मुलुकको भुक्तानी सन्तुलन दुई खर्ब २९ अर्ब बचतमा, नौ महिना १८ दिनको वस्तु तथा सेवाको आयात धान्ने
नेपालको अर्थतन्त्रको बाह्य क्षेत्रको सूचक कोभिड–१९ पूर्वकै अवस्थामा फर्किएको छ । रेमिट्यान्समा भएको वृद्धि र आयातमा आएको कमीका कारण बाह्य क्षेत्र त्रासदीपूर्ण अवस्थाबाट बाहिरिएको नेपाल राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।
केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांकले पनि यसलाई पुष्टि गर्छ । मुलुकको भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) दुई खर्ब २८ अर्ब ९८ करोड रुपैयाँले बचतमा पुगेको छ ।
अल्पकालीन प्रतिफल दिने क्षेत्रमा कर्जा जान दिँदैनौँ : गुणाकर भट्ट, प्रवक्ता, नेपाल राष्ट्र बैंक
११ महिनाको आर्थिक परिदृश्यले आगामी कार्यदिशा तय गर्नमा मार्गनिर्देशन दिएको छ । आर्थिक स्थायित्वलाई केन्द्रमा राखेर अहिलेको शिथिल आर्थिक क्रियाकलाप बढाउनुपर्ने अवस्था छ । पछिल्लो समय लगानीयोग्य पुँजीमा सहजता हुँदै गइरहेको समयमा अल्पकालीन प्रतिफल दिने अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह हुन नदिनेतर्फ राष्ट्र बैंक सतर्क छ ।
राष्ट्र बैंकले साउनको पहिलो साता आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । ११ महिनाको आर्थिक परिदृश्यले आगामी कार्यदिशा तय गर्नमा मार्गनिर्देशन दिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । उनले भने, ‘आर्थिक स्थायित्वलाई केन्द्रमा राखेर अहिलेको शिथिल आर्थिक क्रियाकलाप बढाउनुपर्ने अवस्था छ ।’
आर्थिक वर्ष ०७६/७७ को प्रथम ११ महिनामा शोधनान्तर स्थिति एक खर्ब ७९ अर्ब ३७ करोडले बचतमा थियो । त्यसपछिका आर्थिक वर्षहरूमा शोधनान्तर स्थिति घाटामा जान थाल्यो । मुलुकबाट भित्रिने रकमको तुलनामा बाहिरिने रकम बढी हुँदै गएपछि गत आर्थिक वर्षमा यो स्थिति दुई खर्ब ६९ अर्ब ८१ करोडले घाटामा पुगेको थियो । तर, पछिल्लो समय शोधनान्तर स्थिति बचतमा जानेक्रम बढ्दै गएको र विदेशी मुद्रा सञ्चितिमा समेत वृद्धि भएर बाह्य क्षेत्र कोभिडपूर्व स्थितिमा फर्किएको राष्ट्र बैंकका प्रवक्ता भट्टले बताए ।
राष्ट्र बैंकका अनुसार ११ महिनामा विदेशी विनिमय मुद्रा सञ्चिति नौ महिना १८ दिनको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त छ । हाल यस्तो सञ्चिति गत असारको तुलनामा २१.८ प्रतिशतले बढेर १४ खर्ब ८० अर्ब रुपैयाँ (११ अर्ब ३० करोड अमेरिकी डलर) कायम भएको छ ।
त्यस्तै, मुद्रास्फीतिसमेत १५ महिनायताकै कम ६.८३ प्रतिशतमा झरेको छ । यसले बाह्य क्षेत्र सुविधाजनक स्थितिमा पुगेको देखाएको प्रवक्ता भट्टको भनाइ छ । उनले भने, ‘प्रि–कोभिड लेबलमा आइरहेको छ । यो शोधनान्तर बचतमा आएको छ, यो राम्रो हो । सञ्चितिमा सुधार आएको छ । यसले बाह्य क्षेत्र सुविधाजनक देखिन्छ ।’
अहिले भारतलगायत अन्तर्राष्ट्रिय रूपमै मुद्रास्फीति घटिरहेकाले अर्थतन्त्र सुधारको बाटोमा लम्किएको छ । साथै, बजारको ब्याजदरसमेत घट्दै गइरहेकाले अर्थतन्त्रका लागि सुखद भविष्यको संकेत देखापरेको उनको बुझाइ छ । केन्द्रीय बैंकका अनुसार यस अवधिमा रेमिट्यान्स २२.७ प्रतिशतले वृद्धि भई ११ खर्ब १२ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ४.१ प्रतिशतले बढेको थियो ।
