प्रहरी संगठनमा काज सरुवाको विकृति रोक्न सक्रियता देखाएका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आफैँ काज सरुवातर्फ लागेका छन् । प्रहरी प्रधान कार्यालयले नियमित सरुवा रोकेर फेरि धमाधम काज सरुवा निकाल्न थालेको छ ।
बुधबार मात्र ६ वटा कार्यालयमा इन्स्पेक्टरलाई कार्यालय प्रमुखका रूपमा काज खटाइएको छ । लक्ष्मण ओलीलाई इप्रका कृष्णनगर, कपिलवस्तु, सन्तोष न्यौपानेलाई प्रहरी प्रभाग बलम्बु, काठमाडौं, दाताराम अधिकारीलाई इप्रका सानोपोखरा, मकवानपुर, धनबहादुर बोहरालाई तनहुँस्थित प्रहरी विद्यालय, शुभेश अधिकारीलाई इप्रका कल्याणपुर सप्तरी र दीपेन्द्र श्रेष्ठलाई इप्रका गीतानगर चितवनमा काजमा खटाइएको छ । नियमित सरुवा तालिकाअनुसार इन्स्पेक्टरहरूको गत चैतमा नै सरुवा हुनुपर्ने थियो । तर, तीन महिना नाघिसक्दा पनि प्रहरी नेतृत्वले सरुवा निकाल्न सकेको छैन । शक्तिकेन्द्रको दबाब र चलखेलका कारण नियमित सरुवा निस्कन नसकेको स्रोतको भनाइ छ ।
गत फागुनमा प्रहरी प्रधान कार्यालयले सयभन्दा धेरै इन्स्पेक्टरको काज सरुवा निकालेको थियो । त्यसरी सरुवा भएकामध्ये धेरैजसो कार्यालय प्रमुखमा खटिएका छन् । काज सरुवा प्रहरीको सरुवा मापदण्डविपरीत छ । गत माघमा बनाइएको मापदण्डअनुसार ‘क’ श्रेणीको कार्यालयबाट दोस्रोपटक ‘क’ श्रेणीको कार्यालयमा प्रमुखका रूपमा सरुवा गर्न मिल्दैन । त्यही मापदण्ड छल्न काजमा खटाइएको थियो । ‘त्यसरी सरुवा मापदण्डविपरीत खटिएकाहरू धेरैजसो शक्तिकेन्द्रबाट सिफारिस गर्न लगाएर गएका थिए,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने, ‘अहिले नियमित सरुवामा उनीहरूलाई कार्यालय प्रमुखबाट हटाउनुपर्ने भएपछि सरुवाको निर्णय हुन नसकेको हो ।’ यसरी नियमित सरुवा हुन नसक्दा एकातर्फ केही प्रहरी अधिकृतहरू १६ महिनादेखि नियमित इन्चार्जमा छन् भने अन्य भने कमान्डको अवसरबाट वञ्चित भएका छन् । यस्तो प्रवृत्तिले पुलिसिङलाई कमजोर बनाउने प्रहरी अधिकारीहरू बताउँछन् ।
इन्स्पेक्टर मात्र होइन, अन्य पदमा पनि नियमित सरुवा हुन सकेको छैन । एसपी र डिएसपीको पनि सरुवाको समय भइसके पनि निर्णय हुन सकेको छैन । इन्स्पेक्टरभन्दा तल्लो तहका कतिपय पदमा वर्षौँदेखि नियमित सरुवा हुन सकेको छैन । वेलावेलामा काज सरुवा भने हुने गरेको छ । गत १० चैतमा प्रहरी महानिरीक्षकमा नियुक्त भएका कुँवरले पहुँचका आधारमा काजमा अनुकूल कार्यालयमा बस्ने प्रवृत्ति रोक्ने अभियान नै थालेका थिए । त्यसमा करिब पाँच हजार प्रहरीलाई दरबन्दीमा पठाइएको छ । तर, उनले आफैैँ नियमित सरुवा गर्न नसकेर काज निकाल्न थालेका छन् । सरुवामा हुने अत्यधिक चलखेलका कारण यसरी प्रहरीमा नियमित सरुवाको सिस्टम बिग्रँदै गएको छ । प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले भने आवश्यकताको आधारमा मात्र काज निकालिएको दाबी गरे ।