अर्थशास्त्रीले लामो समयदेखि उत्पादकत्व नै समृद्धिको आधार हो भन्ने तर्क गर्दै आएका छन् । कुनै पनि देशले आफ्नो जीवनस्तर दिगो रूपमा बढाउन सक्ने एक मात्र उपाय भनेको कम स्रोतसाधनमा बढी वस्तु तथा सेवा उत्पादन गर्नु नै हो । औद्योगिक क्रान्तियता नवप्रवर्तनमार्फत उत्पादकत्व हासिल गरिँदै आएको छ, जसका कारण जनबोलीमा प्रविधिगत प्रगति एवं अनुसन्धान तथा विकास (आरएन्डडी) ‘उत्पादकत्व’को पर्यायवाची नै बनेको छ ।
नवप्रवर्तनले उत्पादकत्वलाई कसरी बढावा दिन्छ भन्नेबारेको हाम्रो अन्तर्ज्ञानलाई व्यवसायका दैनन्दिन अनुभवले आकार दिएको छ । नयाँ प्रविधि अपनाउने फर्महरू अधिक उत्पादनशील हुन्छन्, जसले उनीहरूलाई प्राविधिक सुस्तीलाई उछिन्न समर्थ बनाउँछ । यद्यपि, समाजको उत्पादकत्व र फर्मको उत्पादकत्व एउटै कुरा भने होइन । कुनै व्यवसायमा उत्पादकत्व वृद्धिलाई बढावा दिने कुनै कुराले सम्पूर्ण देश वा अर्थव्यवस्थाको उत्पादकत्वमा काम नगर्न सक्छ । बरु कहिलेकाहीँ प्रतिकूल हुन सक्छ । फर्महरूलाई आफूले छनोट गरेका स्रोतहरूको मात्र उत्पादकत्व वृद्धिमा ध्यान केन्द्रित गर्न सक्ने सुविधा हुन्छ, तर समाजले आफ्ना सबै मानिसको उत्पादकत्व बढाउन आवश्यक हुन्छ । तर, धेरैजसो अर्थशास्त्री (र अन्य पनि) प्रविधिगत प्रगतिले अन्ततोगत्वा सबैलाई प्रभावित तुल्याउने मान्यताका कारण यो भेद बुझ्न असफल छन् । अक्सर प्रविधिको तात्कालिक लाभ मुठीभर फर्म र लगानीकर्तालाई मात्र प्राप्त हुन्छ ।
अर्थशास्त्रीद्वय डारोन एसिमोग्लु र सिमोन जोनसनले आफ्नो नयाँ पुस्तकमा सम्झाएझैँ प्रविधिगत प्रगतिले अन्ततोगत्वा सबैलाई प्रभावित तुल्याउने विश्वास ऐतिहासिक रूपमा सत्य छैन । औद्योगिक क्रान्तिले आधुनिक आर्थिक वृद्धिको युग सुरुवात गरेको त हो, तर यसले अधिकांश साधारण श्रमिकको कल्याणमा प्रगति भने गर्न सकेन ।
अझ खराब त के भने प्रविधिगत प्रगतिको पछिल्लो लहरसँगै यो परम्परागत संकथनको सत्यता अझै कम भएर गएको छ । नवीन टेक्नोलोजीहरूको लाभ सानो समूहले कब्जा गर्ने भएकाले यिनले सबैलाई लाभान्वित नबनाउन सक्छन् । फाइदा केही फर्म वा श्रमशक्तिको सानो तप्कामै सीमित हुन सक्छ । यसको एउटा दोषी अनुपयुक्त संस्था र नियम हुन् । तिनले आधुनिक क्षेत्रमा बाहिरी व्यक्तिहरूको प्रवेशलाई प्रतिबन्धित गरिदिन्छ । अर्काे दोषी प्रविधिको आफ्नै प्रकृति हो । नवप्रवर्तनले अत्यन्त कुशल कामदार एवं पेसाकर्मीजस्ता प्रायः विशिष्ट समूहलाई मात्र सशक्त बनाउँछ ।