यी हुन् चिन्ताजनक सूचक
पछिल्लो समय बाह्य क्षेत्रका प्रमुख सूचकहरू सुधारोन्मुख देखिए पनि केही सूचकहरूले चिन्ताजनक नै रहेको संकेत गरेका छन् । यसले दिगो आर्थिक विकासका लागि असर पुर्याउन सक्छ । राष्ट्र बैंकका अनुसार पछिल्लो ११ महिनामा प्रत्येक्ष वैदेशिक लगानी चार अर्ब ३५ करोडमा सीमित भएको छ । गत आर्थिक वर्षको यो अवधिमा १७ अर्ब ३५ करोडको लगानी प्रतिबद्धता आएको थियो ।
विदेशी लगानी घट्नु चिन्ताजनक : नरबहादुर थापा, पूर्वकार्यकारी निर्देशक
११ महिनाका सूचकहरू त्यति राम्रा छैनन् । पोहोर २० अर्बको वैदेशिक लगानी भित्रिएकोमा अहिले साढे चार अर्बमा सीमित भएको छ । वैदेशिक लगानी बढ्नु भनेको आन्तरिक उत्पादन बढ्नु हो, रोजगारी बढ्नु हो । यसमा नीति–निर्माताले सोच्नुपर्यो । शोधनान्तर स्थिति बचतमा गयो । विदेशी मुद्रा सञ्चिति बढ्दै गयो । यसले बाह्य क्षेत्रमा सुधार भयो । स्वदेशमा रोजगारी नपाउने नागरिकलाई यसले कुनै अर्थ राख्दैन ।
शोधनान्तर बचत र विदेशी मुद्रा सञ्चिति वृद्धिले अर्थतन्त्रलाई सन्तुलनमा राख्न मद्दत पुगे पनि देशमा अवसर खोज्ने युवा जनशक्तिलाई तात्विक प्रभाव नपर्ने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए । अहिलेको अवस्थामा विदेशी लगानी घट्नु सर्वसाधारणलाई प्रत्यक्ष असर पार्ने विषय भएको उनको टिप्पणी छ । उनले भने, ‘वैदेशिक लगानी बढ्नु भनेको आन्तरिक उत्पादन बढ्नु हो, रोजगारी बढ्नु हो । नीति–निर्मातालाई यसमा कुनै चिन्ता छैन । बाह्य क्षेत्र सुधार भएको विषयमा नै रमाइरहेको छ ।’
देशमा रोजगारी बढाउने प्रमुख स्रोत विदेशी लगानी घट्दा दक्ष जनशक्ति बिदेसिनुपरेको छ । नेपालमा हालसम्म उद्योगधन्दा फस्टाउनु, रोजगारी सिर्जना हुनु र नयाँ प्रविधि भित्रिनुमा वैदेशिक लगानीको मुख्य योगदान रहेको उल्लेख गर्दै अहिले विदेशी लगानी घट्नु चिन्ताको विषय बनेको उनको भनाइ छ ।
उनले भने, ‘वैदेशिक लगानी नआएको भए हातहातमा मोबाइल हुँदैनथे । देश सिमेन्टमा आत्मनिर्भर बन्दैनथ्यो । जलविद्युत्मा राम्रो भएकै विदेशी लगानी आएर हो । बैंक तथा वित्तीय संस्थामा राम्रो भएको विदेशी लगानीकै कारण हो । वैदेशिक लगानीसँग प्रविधि पनि जोडिएको छ । बजार जोडिएको छ ।’
सरकार र राष्ट्र बैंकले शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिमा आएको सुधारमा रमाउन छाडेर विदेशी लगानी किन आएन भनेर सोच्नुपर्ने वेला आएको उनको भनाइ छ ।
साथै, पछिल्लो समय निकै उत्साहजनक मानिएको पर्यटक आगमनको तथ्यांकले देशलाई तुलनात्मक लाभ नदिएको उनको विश्लेषण छ । तथ्यांक हेर्ने हो भने पर्यटक आगमन बढेसँगै ११ महिनामा भ्रमण आयसमेत ९४.३ प्रतिशतले बढेको छ । यसबीच भ्रमण आय ५८ अर्ब ६ करोड पुगेको छ । सँगसँगै देश भित्रिने पर्यटकभन्दा विदेश गएर नेपालीले गर्ने भ्रमण खर्च दोब्बर छ । अर्थात् यसबीच एक खर्ब १९ अर्ब ९९ करोड रुपैयाँ नेपालीले विदेश भ्रमणमा खर्च गरेका छन् । त्यसैले खुद सेवा आय नै ६७ अर्ब ६८ करोडले घाटामा छ ।
