नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले नेपाल–इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआइसिसिआई)ले जुन ५ तारिखलाई द्विपक्षीय व्यापार बैठक– एनआइसिसिआई दिवस २०२३ को घोषणा गरेको छ । एनआइसिसिआईले पहिलो संस्करणको न्युजलेटर अनावरणसहित दिवस घोषणा गरेको हो ।
यो कार्यक्रमले नेपाल र इटालीबीचको व्यावसायिक सम्बन्धलाई पर्यटन, उद्योग, आयात–निर्यात बढाउनएनआइसिसिआईको प्रतिबद्धता प्रस्तुत गरेको चेम्बरले जनाएको छ । कार्यक्रममा नेपालका लागि इटालीका राजदूत भिन्सेन्जो डे लुकाले प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतीक तथा दिगो साझेदारीका लागि सहकार्यमा जोड दिँदै यस अवसरको महत्वलाई अझ प्रगाढ बनाएको जनाइएको छ ।
राजदूत लुकाले नेपाल–इटालीको भावी योजना साथै पर्यटन, आयात–निर्यात, तथा उद्योगलाई कसरी अझ व्यवस्थित ढंगले अगाडि बढाउने र नेपाली कफी, नेपाली हस्तकलाका सामग्रीहरूलाई इटालीमा बजार प्रवद्र्धन गर्ने विषयमा जोड दिए । साथै, इटालीमा आप्रवासी नेपालीको समाजलाई उजागर गर्दै व्यवसाय र उद्योगलाई प्रवद्र्धन गर्दै नेपाल–इटालीको सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने बताए । उनले पहिलो संस्करणको पत्रिकाको अनावरण पनि गरेको जनाइएको छ ।
एनआइसिसिआईका अध्यक्ष सञ्जय अग्रवालले यो दिवसले चेम्बरको स्थापनादेखि हालसम्म गरेको यात्रालाई चिन्तन गर्ने अवसर मिलेको बताए । कार्यक्रम उत्सव र आत्मनिरीक्षणको प्रतीक रहेको भन्दै उनले सहभागीहरूले उपलब्धि र उज्ज्वल भविष्यका लागि कामना गरेका थिए । कार्यक्रमले द्विपक्षीय व्यापारप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने, नवप्रवर्तनलाई बढावा दिने, दिगो विकास तथा समृद्धिलाई अगाडि बढाउने र बलियो साझेदारीलाई बढावा दिने महत्वमा जोड दिएको जनाइएको छ ।