अतिशय भूमण्डलीकरण युगको एउटा विरोधाभासमाथि विचार गरी हेरौँ । सन् १९९० को दशकपछि व्यापारको लागत घट्दै गएको र म्यानुफ्याक्चरिङका उत्पादन विश्वभर फैलिँदै गएको अवस्थामा न्यून र मध्यम आय भएका मुलुकका धेरै फर्म विश्वव्यापी आपूर्ति शृंखलामा एकीकृत भए । तिनले अत्याधुनिक उत्पादन प्रविधि अपनाए । फलस्वरूप, ती फर्मको उत्पादकत्व छलाङ मार्दै वृद्धि भयो । तर, ती फर्म मूल रूपमा जुन अर्थव्यवस्थाका थिए, तिनको उत्पादकत्व धेरै अवस्थामा स्थिर भयो वा अझ घट्यो नै ।
समाजलाई समृद्ध बनाउने उत्पादकत्व वृद्धिका लागि वैज्ञानिक एवं प्रविधिगत नवप्रवर्तन आवश्यक त छ, तर यति नै पर्याप्त हुँदैन । सही प्रकारका पूरक नीतिविना प्रविधिगत प्रगतिले बढ्दो जीवनस्तरलाई दिगो बनाउन सक्दैन, बरु केही अवस्थामा देशलाई पछाडि धकेल्नसमेत सक्छ ।
मेक्सिको कुनै समय अतिशय विश्वव्यापीकरणको पर्याय थियो । यो एउटा आश्चर्यजनक केस स्टडी हो । सरकारले सन् १९८० को दशकमा अपनाएको उदारीकरण र सन् १९९० को दशकको उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)का कारण मेक्सिकोले म्यानुफ्याक्चरिङका उत्पादन निर्यात र प्रत्यक्ष वैदेशिक लगानीको आप्रवाहमा उछाल साक्षात्कार गरेको थियो । तर, नतिजा हेर्ने हो भने त्यो एकदमै असफल थियो । अन्य थुप्रै ल्याटिन अमेरिकी देशसँगै मेक्सिकोले पनि त्यसपछिका दशकमा कुल उत्पादकत्व वृद्धिमा ऋणात्मकता अनुभव गर्यो ।
अर्थशास्त्रीद्वय ओस्कार फेन्टानेस र सान्टियागो लेभीको हालैको विश्लेषणले मेक्सिकोको म्यानुफ्याक्चरिङ विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न बाध्य भएपछि भने अधिक उत्पादनशील बनेको देखाउँछ । आफूलाई त्यसअनुकूल ढाल्न असफल र उत्पादकत्व कम भएका फर्म अन्ततः बन्द भए, बचेका फर्ममध्ये धेरैले नयाँ प्रविधि अपनाए र थप उत्पादनशील भए ।
उनीहरूको समस्या दोहोरो थियो । पहिलो, म्यानुफ्याक्चरिङ कम्पनीहरू (विशेषगरी औपचारिक फर्महरू) रोजगारी दिने सन्दर्भमा संकुचित हुँदै गए । त्यसपछि, साना, अनौपचारिक फर्महरूको बहुलता रहेको बाँकी अर्थव्यवस्था झन्–झन् अनुत्पादक हुँदै गयो । यसकारण, विश्वव्यापीकरणतर्फ उन्मुख म्यानुफ्याक्चरिङ क्षेत्रको उत्पादकत्व वृद्धि अनौपचारिक क्षेत्रलगायत कमजोर प्रदर्शन भएका क्षेत्रको तुलनामा केही बढी देखियो ।

फेन्टानेस र लेभी यी दुष्परिणामको श्रेय मेक्सिकोको श्रम र सामाजिक–सुरक्षणका नियमलाई दिन्छन् । यसले उनीहरूको दाबीअनुसार अनौपचारिक क्षेत्रलाई प्रोत्साहित गर्यो र औपचारिक क्षेत्रका फर्महरूको वृद्धिमा बाधा पुर्यायो । हुन त अन्य थुप्रै ल्याटिन अमेरिकी अर्थव्यवस्थाका साथै अफ्रिकाको सब–सहारा क्षेत्रका मुलुकमा उत्पादकत्व ध्रुवीकरणको यस्तै ढाँचा पाउन सकिन्छ ।
