प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका ठूला फाइल केही दिनमै खोलिने बताएका छन् । माओवादीको युवा संगठन वाइसिएलको केन्द्रीय कार्यालयका नेता र इन्चार्जसँग सोमबार प्रचण्डले भ्रष्टाचारका अन्य फाइल पनि खोलिने बताएका हुन् ।
भ्रष्टाचार निवारण र सुशासनको पक्षमा कोही कसैसँग पनि सम्झौता नगर्ने र विगतका सबै काण्डको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने उनले बताए । सुशासनका पक्षमा नयाँ ढंगबाट अघि बढेको उनको दाबी छ । ‘प्रतिगामी र पुनरुत्थानवादीविरुद्ध अहिलेको सत्तारूढ गठबन्धन बनेको हो । सुशासन र समृद्धिको यात्रामा सरकार अगाडि बढेको छ । सरकार रहला नरहला चिन्ता छैन । यो त कास्टिङ मात्रै हो । भ्रष्टाचारका अरू फाइल पनि खुल्दै छन्,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै वाइसिएल अध्यक्ष सुबोध शेर्पालीले भने ।
सुशासन र समृद्धिको यात्रामा युवाप्रति आफूले भरोसा गरेको प्रचण्डले बताएका छन् । अहिलेको गतिले नपुग्ने भन्दै उनले वाइसिएललाई युवा जोस र जाँगरका साथ अघि बढ्न निर्देशन दिएका छन् । सरकारको राम्रो कामको प्रचारमा लाग्न पनि उनले आग्रह गरे । माओवादीको युवा संगठन वाइसिएलको केन्द्रीय कार्यालयका नेता र इन्चार्जसँग प्रचण्ड करिब २ घन्टा खुलेर प्रस्तुत भएका थिए । उनले सरकारको काम, पार्टी निर्माण र युवाको भूमिकाबारे विस्तृत रूपमा बताएका थिए ।
वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटाका अनुसार प्रचण्डले पार्टी एजेन्डाको रक्षा गर्नका लागि आफूले यसपटक प्रधानमन्त्रीमा जोड गरेको बताए । ‘पार्टी विभाजन हुँदा हाम्रो एजेन्डामा अरूले अपनत्व लिए । भ्रष्टाचारी नै भ्रष्टाचारविरोधीजस्ता देखिन खोजे । नयाँ भनिएकाको पनि अवस्था देखियो । हामी नयाँ ढंगले अगाडि बढ्नुको विकल्प छैन । जनताको अवस्था बदल्न, भ्रष्टाचार निवारण गर्न र सुशासन कायम गर्न सरकारले अहिले क्रान्ति नै सुरु गरेको हो । हामी हाम्रा एजेन्डा स्थापित गरिछाड्छौँ ।’ प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भने ‘देश र जनताको पक्षमा काम गर्दा संकटमा पुगे पनि ठीकै छ । राजनीतिक परिवर्तनलाई संस्थागत गर्न पनि जनताको अवस्था बदल्दैपर्छ ।’
सरकार स्पष्ट दृष्टिकोणका साथ प्रस्तुत भएको भन्दै प्रचण्डले भ्रष्टाचारलाई कुनै पनि रूपमा संरक्षण नगर्ने बताए । सापकोटाले सरकारले चालेका जनपक्षीय कदमलाई जनतासम्म पुर्याउने गरी अगाडि बढ्ने बताए । ‘सरकारका जनपक्षीय कामको रक्षा, नयाँ विचार, नयाँ संस्कार र संस्कृतिका साथ पार्टी निर्माण सम्भव छ भन्ने गहिरो अनुभूति भया,े’ सापकोटाले भने । जनतातिर फर्किने सरकार र पार्टीको रूपमा स्थापित गर्ने उनले बताए । उनले माओवादी पृष्ठभूमिका शक्तिहरूसँग एकता र अन्य वामसमाजवादी शक्तिसँग कार्यगत एकताको नीति लिएको पनि बताए ।
प्रचण्डले आफ्नो पृष्ठभूमि बताउँदै युवा विचार, राजनीतिक र संगठनात्मक परिपक्व हुँदै नेतृत्वका लागि तयार हुनुपर्ने बताए । मोहनविक्रम सिंहबाट आफूले नेतृत्व लिएजसरी नै युवालाई नेतृत्व दिन तयार रहेको उनले बताए । ‘विचार, राजनीतिक र सांगठनिक रूपमा युवा तयार हुनुपर्यो । जसरी मैले युवा अवस्थामा नेतृत्व लिएँ, मलाई देखेर मोहन विक्रमसिंहले नेतृत्व हस्तान्तरण गर्नुभयो । त्यसैगरी म नेतृत्व युवालाई हस्तान्तरण गर्न तयार छु । तर, त्यसका लागि युवा तयार हुनुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भने ।