सामुदायिक वनको काठ लोड गर्दागर्दै पक्राउ परेका इन्स्पेक्टर बोहरालाई सफाइ

बुधबार, २० असार, २०८०
डिजिटल संस्करण

विशेष अदालतले इलाका प्रहरी कार्यालय बिपीनगर डोटीका प्रहरी निरीक्षक नृपबहादुर बोहरालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । 

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले बुधबार यस्तो फैसला गरेको हो । 

तीन वर्षअघि अवैध रूपले काठ लैजान लाग्दा इन्स्पेक्टर बोहरालाई स्थानीयले काठसहित पक्राउ गरेका थिए । रातिको समयमा ट्याक्टरमा काठ लोड गर्दैगर्दा देखेपछि स्थानीयले इन्स्पेक्टर बोहरा र केदार सामुदायिक वन उपभोक्ता समिति डोटीका अध्यक्ष चक्रबहादुर साउदलाई काठसहित नियन्त्रणमा लिएका थिए । 

त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ असार २०७७ मा दुवैजनाविरुद्ध सरकारलाई हानीनोक्सानी पुर्याई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । दुवैजनामाथि जनही ६१ हजार २० रुपैयाँ बिगो मागदाबी गरिएको थियो । 

इन्स्पेक्टर बोहरालाई चारदेखि ६ महिना कैद सजाय तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १८ बमोजिम चार वर्षदेखि ८ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको सजाय माग भएको थियो । 

दफा १८ मा डर, त्रास वा अरू कुनै किसिमको गैरकानुनी दबाबबाट राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिले कसैलाई भ्रष्टाचारजन्य कसुर गर्न लगाएमा सजाय हुने उल्लेख छ । 

प्रहरी निरीक्षक बोहराले सामुदायिक वनको सम्पत्ति बदनियतपूर्वक हानीनोक्सानी गरेको र सो कार्यलाई ढाकछोप गर्न वन उपभोक्ता समितिलाई गैरकानुनी दबाब दिएको अख्तियारले अभियोगपत्रमा दाबी गरेको थियो । 

यसैगरी, वन उपभोक्ता समितिका अध्यक्ष साउदलाई ६ महिनादेखि एक वर्षसम्म कैद सजाय माग गरिएको थियो । उनले इलाका प्रहरी कार्यालय विपीनगरलाई बिना छुटपुर्जी दिने निर्णय गरी समुदाय मातहतको सरकारी सम्पत्ति रहेको सार्वजनिक वनको सम्पत्ति हिनामिना गरेको र प्रहरी निरीक्षक बोहराको कसुर लुकाउन भूमिका खेलेको अभियोग लगाइएको थियो । 

यस मुद्दामा तीन वर्षपछि विशेषले फैसला दिएको हो । जसमा इन्स्पेक्टर बोहरा र वन उपभोक्ता समिति अध्यक्ष साउद दुवैले सफाइ पाएका छन् । 

सुझावित समाचार