अर्थतन्त्रको जग भनिएको पर्यटन क्षेत्रबाट समेत नेपालले तुलनात्मक लाभ लिन नसकेर सेवा आय घाटामा गएको थापाको भनाइ छ । आयात घटेर बाह्य क्षेत्र सुविधाजनक स्थितिमा पुगेको टिप्पणी भइरहेका वेलामा निर्यात व्यापारसमेत खस्किरहेको तथ्य अर्थतन्त्रका लागि सुखद संकेत देखिँदैन । थापाले भने, ‘अर्काेतर्फ वस्तु निर्यात घट्नु नराम्रो हो । यो देशको औद्योगिक क्षेत्रसँग सम्बन्धित छ । यसले देशको औद्योगिक क्षमता कमजोर हुँदै गइरहेको देखाउँछ ।’ एघार महिनामा कुल वस्तु निर्यात २२.७ प्रतिशतले कमी आई एक खर्ब ४३ अर्ब ५९ करोड कायम भएको छ ।
लगानीयोग्य पुँजीमा सहज बन्दै गइरहे पनि निजी क्षेत्रबाट नयाँ परियोजना आउन नसकेकाले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह हुनेमा संशय बढ्दै गइरहेको उनको बुझाइ छ ।
११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २३.४ प्रतिशतले बढेको छ । घरजग्गा क्षेत्रमा ५.२ प्रतिशतले बढेको र मार्जिन प्रकृतिको कर्जा ७.२ प्रतिशतले घटेको देखिन्छ । वित्तीय प्रणालीमा ब्याजदर सस्तिने र लगानीयोग्य पुँजीमा सहजता आउनेबित्तिकै घरजग्गा र सेयर बजारमा कर्जा प्रवाह बढ्ने जोखिम कायमै छ । यसबाट नयाँ उद्योग वा परियोजनाका लागि कर्जा प्रवाह हुनेभन्दा पनि ऋण तिर्नकै लागि ऋण लिने प्रवृत्ति हाबी हुने गरेको थापाको विश्लेषण छ । उनले भने, ‘जति नै तरलता सहज भए पनि निजी क्षेत्रका नयाँ परियोजना आएको सुनिएका छैनन् । त्यसैले बैंकबाट कर्जा लिएर कर्जा तिर्नमै प्रयोग भइरहेको देखिन्छ । साथै जग्गा र सेयरको मूल्य बढाउनसमेत यसले भूमिका खेल्ने गर्छ ।’ उनले सर्वसाधारणको ५० खर्बभन्दा बढी रकम बैंकहरूले दाउमा लगाउन नहुने उनको भनाइ छ ।
राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले अहिलेको सुविधाजनक स्थितिमा नभुलिएर संरचनागत सुधारमा ध्यान दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । पछिल्लो समय लगानीयोग्य पुँजीमा सहजता हुँदै गइरहेको समयमा अल्पकालीन प्रतिफल दिने अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह हुन नदिनतर्फ राष्ट्र बैंक सतर्क रहेको प्रवक्ता भट्टको भनाइ छ ।
११ महिनाको आर्थिक परिदृश्यले आगामी कार्यदिशा तय गर्नमा मार्गनिर्देशन दिएको छ । आर्थिक स्थायित्वलाई केन्द्रमा राखेर अहिलेको शिथिल आर्थिक क्रियाकलाप बढाउनुपर्ने अवस्था छ । पछिल्लो समय लगानीयोग्य पुँजीमा सहजता हुँदै गइरहेको समयमा अल्पकालीन प्रतिफल दिने अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह हुन नदिनेतर्फ राष्ट्र बैंक सतर्क छ ।
११ महिनाका सूचकहरू त्यति राम्रा छैनन् । पोहोर २० अर्बको वैदेशिक लगानी भित्रिएकोमा अहिले साढे चार अर्बमा सीमित भएको छ । वैदेशिक लगानी बढ्नु भनेको आन्तरिक उत्पादन बढ्नु हो, रोजगारी बढ्नु हो । यसमा नीति–निर्माताले सोच्नुपर्यो । शोधनान्तर स्थिति बचतमा गयो । विदेशी मुद्रा सञ्चिति बढ्दै गयो । यसले बाह्य क्षेत्रमा सुधार भयो । स्वदेशमा रोजगारी नपाउने नागरिकलाई यसले कुनै अर्थ राख्दैन ।