कतारबाट मासिक ७० किलो सुन तस्करी

मंगलबार, २६ असार, २०८०
डिजिटल संस्करण

कानुनको छिद्र प्रयोग गर्दै विमानस्थलबाट तस्करी भइरहेको प्रहरी अनुसन्धानमा खुल्यो

कतारबाट मात्रै प्रत्येक महिना कम्तीमा ७० किलो सुन तस्कर भएर नेपाल आउने गरेको खुलेको छ । तस्करले उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्र्याउने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । 

सरकारले वैदेशिक रोजगारमा गएका मजदुरलाई ५० ग्रामसम्म सुन ल्याउन अनुमति दिएको छ । कानूनको सोही छिद्र प्रयोग गरेर तस्करले कतारबाट मात्रै प्रति महिना कम्तीमा ६७ किलो पाँच सय ग्राम सुन नेपाल भित्र्याउने गरेको खुलेको हो । सुन भित्र्याउँदै गरेका पाँच भरियासहित कारोबारमा संलग्न अन्य ११ अभियुक्त पक्राउ परेपछि यो तथ्य खुलेको हो । 

वैदेशिक रोजगारीबाट घर फर्किएका नेपालीलाई तस्करीमा प्रयोग गरेको पाइयो : एसएसपी डा. मनोज केसी, प्रमुख काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय
कानुनको छिद्र प्रयोग गर्दै कतारबाट नियमित रूपले सुन तस्करी भइरहेको पाइएको छ । तस्करहरूले यसका लागि वैदेशिक रोजगारबाट नेपाल फर्किएका मजदुरलाई प्रयोग गर्ने गरेको देखिन्छ । उनीहरूले प्रत्येक महिना कम्तीमा ७० किलो सुन विमानस्थलबाट नेपाल भित्र्याउने गरेको अनुसन्धानबाट खुलेको छ । 

घटनाको अनुसन्धानमा संलग्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले कतारबाट मात्रै प्रत्येक महिना कम्तीमा ७० किलो सुन तस्कर भएर नेपाल आउने गरेको बताए । कतार–नेपाल प्रत्येक दिन तीनवटा उडान हुने गर्छ । प्रहरीका अनुसार उडान भर्ने प्रत्येक जहाजमा तस्करले कम्तीमा १५ जना मजदुरलाई ५० ग्रामका दरले सुन पठाउँछन् । यस आधारलाई आधार मान्दा १५ मजदुरले एउटा फ्लाइटबाट मात्रै तस्करको सात सय ७५ ग्राम सुन लिएर नेपाल आउँछन् ।

तीनवटा फ्लाइटबाट सोही दरमा तस्कर गर्दा महिनामा कम्तीमा ६७ किलो पाँच सय सुन नेपाल भित्रिने गरेको प्रहरीको भनाइ छ । प्रहरीले तस्करको सुन लिएर नेपाल आएका नरेश पन्जियार, दिनेशकुमार यादव, भुमबहादुर ओली, सुनिलकुमार महरा र सन्त गुलाम मुरावलाई आइतबार बिहान अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनीहरूबाट प्रहरीले तस्करले पठाएको दुई सय ९० ग्राम सुन बरामद गरेको थियो । सोही क्रममा प्रहरीले बिमानस्थलबाट सुन बुझ्ने र बिक्री गर्ने विनोदकुमार साह, सन्जुकुमारी साह, दुर्गाप्रसाद यादव, निमाई साह, देवनन्दन साह र शिवसुन्दर राउतलाई पनि पक्राउ गरेको छ । 

चार वर्षमा साढे दुई अर्बको कारोबार
तस्कर गरी ल्याएको सुन सप्तरीको बलान–बिहुल गाउँपालिका– २ की २५ वर्षीया सन्जुकुमारी साहले विमानस्थलको पार्किङमा पुगेर बुझ्थिन् । केही सुन बागबजारस्थित सुर्पना ज्वेलर्सका सञ्चालक निमाइ साहलाई बेच्थिन् । र, रकम ‘नेपाल नेक्सस’का मुख्य एजेन्ट रहेका सिराहा लहान– ४ का शिवसुन्दर राउतलाई पठाउँथिन् । त्यसबापत उनले निश्चित कमिसन बुझ्थिन् । सप्तरीकै बलान–बिहुला– ६ का २२ वर्षीय दुर्गाप्रसाद यादव र बोदे बसाइन– १ का २८ वर्षीय देवानन्द साहले पनि सुन बुझ्थे । बिक्री भएको रकम राउतको बैंक खातामा दाखिला गरिदिन्थे । राउतले जम्मा भएको रकम रेमिटमार्फत कतारमा रहेका तस्करलाई पठाउँथे । यसका लागि उनले लाहानमा ‘आई पे रिमिट’ खोलेका थिए । उनले लाहानमा ‘रितेश जनरल स्टोर’ पनि खोलेका थिए ।

प्रहरीका अनुसार उनको बैंक खाता विश्लेषण गर्दा चार वर्षयता एक अर्ब ९३ करोड ६८ लाख ६१ हजार ४९५ रूपैयाँ कारोबार भएको देखिन्छ । जसमध्ये एक अर्ब ८१ करोड ५७ लाख १९ हजार ८७ रुपैयाँ ‘रितेश जनरल स्टोर’को नाममा खोलिएको बैंक खाताबाट र बाँकी १२ करोड ११ लाख ४२ हजार चार सय आठ रुपैयाँ ‘आई पे रिमिट’बाट भएको देखिन्छ । त्यसबाहेक ४१ करोड ५४ लाख ७६ हजार ८६९ रूपैयाँ बिनोदकुमारको बैक खाताबाट कारोबार भएको देखिन्छ ।

तस्करको सुन बिक्री गरी रकम बाँडफाँट गर्नेमध्ये उनी दोस्रो मुख्य एजेन्ट हुन् । त्यस्तै, मोहनकुमारको बैंक खाताबाट ४८ लाख ७० हजार ६ सय ८७ रुपैयाँ र सन्जुकुमारीको बैँक खाताबाट दुई करोड १० लाख २७ जहार चार सय ९७ रुपैयाँ कारोबार भएको देखिन्छ । चार वर्षको अवधिमा उनीहरूबाट मात्रै दुई अर्ब ३७ करोड ८२ लाख ३६ हजार पाँच सय ४९ रुपैयाँको कारोबार भएको अनुसन्धानबाट देखिएको छ । 

सुझावित समाचार