भारतले नवौँपटक दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप प्रतियोगिताको उपाधि जितेको छ । घरेलु भूमिमा भारतले मंगलबार कुवेतलाई सडन डेथमा ५–४ ले हराउँदै कीर्तिमानी रूपमा नवौँचोटि उपाधि जितेको हो । प्रतियोगितामा भारत साबिक विजेता पनि हो । अघिल्लो संस्करणको फाइनलमा भारतले नेपाललाई हराएको थियो । भारतलाई च्याम्पियन बनाउने क्रममा गोलरक्षक गुरप्रित सिंह नायक भए ।
भारत र कुवेतले टाइब्रेकरमा ४–४ गोल गरेका थिए । त्यसपछि उपाधिको छिनोफानो सडन डेथबाट भयो । कुवेतका कप्तान खालिद हाजियाको प्रहारलाई भारतका गोलरक्षक गुरप्रितले आफ्नो बायाँ साइडमा डाइभ गर्दै बचाए । सडन डेथमा भारतका लागि महेश सिंहले गोल गरेका थिए । यसअघि निर्धारित ९० मिनेट र थप ३० मिनेटमा दुवै टोलीले १–१ को बराबरी खेले ।
कुवेतले खेलको १४औँ मिनेटमा भातरविरुद्ध १–० को अग्रता लिएको थियो । कुवेतका लागि सबैस अल खाल्दीले अग्रता गोल गरेका थिए । भारतले खेलको ३८औँ मिनेटमा १–१ को बराबरी गोल फर्कायो । भारतका लाग लल्लियान्जुआलाले बराबरी गोल गरेका हुन् ।
साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक दक्षिण एसियाबाहिरका राष्ट्र कुवेत र लेवननको सहभागिता रहेको थियो । भारतले लेबननलाई सेमिफाइनलमा टाइब्रेकरमा हराएको थियो । कुवेत र भारत समूह ‘ए’मा थिए । प्रतियोगितामा भारतका कप्तान सुनिल क्षेत्रीले सर्वाधिक पाँच गोल गरेका छन् । साफ च्याम्पियनसिपमा १५ खेलमा ३८ गोल भए । यसपटकको संस्करणमा प्रतिखेल २.५ गोल औसत रह्यो ।