लगनखेलबाट प्रहरी कार्यालय हटाउन लागिएको विरोधमा महानगरपालिका घेराउ

शुक्रबार, २२ असार, २०८०
डिजिटल संस्करण

ललितपुर महानगरपालिकाले लगनखेलस्थित प्रहरी कार्यालय हटाएर व्यापारिक भवन बनाउन लागेको विरोधमा स्थानीयवासीले महानगरपालिका कार्यालय घेराउ गर्ने निर्णय फिर्ता लिन दबाब दिएका छन् । सरकारी जग्गामा व्यापारिक भवन बनाउन नहुने र बसपार्कबाट प्रहरी चौकी हटाउन नहुने स्थानीयको माग छ । 

बिहीबार सयौँको संख्यामा स्थानीय जम्मा भएर महानगरपालिका कार्यालय घेराउ गर्दै ठेक्का बदर गर्न माग गरेका छन् । महानगरपालिकाले केही व्यापारीको स्वार्थमा सरकारी जग्गामा व्यापारिक कम्प्लेक्स बनाएर प्रहरी कार्यालयलाई गल्लीभित्र सार्न लागेको उनीहरूको आरोप छ । यसरी प्रहरी कार्यालय सार्दा लगनखेल क्षेत्रको शान्ति सुरक्षामा असर पर्ने उनीहरूको भनाइ छ ।  

लगनखेल बसपार्कसँगै जोडिएको करिब तीन रोपनी जग्गामा महानगरपालिकाले व्यापारिक कम्प्लेक्स बनाउने निर्णय गरेको थियो । जहाँ रहेको १२ नम्बर वडा कार्यालय हटाइएको छ भने प्रहरी कार्यालय पनि हटाउन दबाब दिइएको छ । तर, स्थानीयले प्रहरी कार्यालय नहटाउन माग गरेका छन् । व्यापारी केबी महर्जनको सो जग्गासँगै अर्काे जग्गा भएको र सो जग्गालाई बाटो ठूलो बनाउनकै लागि व्यापारिक कम्प्लेक्स बनाउन लागिएको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका छन् । 

महानगरपालिकाले गत भदौमा सो जग्गामा व्यापारिक कम्प्लेक्स बनाउने सम्झौता गरेको थियो । तर, वडा प्रहरी कार्यालय हटाउन सकेको छैन । सो कार्यालय हटाउनका लागि भन्दै १९ वैशाखमा महानगरपालिकाले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई समेत लगेर हस्ताक्षर गराएको थियो । भवन खाली गराउन प्रहरीलाई निरन्तर दबाब दिइएको छ । तर, स्थानीयको विरोधका कारण भवन खाली हुन सकेको छैन ।  

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने नियमअनुसार नै त्यहाँ भवन बनाउन लागिएको र भवन बनेपछि प्रहरी कार्यालय त्यहीँ राखिने भएकाले विरोध नगर्न भनेका छन् । 
 

सुझावित समाचार