म्यानुफ्याक्चरिङ प्रविधिको बदलिँदो प्रकृतिसँग सम्बन्धित छ, यसको वैकल्पिक व्याख्यान । विश्वव्यापी मूल्य शृंखलामा एकीकृत हुन चाहिने सीप र पुँजीको आवश्यकता यति ठूलो छ कि यी स्रोत नहुने देशले तीव्र रूपमा बढ्दो लागतको सामना गर्न थालेका छन्, यसले तिनका फर्मलाई विस्तार हुन रोकेको छ । ग्रामीण इलाकाबाट सहरहरूमा ओइरिने श्रमिकसँग अब कम उत्पादकत्व भएका सानातिना सेवाक्षेत्रमा झुम्मिनुबाहेक विकल्प छैन ।
अन्तर्निहित कारण जेसुकै होस् यो मुद्दाले उत्पादकत्व बढाउने सरकारी रणनीतिको निसाना किन चुक्न सक्छ भन्ने कुराको उदाहरण प्रस्तुत गर्छ । चाहे त्यो ग्लोबल भ्यालु चेनमा आबद्ध हुने कुरा होस् वा आरएन्डडीमा अनुदान दिने कुराका रूपमा होस्, परम्परागत नीतिहरू अक्सर निसाना चुक्ने गर्छन् । समस्या फर्महरूमा नवीनताको कमी होइन, बरु उत्पादकत्वमा उनीहरू र बाँकी अर्थव्यवस्थाबीचको खाडलचाहिँ हो । साना, सेवामूलक फर्महरूलाई प्रशिक्षण, सार्वजनिक लगानी र विजनेस सेवाहरू प्रदान गरेर माथि उठाउनु शीर्ष कम्पनीलाई माथि उठाउनुभन्दा बढी प्रभावकारी हुन सक्छ ।
यी सिक (पाठ) आर्टिफिसियल इन्टेलिजेन्सको नयाँ युगका लागि हुन् । लार्ज ल्याङ्वेज मोडलको व्यापक काम अत्यन्त तीव्र गतिमा गर्न सक्ने क्षमताले अब उत्पादकत्वमा उल्लेखनीय वृद्धि गर्ने भनेर निकै उत्साह उत्पन्न गरेको छ । फेरि पनि यस प्रविधिको समग्र प्रभाव यसका फाइदा अर्थव्यवस्थामा कुन हदसम्म विस्तार गर्न सकिन्छ भन्नेमा नै निर्भर गर्नेछ ।
अर्जुन रमानी र झेङडोङ वाङले निर्माण, प्रत्यक्ष अन्तरक्रिया आवश्यक हुने सेवाहरू, मानव–निर्भर सिर्जनात्मक कार्यजस्ता अर्थतन्त्रका महत्वपूर्ण क्षेत्रको उत्पादकत्व वृद्धिमा एआईको प्रभाव विस्तार नभए एआईको उत्पादकत्वको लाभ पनि सीमित हुन सक्छ, जुन केही गतिविधिको बढ्दो मूल्यले जीवनस्तरमा अर्थव्यवस्था–व्यापी सुधारलाई रोक्ने तथाकथित बाउमोल लागत रोगकै संस्करण हुनेछ ।
यी विचारले हामीलाई प्रविधिप्रति निराशावादी भने बनाउनुहुँदैन । तर, तिनले उत्पादकत्वलाई प्रविधि, आरएन्डडी (अनुसन्धान तथा विकास) र नवप्रवर्तनसँग तुलना नगर्न सचेत गराउँछन् । समाजलाई समृद्ध बनाउने उत्पादकत्व वृद्धिका लागि वैज्ञानिक एवं प्रविधिगत नवप्रवर्तन चाहिन्छ, तर त्यही नै पर्याप्त भने हुँदैन । प्रविधिगत प्रगतिलाई व्यापक उत्पादकत्व वृद्धिमा रूपान्तरण गर्न विशेषगरी व्यापक प्रसारलाई प्रोत्साहित गर्ने, उत्पादकत्व द्विविधाबाट बच्ने र समावेशिता सुनिश्चित गर्ने गरी डिजाइन गरिएका नीति चाहिन्छन् ।
– प्रोजेक्ट सिन्डिकेटबाट
(हार्वर्ड केनेडी स्कुलमा अन्तर्राष्ट्रिय राजनीतिक अर्थव्यवस्थाका प्रोफेसर दानी रोद्रिक अन्तर्राष्ट्रिय आर्थिक संघका अध्यक्ष पनि हुन् ।)