त्रित भएर दुर्घटना हुँदा क्याप्टेन प्रिया अधिकारी सामान्य घाइते भएकी थिइन् ।

अहिलेसम्म विभिन्न स्थानमा ४१ हेलिकोप्टर दुर्घटनामा परेका छन्, जसमा सयजनाभन्दा बढीको मृत्यु भएको छ । कुल हेलिकोप्टर दुर्घटनामध्ये २० दुर्घटनामा मानवीय क्षति भएको छ भने २१ दुर्घटनामा पाइलट र यात्रु सामान्य घाइते भएका छन् । 

हवाई सुरक्षामा खेलाची गरिनुहुन्न : ज्ञानेन्द्र भुल, सूचना अधिकारी, क्यान
हेलिकोप्टर सेवामा व्यावसायिक व्यावहारिकता र सुरक्षाको सन्तुलन कायम गर्नुपर्छ । हवाई सुरक्षामा ध्यान दिँदा व्यावसायिक पक्ष पनि हेरिनुपर्छ । व्यावसायिक पक्ष मात्र हेरेर सुरक्षामा खेलाची पनि गरिनुहुन्न ।

हवाई यात्राबाट कोही पनि मर्न नपरोस् भन्ने उद्देश्य राखेर पाँचवटा निर्णय गरेका छौँ । तत्कालका लागि मनसुन अवधिभर ट्रायलका रूपमा नयाँ नियम लागू गर्छौँ । हाम्रोजस्तो हिमाली र पहाडी भूभागमा मनसुनमा पूर्वी र पश्चिमी वायुको मिक्स प्रभाव हुने भएकाले कहाँ कति वेला हावा लाग्छ, पानी पर्छ, असिना पर्छ त्यो पूर्वानुमान गर्न कठिन हुन्छ । 

हवाई दुर्घटना भएर कसैको ज्यान जान्छ भने त्यो स्वीकार गर्न सकिँदैन । थोरै वायुसेवा कम्पनी नै किन नहोस्, आर्थिक ब्याकअप भएको, प्रोफेसनल म्यानपावर राख्न सक्ने, प्राविधिक रूपमा सक्षम, व्यावसायिक मिसन र भिजन भएको कम्पनी हुनुपर्छ । पान पसल खोलेजसरी उड्डयन व्यवसाय चल्दैन । 

सुझावित समाचार