धान रोप्ने क्रममा करेन्ट लागेर एक किशोरीको मृत्यु, चारजना घाइते

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

जुम्लामा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।  कनकासुन्दरी गाउँपालिका– ८ सुमलगाउँको खलापानी भन्ने ज्युलोमा खेतमा धान रोप्ने क्रममा उनकाे मृत्यु भएको हो । 

सुमलगाउँकी १७ वर्षीया प्रमिला परियारको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता तथा सूचना अधिकारी धर्मराज जोशीले बताए । लुड्कु जलविद्युत् आयोजनाको विद्युतको तार हावाहुरीले खेतमा परेपछि  करेन्ट लागेको उनले बताए ।

घाइते हुनेमा सोही गाउँकी शान्ति दमाईं, राजु दमाईं, मन दमाईं र वीरु दमाईं रहेका छन् । घाइते सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान  जुम्लामा  उपचार भइरहेको छ ।

सोमबार बेलुका ८ः५५ मा उक्त घटना भएको प्रहरीको भनाइ छ । घाइते सबैलाई  सोमबार प्रतिष्ठानमा ल्याएको थियो । घटनास्थलबाट मुचुल्का तयार गरेर किशोरीको  शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान  प्रतिष्ठान ल्याइँदै छ । 
 

सुझावित समाचार